शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले बनायो समिति

बिहीबार, ०७ पुस २०७९, ०८ : ३२
बिहीबार, ०७ पुस २०७९

बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ११९ वटै वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । 

समितिको संयोजकमा मन्त्री खनाल रहेका छन् भने सदस्यमा वन तथा वातावरण मन्त्री विशाल खड्का र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ रहेका छन् । 

चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएको वडा समाजवादी कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी अनुसार प्रदेश सरकारले मन्त्रीपरिषदबाट वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरिसकेको छ । 

प्रदेशका ११९ वटै पालिकाको एकरएक वडामा सरकारले हाल २५ करोड रुपियाँ विनयोजन गरेको र एउटा वडालाई कार्यक्रम कार्यान्वयन गर्न एक करोड रूपियाँ विनियोजन गरिने मन्त्री खनालले बताए । 

प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा गुणस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि, दिगो पूर्वाधार निर्माण, दिगो विकास, पर्यावरणीय संरक्षण र सन्तुलन, असमानता र गरिवी न्यूनीकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकहरूको सहज पहुँचलाई प्राथमिकता दिइने जनाइएको छ। 

यस्तै बैठकले स्थानीय तहसंगको साझेदारीमा नवप्रवर्तनका कार्यक्रमहरू सञ्चालन गर्न पालिकाहरू छनोट गर्ने निर्णय गरेको छ। धादिङको धुनिवेशी नगरपालिका, ज्वालामुखी गाउँपालिका चितवनको खैरहनी नगरपालिका लगायतका पालिका कार्यक्रम लागू गर्न छनोट भएको र छनोटमा परेका पालिकामा प्रतिपालिका एक करोड ४० रूपियाँ बजेट जाने र कृषि, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप