शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कर्णालीको मुख्यमन्त्रीमा म नै ‘कन्टिन्यू’ हो’

बुधबार, २८ मङ्सिर २०७९, ०९ : ४०
बुधबार, २८ मङ्सिर २०७९

२०७४ को कर्णाली प्रदेश सभा चुनावमा कांग्रेसका जीवनबहादुर शाही एक्लैले चुनाव जितेका थिए । तै पनि मुख्यमन्त्री बन्ने भाग्यमानी साबित भए । 

०७९ मा सम्पन्न कर्णाली प्रदेशमा ९ प्रत्यक्ष र ५ समानुपातिकसहित पहिलो दल बनेको छ कांग्रेस । त्यसैले, सुरुवाती चरणमा कांग्रेसले नै नेतृत्व पाउनुपर्ने बताउँदै जीवनबहादुर शाही हाकाहाकी भन्दैछन्, ‘कर्णालीको मुख्यमन्त्रीमा म नै ‘कन्टिन्यू’ हो ।’

यता ९ सिट प्रत्यक्ष र ४ सिट समानुपातिक गरी १४ सिट जितेको माओवादीले अन्य प्रदेशको तुलनामा कर्णालीमा माओवादीको जनाधार बलियो भएकाले पहिलो चरणमा आफूले पाउने दाबी गर्दै आएको छ ।

कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्ट मुख्यमन्त्रीका दाबेदार छन् । 

गठबन्धनका शीर्ष नेताहरूको आश्वासनले नै दोस्रो पटक प्रदेशमै लडेकाले मुख्यमन्त्रीमा आफूले नै निरन्तरता पाउनेमा शाही आशावादी छन् । यद्यपि सरकार गठनको कुरा भने केन्द्रमै हातमा रहेको उनको भनाई छ । प्रस्तुत छ, सरकार गठन र चुनावी वस्तुस्थितिका बारेमा केन्द्रित रही रातोपाटीले मुख्यमन्त्री जीवनबहादुर शाहीसँग कुराकानीको अंशः

०७४ मा एक सिट जितेर पनि यहाँले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभयो । यसपालि त झन् प्रदेशमा कांग्रेस पहिलो दल भएको छ । पुनः सरकारको नेतृत्वमा पुग्ने सपना पाल्नु भएको हो ? 

— हो, मुख्यमन्त्री बन्नकै लागि म प्रदेशमा आएको हो । जब कि म प्रतिनिधि सभामा जाने तयारीमा थिएँ । उहाँहरू (माओवादी) ले हुम्लामा ३ सिटमध्ये एउटा प्रतिनिधि सभा र एउटा प्रदेश सभामा सिट लिनुभएको हो । माओवादीका गठबन्धनका सिनियर नेताहरुसँग सल्लाह गरेरै प्रदेशमा लडेको हो । त्यसैले, मुख्यमन्त्री बन्ने कुरामा दुई मत छैन । तर नेपालको राजनीतिमा जे पनि भइदिन्छ ।

पार्टीभित्रको कुरा गर्ने हो भने पनि अहिलेको बहालवाला मुख्यमन्त्री मै हो ।  हिजो म एक्लै जितेर आए पनि कांग्रेसको शिर उच्च राख्न सफल भएकै हो । अहिले कार्यसम्पादन समितिको सदस्य पनि म नै हो । त्यो हिसाबले म मुख्यमन्त्री बन्छु । अरूले चाहना राख्ने कुरामा अन्यथा लिनुहुँदैन । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी अध्यक्ष प्रचण्ड र तपाईंबीच एक किसिमको सहमति भएरै प्रतिनिधि सभा माओवादीलाई छाड्नुभएको हो भन्ने छ, यो कुरामा कति सत्यता छ ?

— एकदम सही हो । यतिमात्र होइन, पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू आफै हुम्ला गएर भाषण नै गर्नुभएको छ कि ‘हुम्लाबाट जितेर गएको खण्डमा कर्णालीको मुख्यमन्त्रीमा जीवन शाही नै ‘कन्टिन्यू’ हो भनेर । नभए हामी (कांग्रेस)ले प्रतिनिधि सभा पाएको खण्डमा प्रदेशका दुई सिट माओवादी र प्रतिनिधि सभामा माओवादीले पाएको खण्डमा प्रदेश दुई सिट हामीले पाउनुपर्छ भनेका थियौँ । 

तर उहाँहरुले जीवनलाई नै मुख्यमन्त्री ‘कन्टिन्यू’ गरिने भएकाले तीनमध्ये दुई वटा सिट माओवादीले पाएको हो । त्यसैले नै माओवादीको केन्द्रीय सदस्य छक्कबहादुर लामाजी एमालेमा गएर मेरो विरुद्धमा लड्नुभएको हो नि..! म मुख्यमन्त्रीमा ढुक्क छु । 

अपेक्षा गरिएअनुसार माओवादीले अन्य प्रदेशमा सिट ल्याउन सकेन । अन्य प्रदेश भन्दा कर्णालीमै सिट अलि बढी भएकाले माओवादीले नेतृत्व नछाड्ने माओवादी नेताहरूको भनाई छ नि ? 

— सिट आउने–नआउने कुरा फरक भयो । राजनीतिमा चाहिने भनेको इमानदारिता होला नि । गठबन्धनलाई सबैभन्दा बढी सफलता मिलेको कर्णालीमै हो । 

यदि गठबन्धनभित्र दायाँबायाँ गरेको भए त नतिजा फरक आउँथ्यो होला तर हामीले गरेनौ नि..!  हुम्ला (क) मा माओवादीको उम्मेदवार हार्छु कि भनेर निकै डराउनु भएको थियो, हामीले त्यसो हुन दिन्नौँ भनेर मैदानमा होमियौँ, उहाँले चुनाव जित्नुभयो । इमानदारिता हुनुपर्छ । 

त्यो भएकाले बाहिर भन्ने कुराहरू अनेक हुन्छन् । चुनाव पहिला कर्णालीका नेताहरू सहितको छलफलमा जो बस्नुभयो, उहाँहरू इमानदारीपूर्वक अगाडि बढ्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।

उसो भने नयाँ सरकार गठनको गृहकार्य सुरु भयो, हैन त ?

— त्यो त केन्द्रमा भर पर्ने कुरा हो । हामीले जतिसुकै संघीयताको कुरा गरेपनि पहिलो कुरा त माथिको सरकार कसरी बन्छ भन्ने हो । समानुपातिकको कुरा पनि स्पष्ट आइसकेको अवस्था छैन । समानुपातिकको ‘फ्ल्यास आउट’ गरिसकेपछि संसदीय दलको चुनावबारे गतिविधि अघि बढ्ला । अहिले कुनै गतिविधि अगाडि बढिसकेको अवस्था छैन । सरकार त जसको बनेपनि आलो–पालो नै बन्ने हो ।  

पहिला एक सिट जितेको कांग्रेसले एक वर्ष सरकारको नेतृत्व गर्‍यो । अहिले सुरुमा माओवादीले पाउनुपर्छ भन्ने भन्ने माओवादीको प्रदेश कमिटीले भनाई छ । यो अवस्थामा पछि हट्नुहुन्छ ?

— चाहना राख्नु  स्वाभाविक हो । पहिला उहाँहरू भएपछि मैले चलाएको हो । अहिले हामी पहिलो पार्टी पनि बनेका कारण सुरुमा कांग्रेसले चलाउँछ, सेकेण्डमा माओवादीले चलाउँछ । 

कांग्रेसभित्र संसदीय दलको नेतामा राजीवविक्रम शाहको नाम पनि नेतृत्वका लागि चर्चामा छ । दलको नेतामा सर्वसम्मत हुनेमा ढुक्क हुनुहुन्छ ? 

— जितेर आइसकेपछि संसदीय दलको नेता हुन्छु भन्ने ‘राइट’ सबैको हुन्छ नै । अहिलेसम्म उहाँको त्यस्तो खालको कुरा बाहिर आएको छैन । केन्द्रमा पनि दलको नेतामा रामचन्द्र दाइ, शेरबहादुर दाइ, शेखर दाइ, गगनको पनि चर्चा छ । चर्चा हुनु स्वाभाविक हो । 

कर्णालीमा त्यस्तो कुनै अफ्ठेरो परिस्थिति नआउला । राजीवलाई केन्द्रबाट कुनै त्यस्तो आश्वासन छ जस्तो मलाई लाग्दैन ।

हैन नेताले बाहिर भन्ने कुरा एउटा हुन्छ, गर्ने अर्कै हुन्छ नि ? 

— अरूको हकमा त्यस्तो होला तर मेरो हकमा त्यस्तो छैन । जे बोलिन्छ, त्यही कुरा कार्यान्वयन गरिन्छ । 

कुनै बेला तपाईंले सार्वजनिक कार्यक्रममा म ‘मुख’ मन्त्री हो कि मुख्यमन्त्री हो भन्ने मलाई नै थाहा छैन भन्ने अभिव्यक्ति दिनु भयो । फेरि त्यही ‘मुख’ मन्त्री बन्नलाई नेतृत्वमा जान लाग्नुभएको हो ? 

— आशा त ‘मुख’ मन्त्री होइन, मुख्यमन्त्री नै बन्ने हो । नेतृत्वमा आएको एक वर्षमा सबै काम गरिसकियो भन्ने पनि होइन । सुशासन, टाइमिङको सन्दर्भमा मैले केही कदम चालेको हो । 

अब आएर मैले गर्ने भनेको कुराहरू पनि यिनै हुन् । तर यदि संविधानमा भएको अधिकारलाई प्रयोग गर्न नदिने हो भने संघीयताको अर्थ रहँदैन ।

मलाई एउटा आरोप लाग्दै आएको छ, ‘जीवन शाहीले संघीयता हुँदँैन भन्यो भनेर ।’ मैले यदि अधिकार नदिने हो भने केन्द्रीकृत राज्य प्रणाली नै ठिक थियो भनेको सम्म हो । अधिकार नदिने भए संघीयता भंग गरिदिउँ भनेको हो । 

कानुनतः संविधानमा उल्लेख गरेका कुराहरू त प्रदेशलाई हस्तान्तरण गर्नुपर्‍यो नि । विश्वको सबैभन्दा कमजोर संघीयता भारतको हो । तर भारतको ‘चिफ मिनिस्टर’ कति पावरफुल हुन्छ ? भन्ने कुरा त देखिएकै छ नि । कि यो सिस्टम लागु नगर, लागु गरिसकेपछि अधिकार सम्पन्न बनाऊ भन्ने कुरा मेरो हो ।

अहिलेसम्म हामीले प्रहरी पाएका छैनौँ । प्रदेश प्रहरी भनेर लेखिएको छ, गाउँपालिकाका प्रहरी भइसके । कर्णालीका कार्यालयहरू अझै लुम्बिनीमै छन् । 

अहिले पुँजीगत खर्च हेर्ने हो भने संघ भन्दा त प्रदेश सरकारको नै बढी छ । नयाँ संघीयता भनेको नै प्रदेश तह हैन र ? स्थानीय तह त पहिला नै थियो । त्यो सन्दर्भमा मैले त्यसो भनेको हो ।

‘अन्य प्रदेश हिँडे पुग्छ, कर्णाली दौडिनुपर्छ’ भनेर सुरुवाती चरणमा भनियो तर कर्णालीले केन्द्र र अन्य प्रदेशकै सिकोमा हिँड्ने प्रयास गर्‍यो । पञ्चायतकालदेखि नै पछि परेको कर्णालीको विकास मोडेल अन्य प्रदेशको भन्दा भिन्न हुनुपर्ने हैन र ? 

— हो यो महत्त्वपूर्ण कुरा हो । मैले त्यसैलाई मध्यनजर गरेर ‘छ ब’ को कन्सेप्ट ल्याएको हो । अहिले हाम्रो उत्पादनलाई सहज तरिकाले आयात–निर्यात गर्नका लागि पहिलो कुरा त सडकै हो । 

टु लेन सडक नभएसम्म हामी पछि नै पर्छौँ । अहिलेको मोडर्न युगमा ‘रोड एक्सेस, कनेक्टिभिटी, इलेक्ट्रिफिकेशन र खानेपानी’ महत्त्वपूर्ण कुरा हो । 

यी तीनवटा कुराहरुलाई हामीले पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्ने हुन्छ । अरू कुराहरू बिस्तारै वृद्धि हुँदै जान्छ । 

कर्णाली र भेरी करिडोरलाई हामीले राम्रोसँग बनाउन सक्यौँ भने कर्णाली समृद्धिको आधार तय हुन्छ । तर चाहना सबैका स–साना छन् । कमी–कमजोरी धेरै छन् । सुधार्न आवश्यक छ । 

तर अहिलेको दुनियाँका मान्छेहरू सबै नेगेटिभ बन्यौँ । नेता, ठेकेदार सबै नेगेटिभ मात्रै छन् । मेरो कमी–कमजोरीलाई मैले सुधार्नुपर्छ भन्ने बानीको विकास हुन जरुरी छ ।

प्रदेशको मुख्यमन्त्री र संघीय मन्त्री समेत भइसकेको मान्छे तर तपाईंको जिल्ला नै सडक सञ्चालनमा जोडिन सकिरहेको छैन । हुम्लामा सडक कहिले पुग्छ त मुख्यमन्त्रीज्यू ? 

—हेर्नुस्, म मुख्यमन्त्री भएर केही गर्न सकिरहेको छैन, संघीय मन्त्री नभएको भए हुम्लाको तल्लो छेउमा पनि बाटो पुग्ने थिएन ।

०७० सालमा चुनाव जितेर गइसकेपछि त्यहाँ सडक निर्माणको काम सेनालाई दिइसकेपछि अहिले आधा भाग सर्केगाडसम्म त सडक पुग्यो नि । 

त्यतिबेला उत्तरबाट दक्षिण बाटो जोडेको त जीवन शाहीले नै होला नि । त्यत्ति नगरेको भए त आज म चुनाव हार्थे होला नि । ७० प्रतिशत मत मैले ल्याएको छु त । काम नगरेको भए जनताले पत्याउने थिए र ? 

१२ किलोमिटर बाटो छ । त्यो चट्टानै चट्टान छ । त्यो पनि तीन किलोमिटर बाटो बनाइसकियो । आज पनि काम भइरहेको छ । सदरमुकाममा पो नजोडिएको हो, अन्य ठाउँमा त पुगेको छ नि..! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप