सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मूल्य घटेपछि बोधिचित्त माला चीन लैजाने तयारी

आइतबार, ०३ माघ २०७२, १५ : ५७
आइतबार, ०३ माघ २०७२

बनेपा - बोधिचित्त मालाको फल करोडौँ मूल्यमा खरिद गरेर नाफा कमाउने आशामा बसेका काभ्रेपलाञ्चोक बोल्देफेदिचे– २ का चन्द्रध्वज लामा अहिले तनावमा छन् । उनले आफूले किनेको बोधिचित्तको माला पैठारी हुन नसकेपछि आफ्ना छोरामार्फत चीन लगेर बेच्ने तयारीमा छन् ।

“चिनियाँ लामा नेपाल आउँछन् तर बोधिचित्तको मालाको मूल्य असाध्यै कम दिन थालेका छन्” जिल्लाको तिमाल क्षेत्रका पुराना व्यवसायी लामाले भने । चीनमा लाग्ने महोत्सवमा स्टल बुकिङ्को तयारी भएको उल्लेख गर्दै उद्योग वाणिज्य सङ्घ, धुलिखेलबाट चीनमा व्यापार गर्न जानका लागि आवश्यक प्रक्रिया थालेको उनले बताए । उनले बोल्देफेदिचे– २ मौरेभञ्जाङ्मा रहेका ३२ बटा बोधिचित्त रुखबाट बनेका पाँच हजार ८५ थान माला रु एक करोड ४७ लाखमा विसं २०७२ असारमा खरिद गरेका थिए । तर त्यसबाट लगानी गरेको रकम भने उठेन । “रु ९५ लाख मात्रै आर्थिक कारोबार भयो” उनले भने ।

लगानी गरेको रकम उठ्न नसक्दा लामा तनावमा रहेको बताए । बोधिचित्त मालाको कारोबारका कारण थप समस्या सिर्जना हुनलागेको उनको भनाइ छ । स्थानीय धनबहादुर तामाङको जमिनमा रहेको बोधिचित्तको रुख एक वर्षका लागि लामाले खरिद गरेका हुन् । एउटा रुखमा कम्तीमा दुई किलोदेखि तीस किलोसम्म बोधिचित्तको फल उत्पादन हुने गरेको छ ।

बुद्ध धर्माबलम्बीले प्रयोग गर्ने बोधिचित्त मालाको पहिचान जिल्लाको तिमाल क्षेत्रको लामाहरुले धेरै बर्ष पहिले गरेका थिए । यसको फलअनुसार मूल्य कायम भएको जानकारी दिँदै लामाले ८ एमएमकोलाई रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म र त्यो भन्दा सानो भए त्यसको दर घटने बताउनुभयो । बोधिचित्त मालाको फलको जति धेरै मुख हुन्छ त्यति नै धेरै मूल्य पर्छ ।

फूल र पातसँगै आउने बोधिचित्तमा जेठ महिनाको पहिलो साताबाट फल लाग्न थाल्छ । साउन १५ पछि यसको फल टिपेर प्रशोधन गरी माला तयार गरिन्छ । जिल्लाको तिमाल क्षेत्रको संस्र्युखर्क, मेच्छेपौवा, कानपूर, खार्पाचोक, चापाखोरी, सरमथली, मेथिनकोट, ठूलोपर्सेल, नारायणस्थानलगायतका गाविसमा सबैभन्दा बढी बोधिचित्त खेती हुनेगरेको छ ।

जिल्ला वन अधिकृत प्र्रेम खनालले प्रवद्र्धनका लागि रु सात लाख बराबरको बोधिचित्तको बिरुवा वितरण गरेको बताए । जिल्लामा चार लाख ८० हजार किलो बोधिचित्तको फल उत्पादन हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप