विदेशमा ठूला कम्पनीबाट यसरी ठगिन्छन् नेपाली
आइतबार, ०३ माघ २०७२, १० : ४५
सिडनी – करिब सात वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी एक नेपाली चेली रेश्मा (नाम परिवर्तन) यति बेला हृदयविदारक शारीरिक र मानसिक पीडाका साथै कानुनी र आर्थिक समस्याबाट गुज्रिरहेकी छन् । अस्ट्रेलियामा घटेका तीन भिन्दाभिन्दै घटनाले उनको र परिवारको जीवन यतिबेला निकै कष्टमय भएको छ । एकातिर स्वास्थ्य समस्याबाट उनी गुज्रिरहेकी छन्, अर्कोतिर आर्थिक अभावका कारण उचित कानुनी सल्लाह लिन सकिरहेकी छैनन् । आमाको स्वास्थ्य स्थितिमा गडबड भएका कारण उपचारका लागि नेपाल गएका श्रीमान् पनि केही समय अस्ट्रेलिया फर्किन सक्ने छैनन् । अस्ति १० तारिखका दिन आमाको स्वर्गारोहण भयो । अब सामाजिक परम्पराअनुसार काजकिरिया सकेर मात्रै ऊ अस्ट्रेलिया फर्किनेछन ।
घटना नम्बर– १ (५ मे २०१३) उनी कामबाट घर फर्कंदै थिइन्, सिड्नीको फाइभ डकको प्यारामाटा रोडमा उनी कार दुर्घटनामा परिन् । पछाडिको कारले उनको कारलाई जोडले धक्का दियो, फलस्वरुप उनको कार अगाडिको कारसँग ठोक्किन पुग्यो । उक्त कारण उनको टाउको आफ्नै कारको स्टेरिङमा ठोकिन पुग्यो । पुलिस र प्यारामेडिक्सले उनीहरूको उद्दार तथा चेकजाँच गरे । उक्त घटनाले तनाव दिइरहेका कारण हप्ता–दिनभित्रै उनी डाक्टरकोमा चेकजाँच गर्न गइन् । चेकजाँच पछि डाक्टरले उनलाई काउन्सिलिङका लागि रिफर गरे पनि उनी काउन्सिलिङ सेवा लिन भने गइनन् । घटना– २ जनवरी २०१२ मा हुन्डाईको डिलरबाट हुन्डाई कार तर टोयोटाको फाइनान्स सेवा प्रयोग गरेर रेश्माले कार किनिन् । उनले कुनै पनि पेमेन्ट मिस नगरीकन लगातार कारको ऋण तिरिन् । अगस्ट २०१४ मा रेश्मा अस्ट्रेलियाको एउटा प्रमुख बैंकमा ऋणका लागि बुझ्न गइन् । रेश्माको राम्रै आम्दानीको स्रोत हुँदाहुँदै पनि बैंकले उनलाई ऋण दिन अस्वीकार गर्यो । ऋण स्वीकृत नहुँदा रेश्मा छक्क परिन् । आयस्रोत राम्रै थियो । उनी एउटा फुल टाइम र अर्को पार्ट टाइम काम गर्थिन् । अस्ट्रेलियाको पिआर पनि पाइसकेकी थिइन् । रेश्मालाई आफूले कारको ऋण पनि तिरिसकेको जस्तो लागेको थियो । क्रेडिट हिस्ट्रीमा खासै समस्या नहुनुपर्ने । रेश्माले टोयोटाको डिलरमा फोन गरिन्, आफूले लिएको ऋण तिर्न बाँकी छ कि छैन भनेर बुझ्न । टोयोटाको एउटा कर्मचारीले उनले २०१२ मा लिएको कारको ऋण गत महिना (जुलाई २०१४) नै तिरिसकेको तर उनको अर्को ऋण भएको कुरा बतायो । नयाँ भनिएको झन्डै ६५ हजार डलर बराबर पर्ने कारको ऋण उनले कहिल्यै पनि लिएकी थिइनन् । रेश्माको होस–हवासै गुम्यो, के गर्ने के नगर्ने, ठम्याउनै सकिनन् । सेप्टेम्बरको पहिलो हप्ता उनले टोयोटाको डिलरले ऋणका लागि तयार पारेको केही कागजात हात पार्न सफल बनिन् । उनी छक्क परिन् । नजिकै बस्ने उनले चिनेकै नेपाली साथीले पो कार किनेका रहेछन् । टोयोटाले कसरी बनायो डकुमेन्ट ? अभिषेक र उनकी श्रीमती श्रुति (नाम परिवर्तन) ले आफ्नो भएको कार बेचेर नयाँ कार किन्ने निर्णय गरे । टोयोटाको डिलर र अभिषेक दम्पतीबीच कुरा मिल्यो । पुरानो र नयाँ कार दुवैको मोलमोलाई भयो । उनीहरू कार किन्न राजी भए । १७ जुलाई २०१३ का दिन टोयोटाको बिजनेस म्यानेजरबाट पÞmाइनन्स स्वीकृत भएको सन्देश पाइन् श्रुतिले । १३ अगस्ट २०१३ मा श्रुतिको नाममा कार दर्ता गरिएको प्रमाण सुरक्षित छ । रातोपाटीलाई प्राप्त प्रमाणअनुसार श्रुतिले उक्त कार २०१३ को १३ देखि १६ अगस्टमा किनेको देखिन्छ । उक्त डिलरका म्यानेजरले १७ जुलाईका दिन श्रुतिलाई सवारी चालक अनुमतिपत्र र दुइटा पे स्लिप लिएर आउन अनुरोध गरे । उनले फेरि २३ अगस्ट २०१३ मा सोही अनुरोध गरेर श्रुतिलाई इमेल गरेका छन् । २५ अगस्ट २०१३ मा श्रुतिले आफ्नो सिकारु सवारीचालक अनुमतिपत्र पहिले नै विशेस कारणले सम्बन्धित निकायमा फिर्ता बुझाइसकेको व्यहोरा उक्त म्यानेजरलाई बताइन् । श्रुतिले रेश्मालाई सवारी–चालक अनुमतिपत्रको साक्षी बसिदिन टोयोटाको डिलरमा गइदिन अनुरोध गरिन् । २८ अगस्ट २०१३ मा श्रुतिको अनुरोधमा रेश्माले आफ्नो सवारीचालक अनुमतिपत्र र दुईवटा पे स्लिप लिएर श्रुतिकै नयाँ कारमा चढेर उक्त डिलर गइन् । रेश्माले साक्षीको कागजातमा दस्तखत गरिन् । अनि, दुइटा पे स्लिप र सवारीचालक अनुमतिपत्रको प्रतिलिपि पनि दिएर उनीहरू सँगै घर फर्किए । खास कुरा के हो त ? प्राप्त कागजातअनुसार पाँच वर्षका लागि ५१ हजार नौ सय २४ डलरको ऋणको कागजात बनाएको छ टोयोटाको उक्त डिलरले, पुरानो कारको मूल्य घटाएर । सेप्टेम्बर २, ४ र ६ तारिखमा बनाएका कागजपत्रमा दस्तखत गर्न रेश्मा कहिले पनि टोयोटाको डिलरमा नगएको बताउँछिन् । रेश्माले टोयोटालाई त्यो दस्तखत रेश्माले नै गरेको हो भनेर प्रमाणित गर्न पनि चुनौती दिएकी छन् भने अर्कातिर त्यो दस्तखत रेश्माको होइन भनेर प्रमाणित गर्न उनले फोरेन्सिक निकायबाट प्रमाणित गरेर देखाउनुपर्ने छ । किनभने, टोयोटाले पनि रेश्मालाई उक्त दस्तखत छलकपट गरेर लिएको हो भनेर प्रमाणित गर्न चुनौती दिएको छ । रेश्मा टोयोटाको उक्त डिलरका कर्मचारीले श्रुतिलाई कार बेचे पनि कार कहाँ छ भन्दै उनलाई सोध्ने र नबताए अदालत लाने भन्दै मानसिक तनाव समेत दिएको बताउँछिन् । उक्त घटनाका कारण मानसिक तनावले उनी केही महिना काममा पनि जान सकिनन् । धेरै मानसिक तनाव भएपछि रेश्मालाई अस्ट्रेलियामा बस्नलाई पनि डर लाग्न थाल्यो । त्यसपछि उनी सधैँका लागि नेपाल नै गएर आफ्नै जन्मभूमिमा बाँकी रहेको समय बिताउने उद्देश्यले केही समयपछि नेपाल गइन् । तर, अन्य विशेष कारणले गर्दा झन्डै एक महिनापछि अस्ट्रेलिया फर्किन् । कार, कारको बिमा श्रुतिको नाममा छ । उनको बैंक खाताबाट ऋणको किस्ता टोयोटा फाइनान्सले असुली गरिरहेको छ । टोयोटाले ऋण असुली गर्न (डारेक्ट डेबिट ) ग्राहकलाई भराएको फारममा बैंक खातामा रेश्माको नाम राखेको छ । तर, ब्रान्च नम्बर र खाता नम्बरचाहिँ श्रुतिको राखेको छ । घटनाको सम्पूर्ण प्रकृति हेर्दा केही कैफियत देखिन्छ । श्रुति जसले कार किनेकी हुन्, उनी अहिले नेपालमा छिन् । उनका श्रीमान् अभिषेक आफूहरूले कुनै गल्ती, छलकपट नगरेको र आफ्नो कुनै संग्लनता नभएको बताउँछन् । अभिषेक दम्पतीले टोयोटाको डिलरमा बोलाइएको आकस्मिक बैठकमा पनि आफ्नो कुनै संग्लग्नता नभएको कुरा रेश्माकै अगाडि बताएका थिए । रेश्मा पनि अभिषेक दम्पतीको कुनै संग्लनता छैन भन्नेमा नै विश्वास गर्छिन् तर पनि उक्त घटनाका कारण दूरी भने बढेको छ । यसले पनि टोयोटाका कर्मचारीले केही गडबड गरेको देखिन्छ । रेश्माले लेगल एडबाट कानुनी सहायता लिइरहेकी भए पनि लेगल एडले यस्तो प्रकृतिको घटनामा धेरै कानुनी सहयोग पुर्याउन नसक्ने बताइसकेको छ । प्राप्त पत्रअनुसार टोयोटाले कार फिर्ता लिने र बाँकी रहेको ऋण मिनाहा गर्न इच्छुक छ, जुन रेश्मा र श्रुतिलाई भन्दा टोयोटालाई नै बढी नाफामूलक देखिन्छ । यो घटनासँगै टोयोटाले उक्त कार फिर्ता लागिसकेको छ । टोयोटाको म्यानेजरले ऋणका लागि तयार पारेको कागजात छलकपट गरेर तयार पारेको हो भनेर पुष्टि गर्न सकेको खण्डमा भने केही क्षतिपूर्ति दिन टोयोटा राजी भएको छ । तर, यो प्रमाणित गराउन रेश्माले फोरेन्सिक निकायबाट प्रमाणित गराउनुपर्नेछ, जसका लागि कम्तीमा पनि पाँच हजार डलर लाग्ने छ । क्षतिपूर्ति पाउनका लागि स्वास्थ्य विज्ञबाट चेकजाँच गराउन पनि केही खर्च लाग्ने छ । सबै खर्च हेर्दा कम्तीमा पनि १० हजार डलर खर्च सुरुवातमा नै लाग्ने देखिन्छ । अर्कोतिर यो कार्यमा संलग्न कर्मचारी अहिले कहाँ र के गर्दै छ भनेर पत्ता नलागेको कारण ऊबाट क्षतिपूर्ति भराउन पनि कठिन छ । घटना ३ जनवरी २०१५ मा रेश्मा जिमबाट घर फर्किने क्रममा बाटो काट्दै गर्दा एउटा गाडीले उनलाई नराम्रो गरी हान्यो । कारले हानेर झन्डै दुई–तीन मिटरजति तल पुर्याएको थियो, रेश्मालाई । बाटो काट्ने पालो पैदल यात्रीको नै थियो । हरियो बत्ती पनि पैदल यात्रीका लागि बलेको थियो । उनी पैदल यात्रीका लागि छुट्याइएको रेखाबाटै बाटो काटिरहेकी थिइन् । उक्त दुर्घटनाका कारण उनको दिमागमा ठूलो चोट लाग्यो । उनको शरीर रगताम्य भएको थियो । धेरैले माया मारिसकेका थिए । एम्बुलेन्सले लिएर गयो, सिड्नीको रोयल प्रिन्स अल्फ्रड अस्पताल क्याम्पर डाउनमा । केही समयको उपचारपछि उनलाई डिस्चार्ज गरियो । दुर्घटना गराउने कारले नक्कली साक्षी देखाएको बताउँछिन् रेश्मा । सो घटना एकजना नेपाली अभिभावकले देखेको तर, उनले साक्षी बस्न नमानेको बताउँछिन् रेश्मा । ती अभिभावक तत्कालीन समयको नेपाली अभिभावक समूह एस्पिÞmल्डका अध्यक्ष रहेको पनि रेश्मा दाबी गर्छिन् । उनले जे देखेका थिए, भनिदिएको भए आफुले अहिले लड्दै गरेको कानुनी लडाइँमा मद्दत पुग्ने रेश्मा बताउँछिन् । साधारणतः यस्ता घटनामा कारको गल्ती हुने देखिए पनि रेश्मालाई उक्त कारको इन्सुरेन्स कम्पनी एनआरएमएले कार बनाउन लागेको खर्च भराई गराउने व्यहोराको पत्र पठाएको थियो । इन्सुरेन्सको उक्त पत्रको कारण थप मानसिक तनाव भएको बताउँछिन् रेश्मा । हाल रेश्मा नियमित रूपमा मानसिक रोग विशेषज्ञ, नसा विशेषज्ञलगायत अन्य विशेषज्ञको हेरचाहमा छिन् । उनी अझै पनि बायाँ आँखाले धमिलोपन देख्ने र सफासँग देख्न नसकेको बताउँछिन् । उनको दिमागमा लागेको चोट पूरै निको भइसकेको छैन । रातोपाटीलाई प्राप्त मेडिकल तथ्यले पनि यही देखाउँछ । अहिले इन्सुरेन्सको डाक्टरले उनलाई विभिन्न चेकजाँच गरिरहेको छ । उनको नियमित चेकजाँच त त्यसै पनि छँदै छ । सिड्नीनजिकै उनी आफ्नो सानो परिवारको साथ बस्छिन् । आफूलाई यस्तो समस्या आइलाग्दा पनि उनी छोरीको भविष्यबारे निकै सचेत देखिन्छन् । सार्वजनिक विद्यालयमा अध्ययन गरिरहेकी उनकी छोरीले यो वर्ष मात्रै ३५ वटा पुरस्कार ल्याएर आमालाई गर्व गर्ने मौका दिइन् । अलिक पहिले रेश्माले पोखरामा एउटा वृद्धाश्रम खोल्ने उद्देश्यले थोरै जग्गा पनि किनेको बताउँछिन् । अशक्त, अनाथ, बुढाबुढी, अपांग, एड्स रोगबाट ग्रसित थुप्रै नेपालीलाई रेश्माले सहयोग गरेको कुरा रेश्मालाई नजिकैबाट चिन्ने उनका साथीभाइ बताउँछन् । असहायलाई दिल खोलेर सहयोग गर्ने रेश्मा अहिले आफैँ सहयोगको खोजीमा छन् । हुन त यति लामो समयसम्म उनले समुदायको सहयोगको अपेक्षा पनि गरिनन् । आफ्ना लागि आफैँ लडिरहेकी थिइन् । तर, अब परिस्थिति त्यस्तो रहेन । वार्षिक झन्डै ७५–८० हजार डलरको आयस्रोत भएकी उनी अहिले प्रत्येक हप्ता सेन्टरलिंकबाट प्राप्त हुने तीन सय डलरमा जीवन गुजारिरहेकी छन् । रेश्मा अहिले २८ हप्ताकी गर्भवती पनि छन् । उनको अवस्थालाई मध्यनजर गरेर डाक्टरहरूले अलिक अगाडि नै बच्चा जन्माउने योजना बनाएको बताउँछिन् रेश्मा । सहयोग गर्न इच्छुक व्यक्तिहरूले यो इमेल ठेगानामा सम्पर्क गर्न सक्नुहुने छ । [email protected]खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण