शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अबको राष्ट्रपति सुवास कि अष्टलक्ष्मी ?

आइतबार, १० पुस २०७९, २१ : ३६
आइतबार, १० पुस २०७९

सत्ता समीकरणमा अचानक आएको फेरबदलसँगै मुलुकको राजनीतिक कोर्ष आइतबारबाट फरक ढंगले अघि बढ्न सुरु भएको छ । प्रधानमन्त्रीको च्याप्टर क्लोज भएसँगै अब भावी राष्ट्रपतिबारे चर्चा सुरु भएको छ ।

आइतबार बिहानसम्म कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने चर्चाका बीच बालुवाटारमा कांग्रेस नेताहरुको असहिष्णु व्यवहार र सहमतिप्रति इमान्दारिता नदेखाउँदा स्थितिले फरक मोड लिन पुगेको हो । यसले मुखमा आएको सत्ता कांग्रेसबाट फुत्केर वाम गठबन्धनको हातमा पुग्नुका साथै झन्डै २ वर्ष अघिको समीकरणमा उथलपुथल आएको छ ।  

बालुवाटारमा आइतबार बिहान भएको छलफलमा जब पूर्व सहमतिविपरित कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने शब्द बाहिर निकाले त्यसलगत्तै राजनीतिको पारो बालुवाटारबाट बालकोटतर्फ सोझिन पुगेको हो ।

सहमति गरेको एक सातामै देउवा सहमति विपरित चल्छन् भन्ने प्रचण्डले समेत सायदै सोचेका थिएनन् । यही सोचका साथ प्रचण्ड बिहान १० बजे निर्णायक छलफलका लागि बालुवाटार पुगेका थिए । तर अनुमान विपरित देउवाले ‘साथीहरु मानेनन्’ भनेपछि प्रचण्ड अर्को विकल्पको यात्रा तय गर्न बाध्य भए ।

प्रचण्डले अव देउवासँग छलफलको औचित्य छैन भनेर बालुवाटारबाट बाहिरिएसँगै राजनीतिक वृत्तका साथै आम जनमानसको ध्यान बालकोटतर्फ सोझिने नै भयो । बालुवाटारको गतिविधि नियालिरहेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच प्रचण्ड बालुवाटारबाट निस्केलगत्तै फोन सम्पर्क हुने नै भयो । यो संवादमा प्रचण्ड बालकोट जाने निधो भयो । त्यतिन्जेलमा बालकोटमा अन्य दलका नेताहरू पुगिसकेका थिए ।

ओलीबाट सकारात्मक सन्देश पाएका प्रचण्ड खुमलटार पुगेर केहीबेरमा बालकोट पुगिहाले । प्रचण्ड बालकोट पुग्नुअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका नेता अशोक राई, रास्वपाका अध्यक्ष रवि लामिछाने लगायत बालकोट पुगिसकेका थिए । राप्रपा र रास्वपाका नेताहरुसँगको कुराकानीमा एमाले अध्यक्ष केपी ओलीले आफूले पहल गरे साथ पाउने बुझिसकेका थिए ।

अध्यक्ष प्रचण्ड जब बालकोट पुगे त्यसपछि उपलब्ध सबै दलका नेताबीच छलफलको एजेण्डा बन्यो प्रचण्डको नेतृत्वमा नयाँ सरकार । त्यसमा दुई ठुला दल (माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी आली) ले पालैपालो सरकारको नेतृत्व गर्ने समझदारी भयो र संविधानको धारा ७६ को उपधारा २ अनुसार नै प्रधानमन्त्रीको दावी गर्न शीतल निवास जाने सहमति पनि ।

जसअनुसार समर्थन गर्ने सबै दलका नेता आइतबार साँझ ५ बजे अघि नै शीतल निवास पुगे र प्रधानमन्त्रीमा दावी पेस गरे । सात दलका १६९ सांसदको समर्थन देखिएपछि राष्ट्रपतिले दायाँबायाँ गर्ने कुरै भएन । दावी पेस गरेको केहीबेरमै प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको राष्ट्रपति कार्यालयले सूचना जारी गर्यो ।

राष्ट्रपतिमा सुवास कि अष्टलक्ष्मी ?

प्रचण्ड प्रधानमन्त्री भएपछि एमालेले राष्ट्रपति र सभामुख लिनेछ । नेताहरूले ती पदहरुबारे छलफल गर्दै जाने बताए पनि प्रचण्ड र ओलीबीच भद्र सहमति भइसकेको छ । यस्तोमा अब एमालेले राष्ट्रपतिमा कसलाई अघि सार्ला भन्ने थप चासो बढेको छ ।

नेकपा एमालेका नेताहरूका अनुसार एमालेले राष्ट्रपतिका लागि पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष समेत रहेका सुवास नेम्वाङलाई राष्ट्रपतिका लागि अघि सार्ने निश्चित जस्तै छ । त्यसो त एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि एमालेका केही नेताले राष्ट्रपतिका रुपमा अघि सार्ने सम्भावना छ । तर अहिलेको अवस्थामा शाक्य भन्दा नेम्वाङ बढी उपयुक्त हुने नेताहरुको बुझाई छ ।

‘अहिलेको अवस्थामा राष्ट्रपति त्यस्तै खालको व्यक्ति हुन जरुरी छ । त्यसका लागि नेम्वाङ उपयुक्त पात्र हुनुहुन्छ’, अध्यक्ष ओली निकट एक नेता भन्छन्, ‘उहाँको विगतको भूमिकाले पनि अहिले उहाँ नै उपयुक्त पात्र बन्न सक्नुहुन्छ । यद्यपि फागुनमा मात्रै राष्ट्रपति परिवर्तन हुने भएकाले अहिले नै व्यक्तिबारे बोल्न उपयुक्त नहोला ।’

त्यसो त  नेपालको संविधानले दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक पुनः राष्ट्रपति बन्न नपाउने व्यवस्थाले हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको ठाउँमा नयाँ व्यक्ति राष्ट्रपति बन्ने निश्चित छ । यद्यपि नयाँ राष्ट्रपतिको निर्वाचन फागुनमा मात्रै हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप