सोमबार, १६ माघ २०७९
ताजा लोकप्रिय

रेखा शर्मालाई ‘जाइन्ट किलर उपाधि’ किन ?

विहीबार, १५ मंसिर २०७९, १२ : ३१
विहीबार, १५ मंसिर २०७९

झट्ट यो शीर्षक सुन्दा रेखा शर्माद्वारा भूमिगत कालमा या जनयुद्धको दौरानमा कोही मान्छे मारिएको होला भन्ने लाग्न सक्छ ? अजङ्गको (कुनै दुस्मन माओवादीको भाष्यमा) मान्छे नै मारिएको थियो कि भन्ने भान पर्न सक्छ ? तर यो तत्कालीन प्रसङ्ग नभएर हालैको चुनाव परिणाम लक्षित संज्ञा हो । थाहा छैन यो उपाधि कति ठीक कति बेठिक ?

नेकपा एमालेका महासचिव, पूर्वमन्त्री र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री अनि केपी ओलीपछि एमालेको नेतृत्वको सम्भावित दावेदारलाई रेखा शर्माले संघीय चुनावमा पराजित गरिन् । त्यसैले शंकर पोखरेलको राजनीतिक ‘वेट’लाई यहाँ ‘जाइन्ट’ भनेर सम्बोधन गरिएको छ भने त्यो जाइन्ट व्यक्तित्वलाई संसद छिर्न नदिने गरी मैदानमा नै रोक्ने रेखा शर्मा ‘जाइन्ट किलर’को उपाधि सहित यहाँ वर्णित छिन् ।

यो कुनै व्यक्तिगत आग्रह र विरोध समर्थनको भाष्य होइन, राजनीतिमा प्रचलित शब्द हो । राजनीतिक ‘जाइन्ट फिगर’को रूपमा चर्चित ईश्वर पोख्रेल, देव गुरुङ, उपेन्द्र यादव, राजेन्द्र महतो, विजय गच्छदार, ओनसरी घर्ती पराजित भइ चर्चामा छन् ।

उसो त रेखा शर्माको राजनीतिक फिगर पनि सामान्य होइन । उनी माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन् । संसदीय दलको प्रमुख सचेतकको भूमिका समेत निर्वाह गरिसकेर सामान्य प्रशासन मन्त्रीसमेत बनिसकेकी शर्मा शङ्कर पोख्रेलसँग दाँज्न नसकिने हैसियतकी नारी होइनन्, परम्परागत राजनीतिक भाष्यमा हेवीवेट नेता हुन् ।

तथापि एमालेका महासचिव शङ्कर पोखरेललाई चुनौती दिएर उनको संसद छिर्ने बाटो अवरुद्ध गर्ने नारी भएकोले यिनलाई ‘जाइन्ट किलर’ उपाधि दिइएको छ । राजनीतिक रुपमा आर्जित वेट राजनीतिक रूपमा नै घतिबढी हुने हुनाले एक पटक हेवी वेट भनिएको व्यक्ति सधैं त्यही हैसियतमा नरहन सक्छ ।

अहिले शर्माले फेरि आफ्नो राजनीतिक वेट जनताको वैधताबाट वृद्धि गरेकी छन् । हेवी वेट भनिएकाहरू ‘नो वेट’ सँग मज्जाले पराजित बनिरहेका छन् । त्यसैले, वेट राजनीतिक घटना परिघटना केन्द्रित हुन्छ । वेट गुमाउने र थप्ने प्रक्रिया चलिरहन्छ । नव निर्वाचित सांसद रेखाका जिन्दगीका बिग्रिएका रेखा र सुध्रिएका रेखाबारे उनको जीवन कहानी सङ्क्षिप्त रूपमा देखाउने प्रयास गरिएको छ ।

रेखाको राजनीतिक रेखा 

बुवा गिरिराज शर्मा शिक्षक भएको र कम्युनिस्ट पार्टीको राजनीतिमा संलग्न भएको कारण कम्युनिस्ट पार्टी सम्बद्ध किताबहरू घरमा हुने र त्यही पढ्न थालेदेखि राजनीतिमा चाख बढेको हो उनको । यसरी घरको वातावरण प्रमुख कारक र बुबा पहिलो राजनीतिक गुरु भएको रेखाको आफू राजनीतिमा र त्यो पनि कम्युनिष्ट हुनुको स्पष्टीकरण छ ।

दाङ जिल्लाको घोराहीमा २०२६ असोजमा जन्मेकी रेखाले २०४२ देखि आखिलको राजनीतिबाट राजनीतिक यात्रामा पाइला चालेकी हुन् । दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण उनी अखिल जिल्ला उपाध्यक्ष र २०४८ मा अनेमसङ्घ दाङको अध्यक्ष, २०५० मा केन्द्रीय सदस्य र २०५३ देखि २०५८ सम्म अनेमसंघको (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष बनिन् ।

२०५७ सालमा नेकपा माओवादी पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, काठमाडौं उपत्यका उपब्युरो प्रमुख रहेकी रेखा यही सिलसिलामा २०५८ साल चैतमा श्रीमान् कृष्णध्वज खड्कासहित चाबहिलबाट पक्राउ परिन् ।

तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गणमा नारकीय यातना भोगेर २०५९ चैत्र ३१ गते जेल जीवन मुक्त भएर पार्टी सम्पर्कमा पुगेदेखि भारतमा उपचारको केही वर्ष छोडेर निरन्तर माओवादी आन्दोलनमा अविश्राम छिन् ।

अनेमसंघको अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी र महिला जागृतिको अभियान चलाएर चर्चामा आएकी रेखा २०७० सालमा पहिलो पटक समानुपातिक कोटाबाट संसद प्रवेश गरेकी थिइन् । उनी डा बाबुराम भट्टराई नेतृत्वको शीर्ष नेता सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्यको रूपमा सबै दलका उच्च नेतृत्वसँग बसेर काम गर्ने मौका पाएकी सांसद हुन् ।

सबै दलका मुख्य मुख्य नेताहरूसँग सहकार्य गर्न पाउनु राजनीतिक सिकाइको लागि एउटा विश्वविद्यालयको कोर्स बराबर हो । पार्टीले उनलाई दिएको संसद्को प्रमुख सचेतकको जिम्मेवारी कुशलतापूर्वक निभाएकी उनी आफ्नो कर्मप्रति सदा कतिबद्ध रहेको उनलाई नजिकबाट चिन्ने माओवादी नेताहरूको अनुभव छ ।

२०७२ मा सामान्य प्रशासन मन्त्री बनेकी रेखा २०७४ मा पनि समानुपातिक तर्फबाट संसद बन्न सकिन् । दुई पटक समानुपातिक सांसद भएकी उनलाई तेस्रो पटक संसद प्रत्यक्ष चुनाव लडेर जाने रहरलाई पार्टीले लालमोहर प्रदान गर्यो । अन्ततः मङ्सिर ४ को निर्वाचनमार्फत् शङ्कर पोख्रेललाई पछाडि पारेर सतहमा आइन् । शङ्कर पोख्रेललाई पराजित गर्ने नारीको रूपमा आज रेखाको देशभर चर्चा छ ।

असह्य शारीरिक यातनाले गालेको शरीरमा आलोचना, प्रशंसाले उस्तो असर गर्दैन । बस्, राम्रोसँग काम गर्नु सकूँ, राजनीति स्वच्छ र विषादरहित बनोस् । रेखा आफ्नो अभिलाषा व्यक्त गर्छिन् । राजनीतिमा हार जित सामान्य हो, जनतासँगको सामिप्य छुट्नु हुँदैन, जय पराजय लोकतन्त्रका प्रक्रिया हुन् । यही लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै आफ्ना प्रमुख प्रतिद्वन्द्वी शङ्कर पोख्रेलसँग चुनाव जित्ने बित्तिकै भेटेर रेखाले मिलेर काम गर्ने प्रस्ताव राखिन् । यसलाई शङ्करले पनि सहज रूपमा लिए र बधाई दिए ।

प्रेम विवाह कि मागी ?

प्रेम पनि होइन, मागेर र भागेर पनि होइन, जनवादी विवाह हो उनको । कृष्णध्वज खड्काले देखेपछि मन पराएर पार्टीमा बिहेको प्रस्ताव गरे । पार्टीले रेखालाई सोध्यो, रेखाले मन्जुरी दिइन् र पार्टीको स्वीकृतिमा २०५१ मा विवाह भयो ।

पार्टीको व्यानरमा एउटा मन्च बनाएर दुवैले एकले अर्कोलाई माला लगाई दिएर जनवादी विवाह भएको थियो । त्यति बेला खड्का अखिलको केन्द्रीय अध्यक्ष र शर्मा अनेमसंघकी केन्द्रीय सदस्य तथा दाङको अध्यक्ष थिइन् ।

कहाली लाग्दा नरक यात्रा 

यदि हाम्रा धर्मग्रन्थमा भनिए झैँ बेस्सरी दुःख पाउने ठाउँ कुनै छ भने त्यो नर्क हो । त्यही नर्करूपी हिरासतको यातनाबाट बाँचेर आएको कथा र व्यथा छ रेखासँग । उनी माओवादी जनयुद्धमा दुःख पाएकी उपल्लो तहकी नेतामध्ये एक हुन् ।

उनको दुःख दर्दको कथाले पाषण हृदयका मान्छेको पनि आँखा रसाउँछ, कहिल्यै नरोएको मान्छेको पनि आँखा भिज्छ । तत्कालीन सैनिक ज्यादतीप्रति रोष उत्पन्न हुन्छ । जम्मा गर्न मिल्ने र सक्ने भए जनयुद्धमा बगेको पसिना, रगत र रेखा शर्माहरूले पाएको दुःखको आँसुले शायद सानोतिनो समुन्द्र बन्थ्यो ।

रेखा शर्मा तिनै माओवादी नेतृ हुन्, जसले ज्यान जोखिममा पारिन्, ज्यान जाने आक्रमण र खतरा मोलिन् तर पार्टीको गोप्य कुरा भनिनन् । कठोर यातना स्वीकार गरिन् तर पार्टी र नेताहरूको आश्रय स्थल सेनालाई भन्न इन्कार गरिन् । विधिको विडम्बना, हिरासतको चर्को अमानवीय यातना र बन्दी जीवनबाट आएपछि उनीहरू दुवैलाई आत्मसमर्पण गरेर आएको आरोप लाग्यो र पार्टीले कारवाही गर्यो ।

मृत्यु आफैमा यातना होइन, यदि हो भने त्यो अन्तिम यातना हो । तर, यातना त्यस्तो मृत्यु हो, जसले पटक पटक मर्दै बाँच्न बाध्य पर्छ । यातना मृत्युभन्दा चर्को हुन्छ, त्यही चर्को यातनाबाट पनि नमरेर फर्केको रेखा शर्माको जोडी अहिले नाफाको जिन्दगीमा राजनीतिको रथ डोर्याई रहेको छ ।

रेखा शर्मा दम्पत्तिले पनि त्यो नर्क अरू हजारौ माओवादीले जस्तै यही जुनीमा र सँगै भोगे । आज पनि ती कहाली लाग्दा दिन सम्झिँदा र सपना देख्दा उसै जिउ काँपेर आउँछ, मुटु निचोरिएर दुख्छ । होसमा हो कि बेहोसमा थाहा पाउन मुश्किल हुन्छ । अनगिन्ती यातना ताड्ना र दुःखले रेखा दम्पत्तिको शरीर कमजोर छ । तर, मन र आत्मविश्वास कम्जोर छैन । राजनीतिमा थकान र सुस्केरा छ । तर, हिम्मतमा एकरत्ति कमी छैन । राजनीतिमा बेकार लागेछु भन्ने हीनताबोध छैन । केही गर्न सकिन्छ कि भन्ने हुटहुटी चै जनयुद्धको लडाकुजस्तै छ किञ्चित कमी छैन ।

यातनाको फेहरिस्त

२०५८ सालमा सरकारले माओवादी विरुद्ध सङ्कटकाल लगायो । ‘किलो सेरा टु’ नामक् नरसंहारकारी अपरेशन सुदूरपश्चिमका जिल्लाहरूमा चलायो र व्यापक दमन गर्यो । तर, माओवादीलाई भने जति राजनीतिक क्षति पुर्याउन सकेन । अर्ध भूमिगत कतिपय माओवादी जनसंगठनहरू पनि प्रतिबन्धमा परे । रेखा दम्पत्ति नै सरकारले टाउकाको मोल तोकेर आतंककारी घोषणा गरेका माओवादी नेता परे ।

२०५८ चैतमा चाबेल डेराबाट पक्राउ परेका शर्मा दम्पत्ति सुरक्षाकर्मीको लागि विशेष खजाना थिए । गोरखाको बर्दबहादुर गणबाट आएका सेनाले रेखा दम्पत्तिलाई कालो मुखुण्डो भिराइ दिए र पछाडि हात लगेर हत्कडी लगाईदिए । त्यसपछि सुरू भएको यातना र कुटपिट गर्ने शृंखला एक वर्ष निरन्तर रह्यो ।

कोठाभित्र खुट्टा समाएर उँधोमुन्टो लाएर झुण्ड्याउने र शरीरमा बुट हान्दै माओवादी माथिल्लो तहको नेताबारे सोधखोज गर्थे । थाहा नभएको इन्कारी दिएपछि कुटपिट गर्ने र यातना दिने क्रम तीव्र हुन्थ्यो ।

बेइज्जती यतिसम्म थियो कि पिचमा सुरुवालको इँजार काटिदिएर घिसार्थे । घिसारिंदा उनको पेन्टीसमेत च्यातिएर धुजा धुजा हुन्थ्यो । राजदल गणमा सैनिक अफिसरहरूले यातनाका अनेक प्रयोग रेखा दम्पत्तिमाथि गरे । समातिएका माओवादीहरू यातनाको प्रयोगशालाका मेटेरियल थिए । तिनलाई अनेक तवरले यातनाको भट्टीमा राखेर परीक्षण गराइन्थ्यो । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिरेर रगताम्य पारिदिने काम सामान्य हुन्थ्यो ।

यातनाको क्रममा कति पटक बेहोस हुँदा कहिले होश ख्ल्ने कुनै ठेगान हुँदैनथ्यो । बेहोशीबाट होशमा आउँदा शरीरमा अर्कै कपडा फेरिएको हुन्थ्यो । शरीरमा आज पनि यातना, ताड्ना, कष्ट र पीडाका दागै दाग छन् । घाउ आला छैनन् तर खाटा बसेका थुप्रै घाउ छन्, जो भित्र भित्र दुखिरहन्छन् ।

रेखालाई व्याक बोनको समस्याले आज पनि सहज छैन । जति यातना दिए पनि नेताहरूबारे र पार्टीबारे केही कुरा चुहाएनन् । त्यसपछि राजदल गणबाट अन्तै लागियो र त्यो भन्दा झन् बर्बर र हिंस्रक यातनाको शिकार बनाइयो । चौबीसै घण्टा अनुहारमा कालो मुखुण्डो भिराइ दिएर हात पछाडि लगेर बाँधिदिन्थे । रात र दिनको भेउ पाइन्नथ्यो । जीवन र मृत्यु नरक र यातना सामान्य प्रक्रिया बनेका थिए ।

सुत्न, बस्नको लागि सुकुलसमेत उपलब्ध भएन । चिसो सिमेन्टमा घुँडा टेकेरै कैयौं रातहरू बिते । कहिले बाहिरै रातभर राखिदिन्थे । रातमा रातले नै सजाय दिन्थ्यो भने दिनमा सजाय दिन सैनिकहरू तम्तयार रहन्थे । यातनाले गर्दा चैतमा पनि जाडो हुन्थ्यो, जाडोका दिन रात उसै कहालीलाग्दा चिसा हुन्थे ।

त्यसमाथि सजाय थपिन्थ्यो, खानेकुरा दिएर खान लाग्दा बुट पनि सँगै खानु पथ्र्यो । पानी माग्यो भने ट्वाइलेटको फोहोर पानी ल्याइदिन्थे । श्रीमान श्रीमतीलाई सँगसँगैको कोठामा राखिएको कारण एकअर्कालाई दिएको यातना थाहा हुन्थ्यो ।

शायद एक अर्काले पाएको यातना सुनुन् भन्ने नै सैनिकहरूको ध्येय थियो । श्रीमान्लाई दिएको यातनाले श्रीमतीलाई दुख्थ्यो, श्रीमतीलाई दिएको यातना र गरेको अभद्र व्यवहारले श्रीमान् घाइते बन्थे । निद्रा पर्दैनथ्यो ।

बाहिर माओवादी मुभमेन्ट कस्तो ढङ्गले चलेको छ, त्यसको आधारमा रेखा दम्पत्तिले यातना र रिलिफ महशुस गर्न पाउँथे । बाहिर माओवादी आक्रामक भएर ब्यारेक हानेको समाचार आउँदा रेखाहरू उताको बदला सेनाबाट यता पाउँथे । बाहिर माओवादी जति आक्रामक भयो, सेना भित्र उस्तै जाइलाग्थे  । सबै रिस पोख्ने र बाहिर सैनिक हताहत भएको क्षतिपूर्ति यी दुई लगायत अन्य हिरासतमा रहेका माओवादी कुटेर सेनाले लिन्थ्यो ।

सेनाले धेरै पटक अन्तिम इच्छा पनि रेखा दम्पत्तिलाई नसोधेको होइन । छुट्टाछुट्टै सोधे पनि उनीहरूको जवाफ एकै हुन्थ्यो, ‘मार अनि एकै खाल्डोमा पुर हामी दुवैलाई ।’ एक अर्कालाई मरेको हेर्न नपाए हुन्थ्यो भन्ने लाग्थ्यो र त्यसो भनियो । त्यसैले सँगै मार र पुर भन्न सकियो । कृष्णध्वजको आँखा बुटले किल्चिएर १२÷१४ दिनसम्म रगताम्य भएको थियो र दृष्टि गुमेको थियो ।

सौभाग्य केही महिनापछि दृष्टि फर्कियो । त्यतिबेला खड्का दम्पत्तिलाई लाग्यो, यी दुवै आँखाले अझै संसार हेर्नु बाँकी थियो र त ज्योति फर्केको हो । ‘जेलमा दुवै सँगै हुँदैनथ्यौ भने दुईमध्ये एकले या दुवैले छुट्टाछुट्टै आत्महत्या गरिसकेका हुन्थ्यौं,’ रेखा सुनाउँछिन् ।

पटक पटक आत्महत्या गर्ने सोच नआएको भने होइन । नित्य कर्मको रूपमा सधैँ यातना खप्नु भन्दा एक पटक मर्नु र यो नारकीय जुनीबाट निवृत्त हुनु नजाती लागेको पनि होइन । तर, आफू मरेपछि अर्कोलाई के होला भन्ने भाव दुवैलाई आउँथ्यो । अनि नरक भोग्ने, बरु नमर्ने सङ्कल्प एक अर्कालाई सम्झेर गर्थे । त्यसैले दुवै जीवित छन्, राजनीति कर्ममा सक्रिय छन् । श्रीमान प्रदेश सभा सांसद र प्रदेशको मन्त्री भए भने श्रीमती शर्मा मन्त्री नै बनिन् । पुनः मन्त्री बन्ने ढोका खुलेको छ ।

अमानव थिएनन् सबै सैनिकहरू

सैनिक अफिसरहरूको आँखा छलेर सैनिक जवानहरू सहयोगी र सद्भाव राख्ने पनि थिए । सहानुभूति दिने, मुखुण्डो बेलाबेलामा निकाली दिने, ट्वाइलेट धेरै बेर बसेर यताको यातना समय कम गर्न सुझाउने, बाहिरबाट औषधि ल्याएर दिनेदेखि कोही कोही तेल ल्याएर हातखुट्टामा मालिस गरिदिने समेत गर्थे । अलि पछि रेखालाई दिदी र कृष्णलाई भिनाजु भनेर आदर गर्ने माया गर्ने र संरक्षण दिने सैनिकहरू समेत थिए ।

लाग्थ्यो वाध्यताले जागिर खान आएका यी सैनिकहरू विशेषतः तल्लो दर्जामा काम गर्नेहरूको कुनै दोष छैन । सैनिक पेशा भनेको आज्ञापालक हुनु हो । आज्ञापालन गर्ने क्रममा भएका सबै काम कारबाही माफीयोग्य हुन्छन् । बाध्यताबश गरिएका कुराहरू हामीले पनि बुझिदिनु पर्ने हुन्छ ।

ती सैनिकहरू जसले सजाय दिए, तिनीहरूप्रतिको धारणा रेखाको यस्तो रहेछ । तल्लो तहका सैनिकहरूको सद्भाव नभएको भए आज हामी यो धर्तीमा नरहन पनि सक्थ्यौ । रेखा दम्पत्तिबारे मिडियामा चर्को कुरा उठ्थ्यो । मानवाधिकारको एक टोली बाहिर समाचार लगातार आएको र अवस्था नाजुक रहेको समाचार सम्प्रेषणपछि त्यहाँ गएको थियो ।

 त्यहाँ मानवाधिकारको टोलीले जे देख्यो, ज्यादतीपूर्ण देख्यो । उनीहरूको नाजुक अवस्था देखेको रिपोर्टपछि त्यो बेलादेखि नित्य यातनाको क्रम अलि घट्यो, केही राहत मिल्यो ।

२०५९ साल माघ, फागुनतिर माओवादी र सरकारबीच वार्ताको वातावरण बन्न लाग्यो । वार्ताको वातावरण बनाउन माओवादीले जेलमा र हिरासतमा रहेका आफ्ना नेताकार्यकर्ता छोड्ने सर्त राख्यो, जसमा माओवादी नेता कृष्णध्वज खड्काको नाम पहिलो नम्बरमै थियो । बाहिर वार्ताको चर्चा र वातावरण बनेपछि व्यारेक भित्रको वातावरणमा पनि बदलाव आयो । रेखा र कृष्णको हतकडी खोलियो, मुखुण्डो झिकियो । ओढ्ने, ओछ्याउने दिन थालियो ।

उता छोरा बुहारीको हिरासतको खबरले कृष्णका बुबा बित्नु भयो । यो कुराले पनि सेना दवावमा पर्यो । अनि रेखा र कृष्णलाई २०५९ चैत १ मा एउटा कागज गराएर छोडियो ।  तर त्यतिबेला अर्को ठाउँ सार्ने भनिएको थियो, छोड्ने कुरा भनिएको थिएन । तर छुट्ने कागतमा शान्तिपूर्ण वातावरणमा राजनीतिको मूलधारमा रहने कुरा लेखिएको रहेछ ।

जेलबाट छुटेपछि

जेलबाट छुटेपछि पार्टीले आत्मसमर्पण गरेको शङ्का गर्यो । पार्टीलाई स्पष्ट भन्दा भन्दै पनि पार्टीले निलम्बन गर्यो, उनीहरू कारबाहीमा परे । पछि छानबिनले रेखा दम्पत्तिले सफाई पाए ।

नारायणकाजी श्रेष्ठको एकता समूह माओवादीमा एकीकृत भएको समयमा कृष्णध्वज र रेखाले केन्द्रीय  समितिमा प्रवेश पाए । पार्टीले कारबाही गरेको र दुवैको स्वास्थ्य स्थिति बिग्रेको त्यी पीडा मानसिक क्षति भित्र सैनिकले दिएको क्षति भन्दा कम थिएन । कति खिन्न भइयो, कति दुःखी बनियो, त्यो शब्दमा उतार्न सकिन्न । तर, अब समय धेरै अगाडि बढिसकेको छ । विगत सम्झेर र मन दुखाएर फाइदा छैन । यस्तो पनि भएको थियो भन्नुबाहेक के नै छ र ?

जेलबाट निस्कदा कृष्णको खुट्टा र हात अनि करङ्गको हड्डी भाँचिएको थियो । रेखाको मेरुदण्डको हड्डीमा क्र्यास आएको थियो । शिरदेखि पाइतालासम्म चोट नभएको ठाउँ भेट्न मुश्किल थियो । जीवित थिए तर शरीर कुनै पनि हिसाबले जीवित जस्तो लाग्दैनथ्यो । शरीर चल्नु र शरीर स्वस्थ हुनु फरक कुरा हुन् । यी दुवैमा शरीर र मन थियो, क्रान्ति चेत जीवित थियो तर उभिएर काम गर्न सक्ने शरीर थिएन ।

त्यसैले उपचार गर्न भारत गए र तीन वर्षसम्म लगातार उपचार गर्दा पार्टीले सहयोग गर्नुको सट्टा सम्पर्क विच्छेद गर्यो । दुःख पाएको र असाध्यै भएको बेला पार्टीले जे गर्यो, त्यो विर्सिन लायक छ ।

२०६९ मा वैद्य समूह नेकपा माओवादीबाट बाहिरिंदा रेखा दम्पत्ति पनि वैद्यतिर लागे । त्यता पनि सन्तोषजनक र पार्टी विभाजन हुँदाको स्प्रिट कायम नभएकोले पुनः माओवादीमै फर्केर काम गरिरहेका छन् ।

दोस्रो संविधान सभा २०७० मा कृष्णध्वज खड्का प्रत्यक्ष चुनाव लडेर प्युठानबाट पराजित बने तर रेखाको लागि समानुपातिक तर्फबाट अवसर मिल्यो र सामान्य प्रशासन मन्त्रायल हाँक्ने अवसर पनि । कृष्णध्वज २०७४ को प्रदेश सभा चुनावमा प्युठान २ क –ख) बाट प्रदेश सभा सदस्य चुनिएर २०७८ साउनदेखि लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री छन् ।

नाफाको जिन्दगी

सैनिक हिरासतमा परे पछि बाँचेर फर्किएला भन्ने थिएन । राजनीति गर्दा कुनै पद पाउँला, सांसद र मन्त्री बनौला भन्ने पनि थिएन । माओवादी आन्दोलनमा लागेर हजारौ हजार मारिए तर रेखा दम्पत्तिलाई मर्नु परेन । दुःख भोगे तर जीवन गुमाउनु परेन ।

यसर्थ मृत्युको मुखबाट पटक पटक मरेर फर्केको जिन्दगी नाफाको जिन्दगी हो । यही नाफाको जिन्दगीमा राजनीतिको यात्रा जारी छ । दुबैको एउटै मत छ, नाफाको जिन्दगीमा राजनीति र देशलाई घाटा हुने काम गरिन्न । 

अन्त्यमा,

रेखा शर्मा शालीन महिला नेतृ हुन् । अब तपाईंको प्राथमिकता सरकार कि पार्टी ? भन्दा रेखा भन्छिन्, ‘परिस्थितिले दिएका हरेक जिम्मेवारी र अवसर मेरा लागि ग्राह्य छन् । आफूले लिएको जोखिम, व्योहोरेको दुःख र पार्टीप्रतिको अटल निष्ठामा मलाई प्राप्त हुने जुनसुकै अवसर म सहज रूपमा लिन्छु । अलि बढी समय एकै स्थानमा बसेर काम गर्न पाए काम देखिन्थ्यो । काम गरेर देखाउने धोको प्रवल छ ।’

यसो भन्दा उनको सङ्केत हिजो कम समय मात्र मन्त्री भएर काम गरेको र अब त्यो अवसर पाए केही गरेर नै देखाउने अठोट झल्कन्छ । माओवादी तर्फबाट प्रत्यक्षमा सहभागी भएर जित निकाल्ने एक मात्र महिला भएको कारण पार्टीले यिनको मूल्याङ्कन पक्कै गरेको होला ।

हेविवेट भनिएका नेता शङ्कर पोखरेललाई जित्न सामान्यतः स्थानीय निकायको नतिजा र गठबन्धन दल बीचको एकार्कोलाई घात गर्ने सम्भावनाबिच रेखाले गठबन्धनबाट सहानुभूति पाएको देखिन्छ ।

‘विगतमा थोरै मतभिन्नता थिए तर यो पटक गठबन्धनसँग सहज सहकार्य गरियो र दाङमा गठबन्धन अभूतपूर्व सफल भयो,’ रेखाको कथन छ । एमालेको उमेद्वारको राष्ट्रिय राजनीतिको स्पेस र गत निर्वाचनको मत एमालेको पक्षमा भए पनि रेखाले दाङबाट प्रतिनिधित्व गर्ने सवालमा शङ्करलाई पछि पारेर २६,८८० मत आफ्नो पक्षमा पारिन् र निर्वाचित भएर संसद छिर्ने धोको पूरा गरिन् । हेरौँ उनले आगामी दिनमा पाउने जिम्मेवारी र जनतालाई दिने ‘डेलिभरी’ कस्तो हुन्छ ? त्यसको आधारमा रेखाको पुनः मूल्याङ्कन हुने नै छ ।

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल–पिएचडी अनुसन्धाता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप