सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सडकबाट : प्रहरी अधिकारीको गुनासो : हाम्रो पीडा पनि जनताको भन्दा कम कहाँ छ र ?

आइतबार, ०३ माघ २०७२, १५ : १४
आइतबार, ०३ माघ २०७२

जयबहादुर चन्द, डिआइजी नाकाबन्दी अहिलेको समस्या हो । कुनै निश्चित वर्ग या व्यक्तिमात्र नाकाबन्दीको मारमा परेको होइन । हामी प्रहरी पनि आम सर्वसाधारणजस्तै हौँ । केहि फरक होला तर जीवन कम कष्टकर छैन । खान–हिँड्न हामीलाई पनि सहज छैन, त्यसमाथि डियुटीमा खट्नुपर्छ । अत्यावश्यक भनेर सरकारी कामका लागि केहि पेट्रोल दिन्छन् । व्यक्तिगत प्रयोगका लागि आफैँ जुटाउनुपर्छ । सर्वसाधारणले झैं लाइनमा बसेर पेट्रोल लिन्छौँ । पम्पले पेट्रोल नदिएको अवस्थामा हामी पनि सार्वजनिक गाडीमा कोच्चिएर यात्रा गर्न बाध्य हुन्छौँ । कहिले हिँड्छौँ पनि । थाहा छ, जनताले हावा गफ फैलाउँदै हिँडेका छन् कि प्रहरीहरु पहुँचवाला हुन् । तेल ग्यासको अभावले प्रहरीलाई फरक नै परेको छैन । यो एकदमै गलत हो । हाम्रो ब्यारेकमा एक सय ५० जना बस्छौँ । सबैका लागि दैनिक खाना बनाउनुपर्छ । झण्डै एउटा ग्यास सिलिण्डर चाहिन्छ, कहाँबाट ल्याउनु हामीले ? सर्वसाधारणले जस्तै हामीले पनि दाउरामै पकाएर खाइरहेका छौँ । दाउरा नपाएको बेलामा होटलमा गएर खाना खानुपर्ने अवस्था आएको छ । महँगी पनि उस्तै छ । हामीलाई मात्र कसैले सुलभ मूल्यमा सामान दिँदैनन्, महँगै तिरेर दैनिक उपभोग्य वस्तु किनिरहेका छौँ । मानिसहरु भने कागले कान लग्यो भने भन्दैमा कान छाम्नुको सट्टा कागको पछि लागेर प्रहरीको छविमाथि दाग लाग्ने खालका हल्ला फिजाउँदै हिँडेका छन्, दुःख लाग्छ ।

पिताम्बर अधिकारी, ललितपुर एसएसपी भारतले प्रहरी र आम जनता छुट्याएर नाकाबन्दी लगाएको होइन, तसर्थ प्रहरीहरु पनि आम सर्वसाधारणझैं नाकाबन्दीको असर भोगिरहेका छन् । ग्यास आपुर्ति सहज छैन । हामीलाई एक÷दुईवटा सिलिन्डरले पुग्ने पनि होइन । ललितपुर जिल्ला प्रहरी कार्यालयमा दुई सय प्रहरी बस्छन् । हाम्रो घर भनेकै ब्यारेक हो । एक दिनको खाना बनाउन एउटा सिलिण्डर चाहिन्छ । हामीमाथि पहुँचवाला भन्ने आरोप छ । तर दैनिक एउटा सिलिण्डर ल्याएर खाना बनाउन सक्ने अवस्था छैन । आगोमा दाउरा बालेर नै पाकिरहेको छ । कामको लागि भए सरकारले कुपनमा पेट्रोल दिन्छ । व्यक्तिगत प्रायोजनका लागि आफैँ मिलाउनुपर्छ । सर्वसाधारणझैँ लाइनमा बसेर तेल लिन्छौँ । जनताले दिमागबाट भ्रम निकालेर फालिदिए हुन्छ । ग्यास डिपोमा सामान्य झै–झगडा भैरहन्छन् । पालो मिचामिच हँुदा ग्यास वितरण प्रभावकारी हुन सकेको छैन । प्रहरीले आफन्तका लागि ग्यासमा झेल गरे भन्ने जनगुनासाहरू आएमा छन् । व्यक्तिगत चिनजानको भरमा कसैले यस्तो गरेका होलान् तर प्रहरी भएकै भरमा शक्ति दुरुपयोग गरि कुनै प्रहरीले जनताको अधिकार खोसेका छैनन् । बिनाप्रमाण प्रहरीमाथि दोषारोपण नगर्न आम जनतालाई मेरो आग्रह छ । रेशम बोहरा, मंगलबजार प्रहरी प्रभाग प्रमुख हामी प्रहरीलाई देशको अभिन्न अंग भनिएको छ । हाम्रा जिम्मेवारीहरु पनि उत्तिकै ठूला छन् । जिम्मेवारीका अलावा हाम्रो छुट्टै व्यक्तिगत जीवन पनि छ । खानुपर्छ हिँड्नुपर्छ । नाकाबन्दीमा सर्वसाधारणको जस्तै हाम्रो जीवनयापन पनि तनावपूर्ण छ । कामको लागि त सरकारले पेट्रोल दिन्छ । गाडीमा डिजेल पनि हालिदिन्छ । व्यक्तिगत प्रयोगका लागि आफैले व्यवस्था गर्नुपर्छ । ड्युटी मिलाएर रातभरि लाइनमा बस्छौँ तेल हाल्छौँ । खाना पकाउन पनि समस्या उस्तै त हो नि । हाम्रो ब्यारेकमा ६६ प्रहरी बस्छन् । दिनहुँ ६६ जनाको खाना पकाउने इन्धन जुटाउनुपर्छ । ग्यास छैन । धुवाँ उडाउँदै दाउरामा खाना पकाएर खाएका छौँ । आफुलाइ स्वाभिमानी भन्ने प्रहरीलाई पहुँचवाला भन्दै गालीगलौज र ‘फोकट’का हल्ला फिजाउँदै हिँड्ने जनताले साँझ बिहान आएर हाम्रो भान्सामा हेरे हुन्छ । हाम्रो जीवन पनि उस्तै कष्टकर बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप