शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : ह्युगो लोरिस, फ्रान्स

पोजिसन : गोलकिपर, उमेर : ३५ वर्ष
आइतबार, १८ मङ्सिर २०७९, ०९ : ४३
आइतबार, १८ मङ्सिर २०७९

ह्युगो लोरिस विश्वकपको अन्तिम १६ मा हुने पोल्याण्डविरुद्धको खेलमा फ्रान्सका लागि सबैभन्दा धेरै खेल खेल्ने लिलियन थुरामको कीर्तिमान बराबरी गर्दैछन् । सो खेल फ्रान्सका लागि उनको करियरको १४२ औँ खेल हुनेछ । सन् १९९८ को विश्वविजेता टोलीको सदस्य रहेका थुरामले सो कीर्तिमान आफ्नो १४ वर्ष करियरमा बनाएका थिए ।

‘यो सानो उपलब्धि होइन । म निकै गौरवान्वित महसुस गरिरहेको छु,’ फ्रान्सका कप्तानले भनेका छन् । टोटनहम हटस्पर्सका गोलकिपर यो महिनाको अन्त्यमा ३६ वर्ष पुग्दैछन् । थुरामले अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएको केही महिनापछि उनले सन् २००८ को नोभेम्बरमा फ्रान्सका लागि डेब्यू गरेका थिए । 

सन् २०१८ मा उनकै नेतृत्वमा फ्रान्सले विश्वकपको उपाधि जितेको थियो । गत बुधबार ट्युनिसियाविरुद्ध १–० को पराजय बेहोर्दा उनलाई आराम दिइएको थियो । आजको खेलमा उनी सुरुवाती ११ मा पर्ने पक्का छ ।

प्रशिक्षक डिडिएर डेसच्याम्प पनि लोरिसको तारिफ गर्छन् । उनी आफैले फ्रान्सका लागि १०३ खेल खेलेका छन् भने लोरिस अघि उनकै नेतृत्वमा फ्रान्सले विश्वकपको उपाधि उचालेको थियो । ‘कीर्तिमानहरु भंग गर्नका लागि हुन् । केही कीर्तिमानहरुको महत्त्व अरु भन्दा पक्कै हुन्छ । यति लामो समय उच्च श्रेणीमा खेल्दै यति धेरै खेल खेल्नुले आफै सबै कुरा बयान गर्छ,’ उनले भने ।

पोल्याण्डविरुद्ध आजको खेलमा फ्रान्सले नै जित्ने अपेक्षा गरिएको छ । तर, पोल्याण्डका रोबर्ट लेवान्डोस्की फ्रान्सका लागि चुनौती बन्न सक्छन् । लेवान्डोस्कीलाई रोक्न फ्रान्सको डिफेन्सको अन्तिम लाइनमा रहेका लोरिसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप