आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’

पक्राउ परेका १५ बङ्गलादेशी डिपोर्ट
आइतबार, २४ जेठ २०८३, २१ : २९
आइतबार, २४ जेठ २०८३

सारांश

  • कम्बोडियामा सञ्चालित स्क्याम सेन्टरमा काम गरेका १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।
  • उनीहरूले विद्युतीय माध्यमबाट ग्राहकको बैंक खातामा पहुँच बनाइ रकम चोरी गर्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ ।
  • पक्राउ परेका बंगलादेशी नागरिकलाई जरिवाना सहित डिपोर्ट गर्ने निर्णय अध्यागमन विभागले गरेको छ ।

काठमाडौँ । कम्बोडियाको झैँ ‘स्क्यामिङ सेन्टर’ चलाउने तयारी गरिरहेका १५ जना बंगलादेशी नागरिक जेठ १५ मा पक्राउ परे । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर प्रारम्भिक अनुसन्धानपछि अध्यागमन विभागको जिम्मा लगाएको थियो ।

उनीहरूले विद्युतीय माध्यमबाट बंगलादेशी र भारतीय मोडलहरूको फोटो सहितको लिङ्क ग्राहकलाई पठाउँथे । लिङ्कमा क्लिक गरेपछि व्यक्तिहरूको बैंक खातामा पहुँच बनाउने प्रयास गर्ने गरेका थिए । खातामा पहुँच बनाउन आरोपीहरूले ‘फिसिङ’ गरेर ओटीपी कोड माग्ने गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । त्यसपछि उनीहरूले खातामा पहुँच बनाएर रकम चोरी गर्ने अनि व्यक्तिहरूसँग सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

कम्बोडियामा पनि त्यसैगरी ठगी हुने गरेको थियो । उनीहरूलाई त्यहाँ चिनियाँ नागरिकले सञ्चालन गरेको स्क्यामिङ सेन्टरमा काममा लगाइएको पाइएको छ । त्यहाँको सरकारले कडाइ गरेसँगै बंगलादेशीहरू नेपाल आएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बंगलादेशीहरूलाई चिनियाँ नागरिकले कम्बोडियामा काममा लगाएको हुनसक्ने एसएसपी खड्काले बताए । उनले भने, ‘हामीले पक्राउ गरेका आरोपीहरूले चिनियाँले काममा लगाएका खुलाएका छन् तर, उनीहरू चिनियाँ नागरिकको नामसमेत भन्न सक्दैनन् ।’

स्क्याम सेन्टर सञ्चालक चिनियाँ नागरिक फरार छन् । पक्राउ परेका अधिकांश बंगलादेशी नागरिक यसअघि कम्बोडियाको स्क्याम सेन्टरमा काम गरेर नेपाल आएका हुन् । उनीहरूले प्रहरीसँगको बयानमा कम्बोडियामा चिनजान भएका चिनियाँ नागरिकले नै आफूहरूलाई नेपाल ल्याएको बताएका छन् । काठमाडौँको ठमेलमा उनीहरूले ‘द एस’ नामको होटेलको एउटा फ्ल्याट भाडामा लिएर काम सुरु गरेका थिए । भर्खरै काम सुरु गरेको हुनाले यहाँबाट ठगी गरेको विवरण फेला नपरेको एसएसपी खड्काले बताए । उनले भने, ‘हामीलाई यसमा अनुसन्धान गर्न समस्याचाहिँ के भयो भने, पीडितहरू थिएनन् सूचनाको आधारमा स्क्याम सेन्टरमा छापा मारेका थियौँ ।’

पीडित फेला नगरेको हुनाले थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान नमिल्ने भएसँगै प्रहरीले उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो । विभागले अध्यागमन ऐन अनुसार बंगलादेशीहरूलाई जरिवाना सहित डिपोर्ट गर्ने निर्णय गरेको छ । नेपाल स्थित बंगलादेश दूतावासको आग्रहमा प्रतिव्यक्ति ५ हजार जरिवाना गरेर उनीहरूलाई डिपोर्ट (निष्कासन) गरिएको अध्यागमन  विभागका महानिर्देशक रामचन्द्र तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘सबैलाई अध्यागमन कानुन अनुसार डिपोर्ट गरेका छौँ ।’

काठमाडौँमा स्क्याम गरेको रकम पनि कम्बोडिया पठाउने गरी चिनियाँ नागरिकले योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जनाअधिकृत भन्छन्, ‘ कम्बोडियामा कडाइ गरिएको र बंगलादेशकालाई नेपाल आउन र भिसाको हकमा पनि सजिलो हुने हुनाले चिनियाँले उनीहरूलाई यहाँ पठाएको देखिन्छ ।’

गत जनवरीमा कम्बोडियाले देशमा सञ्चालन भइरहेका स्क्यामिङ सेन्टरहरूमा काम गरेको आशंका गरिएका १० हजारभन्दा धेरै विदेशी नागरिकलाई त्यहाँबाट निष्कासन गरेको थियो, स्क्यामिङ र क्रिप्टोकरेन्सीमा ठगीमा संलग्न भएको आरोप लागेका चेनझी लाई चीन पठाएको थियो । अमेरिका र युकेसहितका देशहरूले स्क्याम सेन्टर सञ्चालन गरेको भन्दै प्रतिबन्ध लगाइएका झी स्वेद पुगेलगत्तै चीनमा पक्राउ परेका थिए ।

नेपाली नागरिक पनि कम्बोडियाका स्क्यामिङ सेन्टरमा पुगेको आशंका गरिएको छ । विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसाको अवधि सकिएका ६०२ जनालाई बैंककस्थित नेपाली दूतावासले स्वदेश फर्कन आह्वान गरेको छ ।

कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना शुल्क मिनाहा गराइएका ६६ जनालाई तत्काल नफर्किए कानुनी सजाय व्यहोर्नुपर्ने भन्दै आइतबार पनि दूतावासले सूचना जारी गरेर ती ६६ जनाको नाम सार्वजनिक गरेको छ । नेपाली दूतावासले अहिलेसम्म स्क्यामिङ सेन्टरमा काम गर्न पुगेका ३ सय जना नेपाली नागरिकको उद्धार गरेको बताइएको छ ।

दुई चिनियाँमाथि अनुसन्धान

यस्तै प्रकृतिको स्क्याम सेन्टर चलाएको आरोपमा प्रहरीले नक्साल स्थित नारायणचौरबाट दुई जना चिनियाँ र १५ जना नेपाली किशोरीहरूलाई पक्राउ गरेको थियो । जेठ १८ मा पक्राउ परेका किशोरीहरू जागिर खाने उद्देश्यले सो सेन्टरमा गएको खुलेपछि प्रहरीले उनीहरूलाई छाडेको छ ।

पक्राउ परेका चिनियाँहरूमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षका चेन श्वाङ्गुई छन् । उनीहरूलाई पनि प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको अध्यागमन विभागका महानिर्देशक तिवारीले जानकारी दिए ।

चिनियाँले नारायण चौरमा फ्ल्याट भाडामा लिएर ‘डेटिङ एप’ मार्फत स्क्यामिङ सुरु गरेका हुन् । गत वर्ष असारमा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोपमा ६ जना चिनियाँ सहित ५२ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप