शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरानै भवनमा बागमती प्रदेशसभाको नयाँ बैठक, धमाधम तयारी

सोमबार, २६ मङ्सिर २०७९, १८ : ४९
सोमबार, २६ मङ्सिर २०७९

बागमती प्रदेशसभाको आगामी अधिवेशनको बैठक बस्नका लागि आवश्यक तयारी थालिएको छ । विगत ५ वर्षमा प्रदेश सभा सचिवालयको नयाँ सभाहल निर्माण सम्पन्न नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेशसभा बैठकको लागि तयारी गरिएको हो ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ बैठक बस्ने बताए । वैठकका लागि पुरानै भवन मर्मत तथा रंगरोगन गरिएको छ । कुर्सीहरुको व्यवस्थापन तथा हलमा फलसिलिङ्गको काम गरिएको उनले जानकारी दिए । दलहरुको आसन व्यवस्थापनको काम मात्र बाँकी रहेको उनले बताए ।

प्रदेशसभा सचिवालयले २ करोड रुपैयाँ लागतमा विषयगत समितिका लागि ६ वटा कोठासहितको २ तले भवन तयार गरेको छ भने सुरक्षाकर्मीहरुको लागि ४० लाख रुपैयाँ लागतमा आवास भवन तयार गरेको छ । प्रदेशसभा सचिवालय मर्मत तथा रगंरोगनका लागि ७ लाख रुपैयाँ खर्च गरेको सचिव खड्काले बताए ।

‘प्रदेशसभाको वैठकका लागि आवश्यक तयारी पूरा भइसकेको छ । अब सर्वदलीय बैठक बस्न बाँकी छ । पहिलो सर्वदलीय बैठक सचिव (मेरै) नेतृत्वमा बस्न सक्छ,’ सचिव खड्काले भने, ‘उक्त वैठकलले प्रदेशसभा वैठकको सम्भावित कार्यसूची तयार गर्नेछ ।’

उनका अनुसार दोस्रो कार्याकालको पहिलो सर्वदलीय बैठकले सांसदहरुलाई स्वागत तथा सपथ ग्रहण, सभामुखको निर्वाचन तालिका, संसदीय दलको व्यवस्थापन लगायत काम गर्नेछ ।

११० सदस्यीय प्रदेश सभामा प्रदेशसभामा नेपाली कांग्रेसले ३७ सिट, एमाले २७ सिट, माओवादी केन्द्रले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट, एकीकृत समाजवादीले ७ सिट, नेमकिपाले ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट पाएको छ ।

पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने

बागमती प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित सांसदहरु मध्येबाट जेष्ठ सदस्यले गर्ने गरी तयारी गरिएको सचिव खड्काले जानकारी दिए । नेपालको संविधानको धारा १८३ अनुसार प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिन भित्र बैठक आह्वान गरिसक्नु पर्ने र उक्त बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार बागमती प्रदेशसभा सचिवालयले पनि आवश्यक तयारी सम्पन्न गरेको र आयोगको नतिजा अनुसार जेष्ठ सदस्य तथा सांसदहरुको सपथ ग्रहण पश्चात् बैठकको तयारी गरेको सचिव खड्काको भनाइ छ ।

संविधानको धारा १८२ को उपधारा (५) अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नु हुन्छ । बागमती प्रदेशसभा सचिवालयले पहिलो बैठकका लागि आवश्यक कार्य सूचीहरु पनि छनौट गरेको छ । प्रदेशसभाको बैठकका लागि सर्वदलीय वैठक बसेर उक्त कार्यसूचीलाई सदनमा पेस गर्ने निर्णय गर्ने बाँकी रहेको सचिव खड्काले बताए ।

उनका अनुसार प्रदेशसभाको पहिलो बैठकका लागि स्वगत तथा शुभकामना, सभामुख र उपसुभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठी पत्र र केही अध्यादेशहरु सम्भावित कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप