सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नाकाबन्दीको असर : वीरगन्ज भन्सारलाई ३३ अर्ब र सुख्खा बन्दरगाहालाई २ अर्बको घाटा

सोमबार, ०४ माघ २०७२, ११ : ०२
सोमबार, ०४ माघ २०७२

वीरगन्ज – मधेसी दलले गरेको अनिश्चितकालिन मधेश बन्द र नाकाबन्दीका कारण चालु आर्थिक वर्षको पाँच महिनामा भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्य पूरा गर्न वीरगंज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय दुवै असफल भएका छन् । पाँच महिनामा भन्सार विभागले वीरगंज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाहालाई दिएको लक्ष्यमा भन्सार कार्यालयलाई ३३ अर्बको घाटा लागेको छ भने सुख्खा बन्दरगाहालाई २ अर्बको घाटा लागेको छ । बन्द हडताल र नाकाबन्दीका कारण चालु आर्थिक वर्ष २०७२/०७३ को भदौ देखि पुष अन्तिम सम्म पाँच महिनाको अवधीमा वीरगन्ज भन्सार कार्यालयलाई राजश्व संकलनमा ३३ अर्ब ३८ करोड ८२ लाख ३७ हजार रुपैयाँ घाटा भएको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाइ पाँच महिनाको अवधीमा ४० अर्ब ५२ करोड ९५ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । तर भन्सार कार्यालयले लक्ष्यको १७ प्रतिशत मात्र अर्थात सात अर्ब १४ करोड १३ लाख सात हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको भन्सार कार्यालयका सुचना अधिकारी सुशील शर्माले बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुष महिनामा भने लक्ष्यको शुन्य दशमलव ४५ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । पुष महिना मात्रै भन्सार कार्यालयलाई आठ अर्ब २६ करोड ८२ लाख १३ हजार रुपैयाँ घाटा भएको हो । विभागले पुष महिनामा आठ अर्ब ३० करोड ५९ लाख नौ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले तीन करोड ७६ लाख ९६ हजार रुपैयाँमा मात्र संकलन गरेको छ । यस्तै गत मंसिर महिनामा भन्सार कार्यालयले लक्ष्यको एक दशमलव ३५ प्रतिशत अर्थात ११ करोड १८ लाख १४ हजार मात्र राजश्व संकलन गरेको छ । विभागले मंसिरमा भन्सार कार्यालयलाइ आठ अर्ब ३० करोड ५९ लाख नौ हजार संकलन गर्न लक्ष्य दिएको थियो । मंसिरमा भन्सार कार्यालयलाइ आठ अर्ब ९९ करोड ४० लाख ९५ हजार घाटा भएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा भने लक्ष्यको एक प्रतिशत मात्र राजश्व संकलन गरेको छ । कात्तिक महिना मात्रै भन्सार कार्यालयलाइ सात अर्ब २३ करोड १९ लाख १६ हजार रुपैयाँ घाटा भएको छ । भन्सार विभागले कात्तिकमा सात अर्ब ३० करोड ५९ लाख नौ हजार रुपैयाँ संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले सात करोड ३९ लाख ९३ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको भन्सार कार्यालयका सुचना अधिकृत सुशील शर्माले बताए । यस्तै गत असोज महिनामा विभागले सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले लक्ष्यको २५ प्रतिशत अर्थात दुइ अर्ब ६४ लाख ६७ हजार रुपैयाँ मात्र राजश्व असुली गरेको थियो । भदौमा आठ अर्ब ८२ करोड ५० लाख राजश्व संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले लक्ष्यको ५५ प्रतिशत अर्थात चार अर्ब ९१ करोड १३ लाख ३७ हजार रुपैयाँ मात्र असुली गरेको थियो । पाच महिनाको राजश्व असुलीमा परेको प्रभावका कारण विभागले दिएको वार्षिक लक्ष्य नै पुरा नहुने निश्चित रहेको भन्सार कार्यालयका सुचना अधिकृत पौडेलले बताए । चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा लक्ष्यको १३ दशमलव ५९ प्रतिशत मात्र राजश्व संकलन भएको उनले जानकारी दिए । विभागले चालु आर्थिक वर्ष २०७२/०७३ मा एक सय तीन अर्ब राजश्व संकलन गर्न लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले भदौ देखि पुष सम्म ६ महिनाको अवधीमा १४ अर्ब ४५ करोड ४६ लाख १० हजार रुपैयाँ मात्र संकलन गरेको छ । त्यसैगरी चालु आर्थिक वर्ष २०७२/०७३ को भदौ देखि पुष अन्तिम सम्म पाँच महिनाको अवधीमा सुख्खा बन्दरगाहा भन्सार कार्यालयलाई पनि राजश्व संकलनमा २ अर्ब २४ करोड १० लाख १६ हजार रुपैयाँ घाटा भएको छ । विभागले पुष महिनामा १ अर्ब ४३ करोड १८ लाख ४३ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाहा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी १ अर्ब ७० करोड १५लाख १३ हजार रुपैयाँ संकलन गरेको छ । मंसिर महिनामा सुख्खा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ४३ करोड १८ लाख ४३ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा १ अर्ब २२ करोड ७२ लाख ७१ हजार मात्र राजश्व संकलन गरेको थियो । यस्तै कात्तिकमा पनि सुख्खा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ४३ करोड १८ लाख ४३ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा १ अर्ब ११ करोड ८३ हजार रुपैयाँ मात्र संकलन गरेको थियो । गत असोज महिनामा सुख्खा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ३४ करोड २३ लाख ५२ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा ९ करोड ४४ लाख २५ हजार मात्र राजश्व संकलन गरेको थियो । असोज महिनामा सुख्खा बन्दरगाहा भन्सार कार्यालयलाई सबै भन्दा बढि घाटा भएको थियो । असोजमा बन्दरगाहा भन्सार कार्यालयले लक्ष्यको सात प्रतिशत मात्र राजश्व संकलन गरेको निमित्त प्रमुख बिष्णु ओलीले बताए । गत भदौ महिनामा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ५२ करोड १३ लाख ३३ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा ७९ करोड ५० लाख ८० हजार रुपैयाँ मात्र संकलन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप