शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाका सातौँ प्रतिस्पर्धी बने थापा, होला त ‘मिराकल’ ?

मङ्गलबार, ०५ पुस २०७९, २० : १८
मङ्गलबार, ०५ पुस २०७९

नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त हुने भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट थापाले मंगलबार (आज) संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबार बिहान बसेको इतर पक्षको बैठकले देउवाविरुद्ध थापालाई अगाडि सार्ने निर्णय गरेको थियो । नेता शेखर कोइराला ‘ब्याक’ भएपछि भोलि देउवा र थापाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने संसदीय दलको नेताको निर्वाचनका लागि देउवा र थापाको मात्र उम्मेदवारी परेको छ ।

दलको नेतामा आकांक्षा राखेका रामचन्द्र पौडेल र शेखर कोइराला क्रमशः देउवा र थापाको प्रस्तावक बसेका छन् । ०७४ मा देउवाविरुद्ध संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह अहिले देउवाकै पक्षमा उभिएको अवस्था छ । १४ औं महाधिवेशनमा सिंह प्यानलबाट महामन्त्री निर्वाचित विश्वप्रकाश शर्मा भने थापाको समर्थक बनेका छन् । यस्तै थापालाई देउवा प्यानलका महामन्त्रीको उम्मेदवार प्रदीप पौडेलको पनि समर्थन रहेको छ ।

शर्माले प्रकाशमान सिंह र पौडेलले कृष्णप्रसाद सिटौलाको साथ छाडेर थापाको समर्थक बने । यसले संस्थापन इतर पक्षको आकार फराकिलो बनाएको छ । शर्मा र पौडेलले थापालाई साथ दिनु फगत २ अंकको जोड–घटाउ देखिए पनि सन्देश भने बृहत् छ । कांग्रेसको भावी नेतृत्व र भरोसाका रूपमा हेरिएका थापा, शर्मा र पौडेलको एकताले देउवा पक्षमा भय पैदा गराएको छ ।

शेखर र गगन दुवै जना संसदीय दलको नेतामा प्रतिस्पर्धा हुनेमा ढुक्क देखिएको देउवा समूहलाई इतर पक्षको आजको एकताले झस्काएको छ । संस्थान इतर पक्ष संसदीय दलको निर्वाचन हुँदा तितरबितर हुने देउवा पक्षको बुझाइ थियो । तर रूपान्तरणको सन्देश दिँदै कोइराला नै थापाको प्रस्तावक बसेपछि देउवा पक्षको पूर्ववत् हिसाब–किताब गडबड हुन सक्ने आकलन गरिएको छ ।

​८९ जना सांसदमा देउवाले ६० बढी सांसदको भोट पाउने संस्थापन पक्षको हिसाब थियो । यसअघि ३२ सांसदको दाबी गरेको थापा समूहले उम्मेदवारी दर्ता गर्दा ३९ जना सांसद साथमा रहेको दाबी गरेको छ । देउवा पक्षका मानिएका समानुपातिक सांसदको विश्वास जित्न थापा आफै सक्रिय भएर लागेको पाइएको छ । देउवा पक्षका ५–७ जना समानुपातिक सांसदले थापालाई मत दिने सङ्केत गरेको पाएको छ ।

प्रत्यक्ष निर्वाचित सांसद सन्तोष चालिसे, दीपक गिरी, सुरेन्द्रराज आचार्यले थापालाई साथ दिने देखिएको छ । यसअघि देउवा समूहले उनीहरू आफ्नो पक्षमा रहेको बताए पनि उम्मेदवारी दर्ताअघि थापा समूहको बैठकमा देखिए । थापाको पक्षमा देखिएको जबरजस्त माहौलले थप सांसद प्रभावित हुने इतर पक्षको विश्वास छ ।

देउवाविरुद्ध थापाको एकल उम्मेदवारी परेपछि संस्थापन पक्षले पनि कडाको रणनीति लिएको छ । उम्मेदवारी दर्तापछि कांग्रेस संसदीय दलको कार्यालयमा देउवाले करिब १ घण्टा सांसदहरूसँग टेलिफोन सम्पर्क गरेका थिए । रामचन्द्र पौडेलसँग निकट सम्बन्धन राख्ने सांसदलाई संस्थापन पक्षले मनाउने प्रयास गरिरहेको एक नेताले रातोपाटीलाई बताए । देउवा पक्षले पनि इतर पक्षका मध्यमार्गी सांसदसँगको संवाद बढाएका ती नेताको भनाइ छ । कांग्रेसमा भोलि बिहान ८ बजेसम्म सांसदको तानातान जारी रहने छ । २०५१ मा सर्वसम्मत संसदीय दलको नेता बनेका देउवाले ६ पटक चुनावी प्रतिस्पर्धा गरे । उनी २०५८ मा सुशील कोइराला हराएर दलको नेता बनेका देउवा ०६४ रामचन्द्र पौडेलसँग पराजित भए । यस्तै ०७० मा सुशील कोइरालाले देउवासँग बदला लिए ।

०७२ मा पौडेललाई नै हराएर देउवाले संसदीय दलको नेतामा बाजी मारेका थिए । ०७४ मा देउवाले प्रकाशमानको सामना गर्नु परेको थियो भने अहिले गगनले चुनौती छ । सातै पटक संसदीय दलको नेता बन्न मैदानमा उत्रिएका ७६ वर्षीय देउवालाई ४६ वर्षका थापाको चुनौती छ । 

कांग्रेस संसदीय दलको गणितमा देउवाको अवस्था बलियो देखिए पनि जनमत र एजेन्डामा थापाको पल्लाभारी छ । संसादको हिसाब गर्दा थापाले देउवालाई पराजित गर्न ‘मिराकल’ हुनुपर्ने देखिन्छ ।

संस्थापन पक्षले सबैलाई मिलाउन सक्ने देउवाको क्षमता र अनुभवलाई एजेन्डा बनाएको छ भने थापाले जनमत र रूपान्तरणलाई मुद्दा बनाएको पाइन्छ ।

देउवाका समर्थक समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सबैलाई जोडेर सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताए । 

‘द्वन्द्वका घाउहरू माओवादी, समाजवादीसहितलाई जोडेर अहिलेको सरकार निर्माण गरेर प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव चाहिन्छ,’ खड्काले भने, ‘सबै खालको मिलाउन सक्ने कला पार्टीका सभापति शेरबहादुर देउवासँग छ । सबै कारणले अहिले उहाँ नै आवश्यक नै हुनुहुन्छ।’ आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुने भन्दै थापालाई उम्मेदवारी फिर्ता दिन खड्काको आग्रह छ । ‘अहिलेको अवस्थामा जनतालाई आवश्यक नेतृत्व दिन सक्ने क्षमता देउवाजी नै हुनुहुन्छ । युवाहरूलाई म त भन्छु अझै संसदीय दलको नेता देउवाजीलाई सर्वसम्मत बनाऔँ,’ उनले भने ।

महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता गरेर ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरे । कांग्रेसका सांसदहरूलाई जनमतको सम्मान गर्न र परिवर्तनको पक्षमा उभ्याउन पनि थापाको अनुरोध छ । 

’कांग्रेसको भविष्यका लागि र परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा भाग लिन आग्रह गर्छु । संसदीय दलभित्र हामी पार्टीका आन्तरिक मतदाता होइनौँ हामी जनताबाट चुनिएर आएका हौँ,’ उनले भने, ‘सांसदले जनमतको प्रतिनिधित्व गर्नुपर्छ । के जनमत प्रकट भएको छ,जनताको आकांक्षा के छ । त्यो ख्याल गर्नुपर्छ ।’

सरकार सञ्चालन गरेर यस्तो पनि काँग्रेसले गर्छ भन्ने देखाउनुपर्ने भन्दै सबैले परिवर्तनको पक्षमा उभ्याउने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप