आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

ओली सरकारको आयु धेरै छैन : संघीय समाजवादी फोरम

सोमबार, ११ माघ २०७२, १४ : ०३
सोमबार, ११ माघ २०७२

काठमाडौं – संघीय समाजवादी फोरम नेपालले वर्तमान सरकारको आयु धेरै लामो नभएको बताउँदै सरकार छिट्टै आफ्नै कारणले ढल्ने बताएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह-अध्यक्ष* राजेन्द्र श्रेष्ठले सरकारले हालसम्म जनताको हितको काम गर्न नसकेको बताउँदै सरकारका कारण देश तस्करहरुको कब्जामा पुगेको आरोप लगाए । श्रेष्ठले भने, ‘चन्द्रसूर्य रहेसम्म यो सरकार रहन्छ भन्ने होइन ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको आयु कम छ । यो सरकार आफ्नै कारणले ढल्दैछ ।’

उनले हालै गरिएको संविधान संशोधन संविधानभन्दा पनि ‘ब्याक’ हुने गरी आएको भन्दै एकलौटीरुपमा गरिएको संशोधन आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए । ‘अहिलेको संविधान संशोधनले आन्दोलनलाई थप बल पुगेको छ । अब आन्दोलनलाई थप सशक्त बनाएर जानेछौं,’ उनले भने । शुक्रबारदेखि तीन दिनसम्म बसेको पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले महिनौंदेखि जारी सीमानाका अवरोध र आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । मधेसमा जारी सीमा अवरोध र आमहड्तालको कार्यक्रमलाई जारी राख्दै फोरम नेपालले आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौ केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको छ । शुक्रवारदेखि राजधानीमा जारी फोरम नेपालको केन्द्रीय समितिको बैठक १२ बुँदे निर्णय गर्दै आइतवार सम्पन्न भएको हो । बैठकमा प्रस्तुत राजनीतिक, सांगठनात्मक र आर्थिक प्रतिवेदन सर्ब सम्मतले पारित भएको छ । ५१ सदस्यीय राजनीतिक समिति सहित चार वटा केन्द्रीय निकाय गठन गरिएको छ । मधेशमा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन काठमाडौं केन्द्रीत आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड अनुसार थप छलफल गरेर काठमाडौं केन्द्रीत आन्दोलनको रणनीति र कार्यनीति तय गरिने बताइएको छ । पार्टीले सरकार वार्तामा गम्भीर नदेखिएकोले जारी आन्दोलनलाई निर्णायक बनाउन आन्दोलन थप सशक्त पार्ने निर्णय गरेको छ ।

*सहअध्यक्ष हुनुपर्नेमा उपाध्यक्ष भएकोमा सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप