शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारबाट काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल, प्रकाश झा मुख्य वक्ता

मङ्गलबार, २० मङ्सिर २०७९, ११ : ३१
मङ्गलबार, २० मङ्सिर २०७९

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ) मंसिर २२ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । हिमाल एसोसिएसनले काठमाडौं महानगरपालिकाको सह–आयोजनमा गर्न लागेको फेस्टिबलमा यसपटकको संस्करणमा ३० मुलुकका ६० वटा भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् ।

राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने फेस्टिभल बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रुपमा सहभागी हुने भएका छन् । झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । कोभिड महामारीको कारण किम्फका अठारौं र उन्नाइसौं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।

किम्फ २०२२ को शुभारम्भ हेर्ने कथा शृंखला अन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ प्रिमियरसँगै हुनेछ । यस फिल्मले जाजरकोटका स्थानीयले गर्ने मह शिकारको कथा पेश गर्छ । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।
 
महोत्सवमा अन्तर्राष्ट्रिय तर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रूपैयाँ पुरस्कार स्वरूप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र पचहत्तर नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत पचास हजार पाउनेछ ।

यो वर्ष किम्फको जुरीमा जर्मन लेखक÷निर्देशक÷निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक÷निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।

चलचित्रकर्मी, चलचित्रप्रेमी दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्म सम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप