आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

महाधिवेशनका लागि वातावरण बनाइदिन काँग्रेसका सांसदको मोर्चालाई आग्रह

मङ्गलबार, १२ माघ २०७२, १९ : २७
मङ्गलबार, १२ माघ २०७२

काठमाडौँ - मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका २१ सांसदले पार्टीको आसन्न १३ औँ अधिवेशन गर्ने वातावरण सहज बनाइदिन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेका छन् ।

ती सांसदले आज संयुक्त विज्ञप्ति जारी गरी पार्टीको वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला र केन्द्रीय अधिवेशन शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न तराई मधेसमा जारी आन्दोलनरतलगायत सबै राजनीतिक दल, नेपाल सरकार, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी र पेसाकर्मीसँग आग्रह गरेका हुन् ।

विज्ञप्तिमा हालै भएको संविधानको पहिलो संशोधनले तराई मधेसमा जारी आन्दोलनका पक्षका प्रमुख मागलाई सम्बोधन गरेको हुँदा प्राप्त उपलब्धीहरुलाई सकारात्मकरुपमा लिँदै सीमाङ्कन, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषालगायतका अन्य विषय वार्ता, छलफल र सार्थक संवादबाट समाधान गर्न सकिने र यसका लागि नेपाली काँग्रेसले अग्रसरता लिने कुरामा आन्दोलनरत पक्षलाई विश्वस्त बन्नसमेत आग्रह गरेको छ ।

काँग्रेसकै अगुवाईमा संशोधन विधेयक पेस भएको र परिमार्जनसहित पारित भएको भन्दै अन्य विषय सार्थक सम्वादबाट समाधान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

विज्ञप्तिमा केन्द्रीय सदस्य विमलेन्द्र निधि, आनन्दप्रसाद ढुङ्गाना, फर्मुल्हा मन्सुर, डा गणेश मण्डल, सोनादेवी यादवसहित २१ सांसदको हस्ताक्षर रहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप