सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लाखौँ रुपैयाँ ठगेर एफएम सञ्चालक फरार

सोमबार, ०४ माघ २०७२, १० : ४१
सोमबार, ०४ माघ २०७२

झापा - झापा, इलाम र पाँचथरका २०औँ युवाबाट लाखौँ रुपैयाँ ठगी गरेर झापाका एक सञ्चार उद्यमी फरार भएका छन् ।

झापा शनिअर्जुन– ४ निवासी चन्द्रप्रसाद ढुङ्गेल गत २०७२ जेठदेखि फरार छन् । उनले शुभलारी मिडिया प्रालिको नाममा दुवागढी–४ चारआलीमा ग्लोवल एफएम ९५।४ मेगाहर्ज सञ्चालन गरी रोजगारी दिने बहानामा २०औँ युवालाई ठगेको पीडितले बताएका छन् ।

जागिर दिने सर्तनामा गराएर रु २० हजारदेखि रु एक लाखसम्म सात जनाबाट ठगी गरेको पीडित मनिषा बुढाथोकीले बताउनुभयो । ढुङ्गेलले एफएम सञ्चालन गर्न सुरु गरेदेखि नै विभिन्न व्यक्तिबाट रकम उठाउन सुरु गरेको र लाखौँ रुपैयाँ झापासहित इलाम, पाँचथरका झन्डै ५० जनालाई ठगी गरेको बुढाथोकीले बताए । उनले इलाम र पाँचथरबाट एफएममा काम गर्न आएकाहरुलाई जनही रु एक लाख धरौटी राख्न लगाएर उक्त रकम नदिई फरार भएको बताइएको छ ।

आफ्नो रेडियोको नाम भजाएर उनले दमक क्षेत्रबाट मात्रै रु तीन चार लाख ठगी गरेको दमकका एक सञ्चारकर्मीले बताउनुभयो । मेची नगरका प्रतीक न्यौपाने र युवराज आचार्यसँग जनही रु एक–एक लाख ठगेको पीडितले बताएका छन् ।

त्यसैगरी लीला खरेल,कल्पना खेवा,सन्ध्या श्रेष्ठ, सावित्रा सुवेदीसँग जनही रु २०–२० हजार ठगेको पीडित लीलाले बताउनुभयो । यसअघि नै पीडितले कारबाहीका लागि प्रहरीमा उजुर गरे पनि उनी फेला परेका छैनन् । कहिले काठमाडौँ कहिले इटहरी, कहिले दमक, कहिले शनिअर्जुन क्षेत्रमा लुकीछिपी बस्दै गरेका उनी अहिले कहाँ छन् पत्तो नभएको पीडित खेवाले उल्लेख गरे ।

एफएम सञ्चालन गरेको घरको भाडा नतिरेपछि अहिले एफएम कार्यालयमा घरमूलीले तालाबन्दी गरिदिएका छन् । उक्त घरको भाडाबापतको मोटो रकमसमेत उनले भुक्तानी नगरेको बुझिएको छ । बहाना बनाउन र मान्छेलाई बसमा पारेर ठगी गर्न ढुङ्गेल खप्पिस रहेको पीडितको भनाइ छ । जिल्ला प्रशासनमा उजुरी गरेपछि उनी पक्राउ पर्ने र आफ्नो ठगिएको रकम असुली हुने विश्वास आफूहरुले लिएको एक पीडितले बताए ।

यसैबीच श्रम कार्यालय मेचीका प्रमुख दयानन्द नेपालले किटानीसहितको निवेदन दर्ता भएपछि ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने र कानुनी प्रक्रिया सुरु हुने बताए उनले किटानीसहितको रकम ठगी गर्ने व्यक्तिबाट असुलउपर गरिने व्यवस्था भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप