सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

महतोले भने, ‘प्रधानमन्त्रीको विशेष आग्रहमा मात्र काठमाडौ आएको हुँ’

आइतबार, ०३ माघ २०७२, १७ : ५२
आइतबार, ०३ माघ २०७२

काठमाडौं – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफू प्रधानमन्त्रीको विशेष आग्रहमा काठमाडौ आएको बताएका छन् । आफू दिल्लीबाट सिधै मधेश जाने योजनामा रहेको तर प्रधानमन्त्री ओलीले फोन गरेर काठमाडौं आउन विशेष आग्रह गरेपछि आफू दिल्लीबाट काठमाडौ आएको उनले बताएका हुन् । दिल्लीबाट आइतबार काठमाडौं फर्किएका अध्यक्ष महतोले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री ओलीले मधेशको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । समस्या समाधान गर्ने पक्षमा हामी पनि छौं । प्रधानमन्त्रीले समास्या समाधान गर्छु भनेपछि मात्र आएको हुँ । यदि समस्या समाधान भएन भने फेरि मधेशमा जान्छु र आन्दोलन गर्छु, अहिले नै केहि बिग्रेको छैन ।’ उनले पटक–पटक उधारोमा सहमति भएको तर यसपटक उधारोमा सहमति नहुने कुरा दोहोराउँदै भने, ‘यदि कसैले यसपटक उधारोमा सहमति गरेर ठग्छु भनेर नसोच्दा हुन्छ ।’ उनले यसपटक समस्याको समाधान गर्न र सहमति गर्न काठमाडौ आएको पनि बताए । प्रधानमन्त्री ओलीसँग भेटीसकेपछि भोली काँग्रेसका सभापति सुशिल कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि भेटेर छलफल गर्ने उनले बताए । ‘मुख्य एजेण्डा भनेको सीमांकन नै हो, सीमांकन नै नहुने गरि, सिमांकन नै धराप पर्ने गरि सहमति हुँदैन,’ उनले भने, ‘हामीले मधेशमा दुई प्रदेश भनेका छौ । त्यसमा सहमति गर्छौं ।’ पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकनको टुग्यांउछ भने कुरा मलाई थाहा छैन । कार्यदलले के–के सहमति गरेको छ । मैले कुरा गरेपछि मात्र थाह हुन्छ । कुनै पनि संयन्त्र षड्यन्त्रका लागि हुनुहुँदैन ।’ उनले सीमांकनको समस्या समाधानका लागि केही समय लाग्न सक्ने तर त्यसको विश्वासिलो आधार दिए मात्र कुरा अगाडि बढाउन सकिने बताए । उनले भारत पनि नेपालको समस्या चाँडै समाधान होस् भने चाहेको पनि सन्देश सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप