आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

गौतमबुद्धको जन्मस्थल नेपाल बाहिर रहेको लेखिएका पाठ्यपुस्तक सच्चाउन लिखितपत्र

मङ्गलबार, १२ माघ २०७२, १९ : ३७
मङ्गलबार, १२ माघ २०७२
काठमाडौँ -  गौतमबुद्धको जन्मस्थल नेपाल बाहिर रहेको भनी कतिपय पाठ्यसामग्रीमा देखिएका त्रुटि सच्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लिखित पत्र पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व महाशाखाले यही माघ ६ गते परराष्ट्र मन्त्रालयमार्फत जुन जुन देशको पाठ्यपुस्तकमा गौतमबुद्ध नेपाल बाहिर रहेको भनी उल्लेख छ सो सच्चाउन लिखितपत्रमा पठाएको हो । पत्रमा सिद्धार्थ गौतमबुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र यसै तथ्यलाई स्वीकार गर्दै युनेस्कोले सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ । तर विभिन्न अन्तर्राष्ट्रिय निकायमा नेपालको प्रतिनिधित्व गरी मित्रराष्ट्रका प्रतिनिधिसँग छलफलको क्रममा बुद्धको जन्मस्थल नेपाल बाहिर भएको भन्ने भ्रामक कुरा आउने गरेको उल्लेख छ । उक्त भ्रामक कुरा एवम् पाठ्यपुस्तकमा हुने गरेका त्रुटि सच्याउन नेपालसँग कूटनीनिक सम्बन्ध भएकामध्ये संयुक्त राज्य अमेरिका, चीन, जापान, श्रीलङ्का, थाइल्यान्ड, भारत र नेदरल्यान्डमा भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्यविपरीत हुने गरी कुनै प्रकाशनरप्रसारण नगर्न, अभिलेख नराख्न र गरिएको वा राखिएको भए सच्याउन पत्रमार्फत अनुरोध गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को हालैको निर्णयपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशमा पत्र पठाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भगवान् गौतमबुद्ध नेपालमा जन्मिएको भन्ने तथ्य हुँदाहँुदै पनि मित्रराष्ट्रको पाठ्ययपुस्तकमा गलत तथ्य कायम रहेकाले सच्याउन सो पत्र पठाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप