आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधन भएकोमा मोर्चाका नेताहरु पनि भित्रभित्रै खुसी नै छन् : प्रचण्ड

आइतबार, १० माघ २०७२, १२ : ५४
आइतबार, १० माघ २०७२

काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधन भएपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु पनि खुसी बनेको दाबी गरेका छन् । आइतबार बिहान पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान संशोधनपछि अब सीमांकनको विषय मिल्ने जिकिर गरेका हुन् । प्रचण्डले भने, ‘संविधानको पहिलो संशोधनपछि मोर्चाका साथीहरु पनि भित्रभित्रै खुसी हुनुहुन्छ । तर, सीमांकन नमिलेसम्म वहाँहरु बोल्ने अवस्था नभएकाले अहिले केही बोल्नुभएको छैन ।’ शनिबार राती मात्र बहुमतले संविधानको पहिलो संशोधन विधेयक पारित गरेको छ । एमाओवादी अध्यक्षले संविधान संशोधनपछि वातावरण सहजतातिर गएको उल्लेख गदै अब सीमांकनको विषयमा पनि चाँडै सहमति हुने आशा व्यक्त गरे । उनले अब नाकाबन्दी छिट्टै सहज बन्ने पनि बताए । पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै प्रचण्डले नव प्रवेशीहरु पार्टी तेस्रो बनेको बेला साँचिक्कै काम गर्न आएको भन्दै प्रशंसा गरे । ‘हिजो ठूलो पार्टीमा व्यक्तिगत फाइदा दिन केही मान्छे आए र पछि फर्केर गए । तेस्रो पार्टी हुँदा तपाईंहरु आउनुभएको छ । तपाईंहरु काम गर्नैका लागि आउनुभएको भन्ने विश्वास गरेको छु,’ उनले भने । प्रचण्डले अर्को चुनावमा पार्टीलाई एक नम्बर बनाउने जमर्को गरेको पनि बताए ।

पेरिसडाँडामा पार्टी प्रवेश पार्टी मुख्यालय पेरिसडाँडामा राप्रपा, कांग्रेस र एमालेका कार्यकर्ता एमाओवादी प्रवेश गरेका छन् । यसरी पार्टी प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकका राम्चे गाविसका इकाई अध्यक्ष नारायण प्रसाद पौडेलसहित ९२ जना रहेका छन् । त्यस्तै नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख भुपेन्द्र विक्रम थापासहित ३ जना र एमालेको अनेरास्वव्युको कार्यवाहक जिल्ला सचिव बिमल राउतको नेतृत्वमा आधा दर्जन एमाओवादी  प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप