मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीको मुख्यमन्त्री बन्न कांग्रेसको संस्थापन भित्रै २ टीम

बहादुर र इन्द्रबीच प्रतिस्पर्धा, कसको सम्भावना कति ?
मङ्गलबार, २७ मङ्सिर २०७९, १६ : ११
मङ्गलबार, २७ मङ्सिर २०७९

निर्वाचन सम्पन्न भएसँगै बागमती प्रदेशमा सरकार निर्माणको जोडघटाउ सुरु भएको छ । सरकार निर्माणको लागि दलहरु जोडघटाउमा व्यस्त हुँदै गर्दा प्रदेशसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई भने आन्तरिक व्यवस्थापननै चुनौती हुने देखिएको छ ।

पार्टीभित्र दुई खेमा रहेको कांग्रेसमा संस्थापन समूहभित्रै दुई टीम देखिएको छ  । दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचनमा पार्टी जुट्दै गरेको अवस्थामा कांग्रेस संस्थापन पक्ष विभाजित बनेको हो ।  दलको नेता बन्ने होडमा मकवानपुरबाट निर्वाचित इन्द्रबहादु्र बानियाँ र नुवाकोटबाट निर्वाचित बहादुर सिंह लामा प्रतिस्पर्धामा उत्रिने देखिएको छ । दुवै जना कांग्रेसको संस्थापन पक्षका नेता हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका लामा प्रदेशसभा सदस्य निर्वाचित भएलगत्तै दलको नेता बन्ने कसरतमा जुटेका हुन् भने कांग्रेस बागमती प्रदेशको सभापति बानियाँले यसअघि पनि सरकारको नेतृत्वमा दावी गर्दै आएका थिए । उनी प्रदेशसभाको पहिलो कार्यकालमा दलको नेताको जिम्मेवारीमा रहिसकेका छन् । संसदीय दलको नेता बन्न उनीहरु आन्तरिक लबिङमा जुटिरहेका छन् ।

लामा प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार थिए । पार्टीको आन्तरिक समस्या सुल्झाउन उनलाई प्रदेशसभामा झारिएको थियो । उनी मंसिर ४ को निर्वाचनमा प्रदेशसभा तर्फ नुवाकोट २ (ख) बाट निर्वाचित भएका थिए । निर्वाचित भए लगत्तै उनी पनि मुख्यमन्त्री बन्ने आकांक्षा व्यक्त गर्दै दलको नेता बन्न प्रयासरत रहेका हुन् ।

२०७४ मा नै दलको नेता भइसकेका बानियाँ यो पटक त्यत्तिकै मुख्यमन्त्री छाड्न तयार देखिँदैनन् ।

बहादुर र इन्द्रको प्रतिस्पर्धा, कसको सम्भावना कति ?

मुख्यमन्त्रीमा संस्थापनबाटै २ जनाको दावी परेपछि कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य समेत विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये कांग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ १२ सिट रहेको छ ।

कांग्रेसको ३७ सदस्यीय संसदीय दलमा कांग्रेसको संस्थापन पक्षको बहुमत देखिन्छ भने संस्थापन इतर पक्षका सांसद कम रहेका छन् । संस्थापन पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह निकट सांसदहरु रहेका छन् ।

बागमती प्रदेशसभा सदस्यहरुमा कांग्रेस नेता शेखर कोइराला पक्षका कोही देखिँदैनन् । यद्यपी शेखर टिमका कांग्रेस महामन्त्री गगन थापा निकटका केही सांसद्हरु रहेका छन् । प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी शेखर–गगन पक्षमा थोरै मात्र सांसद रहेका छन् । संस्थापन पक्षमा नै दुई धार देखिँदा इतर टीमले निर्णायक भूमिका खेल्ने देखिन्छ ।

संसदीय दलको नेता बन्ने दौडमा रहेका दुवै नेताहरुलाई आ–आफ्नो भुगोलका केन्द्रीयस्तरका नेताहरुको सहयोग भने रहने देखिँदैन । बानियाँलाई मकवानपुरको भूगोलबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रुचाएकी छैनन् ।

यता लामालाई पनि आफ्नो भुगोलले समर्थन गर्ने देखिँदैन । नुवाकोटबाट केन्द्रीय नेता अर्जुननरसिंह केसी लगायताका नेता लामालाई रोक्न चाहन्छन् । तर, लामालाई कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बनाउन कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतको उच्च जोडबल छ ।  सहमहामन्त्री डिना पनि उनकै पक्षमा खुलेकी छिन् । सहमहामन्त्री डिना र प्रवक्ता डा. महत कुनै पनि अवस्थामा लामालाई दलको नेता बनाउने र मुख्यमन्त्रीमा अगाडि सार्ने अडानमा छन् । उनीहरु दुवै बानियाँको खिलाफमा देखिएका छन् ।

डिना बानियाँले आफूलाई चुनाव हराएको आरोप लगाउँदै मुख्यमन्त्री बन्न नदिन तीव्र लबिङमा रहेको बताइन्छ । डिना मकवानपुर–१ बाट प्रतिनिधिसभामा पराजित बनेकी थिइन् ।

यता आफ्नो पक्षमा माहोल बनाउन निर्वाचनपछि बानियाँ पनि काठमाडौंमा नै छन् । पार्टीभित्रको आन्तरिक समीकरणले बानियाँलाई संस्थापन इतर समूहका सांसदहरुको समर्थन रहनसक्ने कतिपयको भनाइ छ ।

निर्वाचनको समयमा बानियाँले १० जना प्रदेश सदस्यहरुलाई टिकट वितरण गरेका थिए । उनीहरु मध्ये अधिकांशले निर्वाचन जितेका छन् । यता पहिलो कार्यकालका केही सांसदहरु पनि दोहोरिएर निर्वाचित भएका छन् । उनहरूको  साथ  बानियाँले पाउने सम्भावना छ ।

संस्थापन पक्षबाटै दुई जना संसदीय दलको नेताको दौडमा रहेपछि बागमतीमा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप