आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

BUSINESS WATCH : एनसिसिसँग मर्ज हुँदै गर्दा एपेक्सको ३६ करोड लुकाउने खेल

मङ्गलबार, १२ माघ २०७२, ११ : ३७
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं– काठमाडौंको हात्तिसारमा मूख्य कार्यालय रहेको एपेक्स डेभलपमेण्ट बैंक अव ‘क’ वर्गको वाणिज्य बैंक एनसिसी बैंकसँग मर्ज हुँदैछ । एपेक्स साढे २ वर्षअघि तीनवटा विकास बैँक तथा फाईनान्ससँग मर्ज भएको थियो । एपेक्ससँगै अहिले अन्य तीनवटा विकास बैंकहरु इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेलपमेन्ट बैंक पनि एनसिसिसँग मर्ज हुँदैछन् ।

पाँचवटा बैंक तथा वित्तीय संस्थाबीच भएको सहमतिमा एनसीसी बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्ट्रक्चरका अध्यक्ष इमानसिंह लामा, एपेक्स डेभलपमेण्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सुप्रिम डेभलपमेन्ट बैंकका अध्यक्ष चन्द्रप्रसाद बास्तोला र इन्टरनेशनल डेभलपमेण्ट बैंकक अध्यक्ष माधवप्रसाद भट्टले हस्ताक्षर गरेको पनि दुई वर्ष भईसक्यो । अहिले दुई अर्ब दुई करोड रुपैयाँ चुक्ता पुँजी भएको एनसिसी बैंकसँग चार विकास बैंक मर्ज भएपछि पाँच अर्ब तीन करोड ८३ लाख रुपैयाँको पुँजी हुनेछ । यही चुक्ता पुँजी बढाउनका लागि सरकारले बैंक तथा वित्तिय संस्था मर्जर हुने बाटो खुला गरेपछि अहिले धेरै बैंक वित्तिय संस्थाहरु मर्जरमा गईसकेका छन् । तर, बैंक–वित्तिय संस्थालार्ई बलियो बनाउन सरकारले बनाएको नियम दुरुपयोग गरेर मर्जरमा जाने बाहनामा करोडौँ घोटालाको राम्रो अवसर बनेको रहस्य खुलेको छ । एनसिसिसँग मर्जरमा जाने सम्झौता गरेको एनसिसिको ३६ करोड रुपैयाँका घोटालाको बारेमा कतै कुरा नउठेपछि बैंकको घोटाला लुकाउन मर्जर राम्रो बाहना बनेको रहस्य खुलेको हो । ‘मर्जरको समयमा नेपाल राष्ट्र बैंकले पनि बैंकमा भएका कतिपय घोटालामा लचकता अपनाउने हुनाले आफ्नो कर्तुत लुकाउन मर्जरलार्ई भाग्यमानी समयको रुपमा लिइन्छ’, आफ्नो नाम नबताउने सर्तमा हाल एक बैंकमा उपल्लो तहमा रहेका बैंकरले रातोपाटी लाई बताए । के थियो एपेक्सको ३६ करोड घोटाला काण्ड ?

करिब साढे दुई वर्षअघि एपेक्स डेभलपमेन्ट बैंक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, मध्यपश्चिमको रारा विकास बैंक र पोखराको अपी फाइनान्स सँग मर्ज भएको थियो । मर्जरकै समयमा एपेक्सले ३६ करोड घोटाला गरेको एक कर्मचारी बताउँछन् । ‘बैंकका सञ्चालकको मिलेमतोमा मर्जरको एक दिनअघि नै विभिन्न नक्कली ऋणी र कम्पनी खडा गरी रोयलका सञ्चालकले नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृत गरेका थिए’, ति कर्मचारीले भने ‘मर्जरको समयमा खराव कर्जा लगायतका बिषयमा नेपाल राष्ट्र बैंकले पनि लचकता अपनाउने गरेको छ । तर त्यहि कुराको अपव्याख्या गर्दै घोटालाको खेल सुरु भएको हो ।’

त्यही ३६ करोड र त्यस्ता आधा दर्जन काण्ड छानबिन समितिमार्फत बाहिर आउने भएपछि केही व्यक्तिको चलखेलमा अहिले साधारणसभाबाट अध्यक्ष निर्वाचित चन्द्रलाल जोशीलार्ई ‘कु’ गरेर अपदस्थ गरी सीईओ गोविन्दप्रसाद उपाध्यायलार्ई समेत लखेट्ने योजना बनाएको स्रोतको दावी छ ।

रोयलको ३६ करोड रुपैयाँ पचाउने खेलका एक प्रमुख पात्र बिष्णु धिताल अहिले एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा छन् । स्रोतका अनुसार उनले यो काण्ड बाहिर नल्याउन नेपाल राष्ट्र बैंकका कतिपय अधिकारीहरुलार्ई समेत प्रभावमा पारिसकेका छन् । धिताल नेपाली काँग्रेसको लमजुङ निर्वाचन क्षेत्र– १ का क्षेत्रीय सभापति पनि हुन् । सुशील कोइराला नेतृत्वको सरकार हुँदा उनले राष्ट्र वैंकबाट आफ्नो अनुकुल काम गराउँदै आएका थिए ।

छानविन समितिको पुष्टि

मर्जभएका बैंकहरुका विभिन्न समुहमा कुनै समूहले ३२ करोडको, कुनैले ३६ करोड तथा कुनैले ४० करोड घोटाला गरेको आरोप लाग्ने गरेको थियो । मर्जरपछि झगडाकै बीच एपेक्स डेभलपमेन्ट बैंकको साधारणसभाले चन्द्रलाल जोशीलार्ई अध्यक्षमा निर्वाचित ग¥यो ।

मर्जरको १० महिनापछि ज्योति विकास बैंकबाट ल्याएर गोविन्दप्रसाद उपाध्यायलार्ई सीईओ बनाइएपछि जोशीले ३६ करोड र यस्तै अन्य प्रकृतिका घोटालाको विषयबारे सत्य तथ्य पत्ता लगाउन र संस्थालार्ई मजबुत बनाउन भन्दै संचालक समितिका सदस्य समेत राखेर एक छानबिन समिति निर्माणका लागि पहल गरेका थिए । त्रिपुरेश्वर त्रिपाठीको संयोजकत्वमा बनेको उक्त छानबिन समितिलार्ई बैंक सञ्चालक समितिले अनियमित तवरले प्रवाह भएको कर्जाका विषयमा छानबिन गर्ने अख्तियारी दिईएको थियो ।

समितिले छानबिन गर्ने क्रममा तत्कालीन रोयल मर्चेन्टका अध्यक्ष वसन्त मल्ल र सीईओ मधुवनलाल श्रेष्ठ लगायतको समूहले नक्कली कागजातका आधारमा ३६ करोड रुपैयाँ झ्वाम पारेको प्रमाण फेला पारेर बैंकलार्ई बुझाएको छ । त्यहि समितिले समितिको अध्ययनका क्रममा मल्ल लगायतको गिरोहले संस्थागत सुशासनको नाममा ३६ करोडको काण्डलार्ई जबर्जस्त लुकाउन मर्जरको बाटो रोजेको निष्कर्ष समेत निकालेको थियो ।

त्यतिबेला मर्जरको संयोजकमा वसन्त मल्ल थिए भने त्यसको योजनाकार धिताल थिए । उनले समेत रोयल मर्चेन्टको यो समूहबाट पाँच करोड कमिसन लिएर रारालार्ई मर्जरमा सहमत गराएको आरोप पनि लाग्ने गरेको छ । छानबिन समितिले मर्ज हुनु एक दिनअघिनै ३६ करोडको ऋण प्रवाह भएको देखिएको प्रतिवेदन पेस गर्दै दोषीमाथि कारबाही गर्न तथा सोसम्बन्धी फाइल राष्ट्र बैंकमा बुझाउने सुझाव समेत दिएको छ ।

स्रोत भन्छ, ‘छानबिन समितिले ६ महिना लगाएर मिहिनढंगले छानबिन गरेको थियो । नक्कली ऋणी तथा आरोपी सञ्चालक तथा तत्कालीन मर्जर समितिका सदस्यसँग समेत बयान लिइयो । प्रतिवेदन तयार भयो र बैंकमा बुझाइयो । प्रतिवेदनका विषयमा पोखरामा छलफल आयोजना गरियो र धितालसमेत प्रमुख दोषी देखिए ।’

हुन पनि उनी मर्जर प्रक्रियाका प्रमुख योजनाकार नै थिए । मर्जरको योजना बनाउनुपछिको कारण उनले ३६ करोडबाट पाउने पाँच करोडको आफ्नो भाग सुरक्षित गर्नु थियो भन्ने आरोप लागेको थियो । ‘जब प्रतिवेदन पेस गरेर कार्यान्वयन गर्न खोजियो, तब विष्णु धितालको समूहले आफ्नो शक्ति प्रयोग गरी अध्यक्ष जोशीलार्ई हटाई धिताल अध्यक्ष भए ।’ वैंक स्रोतले भन्यो ।

घोटाला लुकाउन बैठक

घोटालाका फाईल गायव बनाउन धिताल समुहको बैठक तनहुँमा बसेको तथ्य फेला परेको छ । ‘३६ करोडलगायत थुप्रै काण्डका फाइल गायब पार्ने उद्देश्यले २७ भदौमा तनहुँमा धितालले बैंक सञ्चालक समितिको अल्पमतको बैठक समेत गराएका छन् र कम्पनी सचिव प्रदीप कर्माचार्यलार्ई हटाउने लगायतका बैंकलार्ई दीर्घकालीन असर पार्ने थुप्रै निर्णय गरेको छ’, बैठक बसेको फेसबुकमा भेटिएको तस्वीरसमेत रातोपाटीलाई पठाउँदै स्रोत भन्छ, ‘पछिल्लो समय धिताल समूहले छानबिन समितिका संयोजक त्रिपाठीलार्ई पनि आफ्नो हातमा लिइसकेका छन् ।’

२७ भदौको तनहुँ बैठकमा उनी समेत सहभागी भएको निमित्त सीईओ ऋषिराज भट्टको फेसबुकमा राखिएको तस्बिरबाट समेत प्रस्ट हुन्छ । स्रोतका अनुसार बैठकमा सुवर्ण राजभण्डारी, लोकेन्द्रमान कर्माचार्य, विष्णु धिताल, ऋषिराज भट्ट र रामचन्द्र बस्यौला पनि सहभागी थिए ।

शून्य मुल्यांकनको धितो राखेर भयो यस्तो घोटाला

छानबिन समितिको खोजीमा भीरपाखा, खोलानालाको नाममा समेत नक्कली ऋणी तथा फाइल खडा गरी ऋण प्रवाह भएको समेत फेला परेको थियो । समूहले एनबीएस सुपरमार्केटको नाममा दुई करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । जब कि ऋणका लागि धितो राखिएको जग्गा नदी किनार रहेको पत्ता लागेको छ । पछिल्लोपटक धितोमा उल्लिखित जग्गा खोज्दै जाँदा त्यसको मूल्यांकन शून्य देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै एक सञ्चालक समितिका सदस्यले सञ्चालन गरेको काठमाडौँको सम्पूर्ण काष्ठ उद्योगको नाममा समेत तीन करोड ऋण प्रवाह भएको देखिएको छ । त्यसको धितोमा समेत जग्गा राखिएको छ ।

पछिल्लो समय छानबिन समितिले खोज्दै जाँदा तीन करोड ऋणका लागि राखिएको धितोमा उल्लिखित जग्गामा वागमती नदी फेला परेको स्रोत बताउँछ । नयाँ बानेश्वरको बादसाह फुडल्यान्डलार्ई समेत समूहले साढे दुुुई करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ । सम्बन्धित ऋणीलार्ई सोध्दा उनले आफूले ऋण नै नलिएको छानबिन समिति समक्ष बयान दिएका छन् । यसको अर्थ धिताल समूहले नक्कली ऋणी खडा गरेर अरूको नाममा समेत ऋण लिएर पचाउन खोजेको देखिएको छ ।

पार्टीको काममा बैंकको भरपाइ ठुलो घोटाला मात्र होइन धितालले सानातिना काममा पनि ¥याल काड्ने गरेको देखिएको छ । उनले आफू लमजुङ काँग्रेसको सभापति हुन्छु भन्दै जिल्ला आउँदा–जाँदाको खर्चको बिलसमेत बैंकबाटै भर्पाइ गर्ने गरेको स्रोतको दावी छ । ‘आफ्नै गाडी भएपनि लमजुङ जाँदा र आउँदा गाडी भाडा भनेर एक दुई हजारमा समेत उनले ¥याल काड्ने गरेका छन् । पार्टीको काममा लमजुङमा गएर सानदार होटेलमा बसेको बिलसमेत बैंककै नाममा आउने गरेको छ ।’ स्रोतले रातोपाटीलार्ई बतायो ।

कमिसन खाएर कर्मचारी भर्ना

मर्जरपछि विष्णुले कमिसन खाएर आफू अनुकूलका ४२ कर्मचारीलार्ई बैंकमा भर्ना गरेको आरोप लागेको थियो । अहिले तिनै कर्मचारीलार्ई आफू अनुकूल प्रयोग गरिरहेको स्रोत बताउँछ । उनले अहिले शाखा प्रबन्धक तथा ऋण अधिकृतहरूमा आफ्ना लाईनका मान्छेलार्ई सरुवा–बढुवा गरी कर्मचारी प्रशासनभित्र हस्तक्षेप गरिरहेको पनि उनीमाथि आरोप छ । अनावश्यक हस्तक्षेप, सरुवा–बढुवाका कारण निष्पक्ष ढंगले काम गर्ने कर्मचारी पनि आतंकित बन्ने अबस्था आएको कर्मचारीहरु बताउँछन् ।

अर्को मर्जरका नाममा घोटाला लुकाउने प्रयास

यसरी यस अघिकै मर्जरमा समेत घोटाला भएको तथ्यलार्ई अवको नयाँ मर्जर हुने सम्झौता गरिसक्दापनि खास निचोड दिईएको छैन । दोषीलार्ई कारवाही गर्ने काम भएको छैन भने नेपाल राष्ट्र बैंकले पनि उचित कदम चालेको छैन । मर्जरको समयमा घोटाला सम्बन्धी छानबिन गरेर मात्र अगाडी बढ्नुपर्ने राय धेरैको छ । तर यस विषयमा सम्बन्धित निकाय मौन छ । केहि समयपछी एपेक्स विभिन्न बैंकसँग मर्ज हुने सम्झौता भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप