बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशसभा : कसरी सम्भव रह्यो नयाँ दलको प्रवेश ?

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ३७
शुक्रबार, २३ मङ्सिर २०७९

बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि प्रदेशका १३ जिल्लाका ६६ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फबाट ६६ जना सांसद निर्वाचित भएर प्रदेशसभामा प्रतिनिधित्वका लागि आइसकेका छन् । यसैगरी समानुपातिक तर्फबाट विभिन्न क्लस्टरसहित ४४ जना सांसदको दलीय भागबण्डा समेत टुङ्गिएको छ ।

यस पटक बागमती प्रदेशसभामा ७ वटा दलले प्रतिनिधित्व गरेका छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले बनेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, नेकपा एकीकृत समाजवादी पाँचौं, नेमकिपा छैटौं र हाम्रो नेपाली पार्टी सातौं दल बनेको छ ।

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसले प्रत्यक्षमा २५ सिट जित्दा समानुपातिकबाट १२ सिट प्राप्त गर्दै ३७ जना सांसद पाएको छ भने एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट पाएको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ७ सिट गरी २१ जना सांसद पाएको छ । एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद पाएको छ ।

यता राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ ५ सिट जित्दै १२ जना सांसद पाएको छ भने नेमकिपाले प्रत्यक्षबाट १ र समानुपातिकबाट २ गरी ३ जना सांसद पाएको छ । हाम्रो नेपाली पार्टीले प्रत्यक्ष र समानुपातिकबाट १÷१ जना गरी २ जना सांसद पाएको छ ।

पहिलो कार्यकालको तुलनामा यस पटक प्रदेशका मुख्य ठूला दलमध्ये कांग्रेसले आफ्नो शक्ति बढाउँदा अन्य दल कमजोर बनेका छन् । यसअघिको निर्वाचनमा कांग्रेस बागमती प्रदेशमा तेस्रो दलको रुपमा थियो ।

२०७४ को निर्वाचनमा सबैभन्दा ठुलो दलको रुपमा रहेको एमाले अहिले दोस्रो बनेको छ । २०७४ मा प्रदेशसभामा स्पष्ट बहुमत पाएको एमाले यस पटक खुम्चिएर ३७ जनामा सीमित भएको छ । २०७४ मा एमालेको मात्रै ५७ जना सांसद थिए ।

यता माओवादी केन्द्रले भने २०७४ को निर्वाचनमा २३ जना सांसद जित्दै दोस्रो दल बनेको थियो । यस पटक भने माओवादी केन्द्रले पनि शक्ति गुमाएको छ । यस पटक माओवादी केन्द्र खुम्चिँदै २१ सिटमा मात्र सीमित बनेको छ ।

२०७४ मा २ सिटमात्र पाएको राप्रपाले यस पटक भने शक्ति बढाएको छ । यस पटक राप्रपाले १२ सिट पाउँदै प्रदेशको चौथो दलको रुपमा प्रतिनिधित्व गरेको छ । २०७४ मा प्रत्यक्षबाट एक सिट पनि जित्न नसकेको राप्रपाले यस पटक ७ सिटमा जित निकालेको छ । २०७४ मा समानुपातिकतर्फबाट २ सिट पाएको राप्रपाले यस पटक समानुपातिकतर्फ ५ सिट पाएको छ ।

एमाले विभाजनपछि १३ जना सांसद सहित प्रदेशसभामा प्रतिनिधित्व गरेको एकीकृत समाजवादीको पनि शक्ति कमजोर बनेको छ । यस पटक एकीकृत समाजवादीले प्रत्यक्षमा ५ र समानुपातिकबाट २ गरी ७ जना सांसद सहित प्रदेशको पाँचौं दल बनेको छ ।

उता नेमकिपाले पनि यस पटक आफ्नो सांसद संख्या बढाएको छ । २०७४ को निर्वाचनमा प्रत्यक्षमा एक र समानुपातिकमा एक गरी २ सांसदसहित प्रतिनिधित्व गरेको नेमकिपाले यस पटक भने प्रत्यक्षमा एक र समानुपातिकबाट २ गरी ३ जना सांसद पाउँदै प्रदेशको छैटौं दलहरुको रुपमा प्रतिनिधित्व गरेको छ ।

बागमती प्रदेशसभामा यस पटक नयाँ दलले पनि प्रवेश पाएको छ । यस पटक हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा एक गरी २ जना सांसदसहित प्रतिनिधित्व पाएको हो । यो दल प्रदेशको सातौं दल हो ।

२०७४ मा समानुपातिक तर्फबाट ३ जना सांसदसहित प्रतिनिधित्व गरेको विवेकशील साझा र प्रत्यक्षबाट एक सिट जितेको जसपा यस पटक भने प्रदेशसभाबाट रिङ आउट नै भए ।

राप्रपाको शक्ति बढ्यो

मुख्य ठुला दलहरुको बर्चश्व रहेको बागमती प्रदेशमा राप्रपाको शक्ति २ बाट १३ पुगेको छ । राप्रपाले आफ्नो शक्ति काठमाडौं र चितवनमा देखाउँदा समानुपातिकतर्फ पनि मत बढाएको देखिन्छ । नयाँ नेतृत्वमा गएपछि राप्रपा रुपान्तरित हुँदाको प्रतिफलको रुपमा यसलाई लिइएको छ ।

मुख्यतः काठमाडौंका नागरिकहरुले राप्रपाको मुद्दालाई विश्वास गर्दा उक्त नतिजा प्राप्त भएको हो । काठमाडौंका नागरिकलाई ठुला दलहरुले आफ्नो पकड क्षेत्रको रुपमा लिने गरेका छन् । तर, सो क्षेत्रका नागरिकहरु परिवर्तनका लागि दल भन्दा पनि एजेण्डा र व्यक्ति केन्द्रित हुनु नै राप्रपाको उपलब्धिको कारक बनेको हो ।

यता नेमकिपाको शक्ति बढ्नुको मुख्य कारण भक्तपुर नगरपालिकालाई लिने गरिन्छ । यो नगरपालिका नेमकिपाको गढको रुपमा छ । २०७४ यता नेमकिपाले जितेको सो स्थानीय तहमा थुप्रै राम्रा कामहरु हुँदा त्यहाँका नागरिकहरुले नेमकिपालाई विश्वास गर्ने आधार बनेको बताइन्छ । 

यता प्रदेशसभामा नयाँ दलको प्रवेशको मुख्य कारण काठमाडौं उपत्यकामा पुराना दलहरुको अक्षमतालाई लिइएको छ । विगतमा सो क्षेत्रबाट जित्दै आएका मुख्य दलहरुका सांसदहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा काठमाडौंका नागरिकले विकल्पका रुपमा नयाँ दल (हाम्रो नेपाली पार्टी)का प्रतिनिधिलाई लिएका हुन् ।

 २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा जितेका बालेन्द्र शाहको चुनाव चिह्न र हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह मिल्नुको संयोगलाई पनि सो पार्टीले सफलता पाउनुको कारणका रुपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप