सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अचेत रहेका प्रजातन्त्र सेनानी जोशीलाई राज्यले देखेन

आइतबार, ०३ माघ २०७२, १५ : ४९
आइतबार, ०३ माघ २०७२

चितवन - पञ्चायती व्यवस्थाविरुद्ध लागेकै कारण आठ वर्ष प्रवासी जीवन बिताएका र सर्वस्वहरणमा परेका ९२ वर्षीय प्रजातन्त्र सेनानी नारायणप्रसाद जोशी लामो समययतादेखि अचेत अवस्थामा छन् ।

विसं २०५३ मा पक्षघात भएपछि ओछ्यानमै रहनुभएका जोशी पाँच वर्षयता बोल्न पनि सक्नुहुन्न । पछिल्लो समय दिसामा रगत देखिएपछि उनी भरतपुर अस्पतालमा उपचाररत छन् ।

अस्पतालका वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार आन्द्रामा कतै घाउ भएका कारण रगत देखिएको अनुमान गरिएको छ । औषधिले रगत रोकेपछि उनको स्वास्थ्य सुधार हुँदै गइरहेको डा खतिवडाले बताए ।

छ दिनअघि भरतपुर अस्पतालमा भर्ना हुनुभएका जोशीलाई तीन दिन सघन उपचार कक्षमा राखेर अहिले ‘क्याविन’मा सारिएको छ ।

विगतमा विद्यार्थी नेतासमेत रहनुभएका जोशीका कान्छा छोरा अभिमन्युका अनुसार हालसम्म उनलाई पार्टी र सरकारले कुनै सहयोग गरेको छैन । विसं १९७९ मा पर्वतको कुश्मामा जन्मिनुभएका जोशीले २००७ सालको आन्दोलनमा श्रीभद्र शर्मासँगै पश्चिम नेपालको गोरखा, तनहुँ क्षेत्रको नेतृत्व गरेका थिए ।

जेठो छोरा गोविन्दका अनुसार उहाँ २०१४ सालमा चितवनको गौरीगञ्जमा आठ विघा जग्गा लिएर त्यहीँ बसोबास गर्न थालेका थिए । विसं २०१७ मा राजा महेन्द्रले ‘कु’ गरेसँगै जोशी परिवार प्रवासी हुन पुग्यो । भारतको नरकटीयागञ्जमा आठ वर्ष बस्दा तत्कालीन पञ्चायती शासनले उनको सर्वस्वहरण ग¥यो ।

प्रवासबाट फर्किएपछि २०२६ सालमा जोशी परिवार पश्चिम चितवनको दिव्यनगरको खद्रौलीमा बसोबास गर्न थाल्यो । पञ्चायती शासनको विरोधकै क्रममा मोर्चा गर्न २०३३ सालमा जोशी परिवार कुश्मामा बसोबास बस्न थाल्यो । गोविन्दका अनुसार कुश्मामा परिवारले थापेको किराना पसल तत्कालीन पञ्चले लुटेर जोशी परिवारलाई खेद्यो ।

त्यसपछि काठमाडौँ पुग्नुभएका जोशीलाई २०४६ सालमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले पर्वत जिल्ला समितिको कावा सभापतिको रुपमा पठाएको थियो । त्यसपछि २०४८ सालमा जिल्ला अधिवेशन गरेर जोशी पुनः सभापति भए ।

त्यसको केही वर्षपछि नै थला पर्नुभएका जोशी अहिले पनि अचेत नै छन् । जोशीका तीन छोरा र चार छोरी छन् । जोशीकी ८२ वर्षीया श्रीमती सुनदेवी पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् रहेका थिए ।

छोरा अभिमन्युका अनुसार गोपालमान श्रेष्ठ ९ज्वाइँ० मन्त्री रहँदा उनको उपचारका लागि राज्यका तर्फबाट सहयोगको प्रक्रिया अगाडि बढेको भए पनि त्यसले मूर्त रुप लिन पाएन । जोशीले राज्य र पार्टीका तर्फबाट कुनै पनि सहयोग पाउनुभएको छैन ।

यसैबीच, नेपाली काँग्रेस केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गरी जोशीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप