आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नाकाबन्दी खोल्ने विषयमा मोर्चा विभाजित

मङ्गलबार, १२ माघ २०७२, १९ : ५९
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं – सीमानाका अवरोध गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र संविधान संशोधनपछि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा मतभेद देखिएको छ । मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने चर्चा चलिरहँदा यस्तो मतभेद सार्वजनिक रुपमा देखापरेको हो । मंगलबार रिर्पोटर्स क्लब नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका दुई शीर्ष नेताले नाकाबन्दी खोल्ने विषयमा फरक मत प्रस्तुत गरे । मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताए तर महामन्त्री जितेन्द्र सोनलले संविधान संसोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको बताएका हुन् । अध्यक्ष यादवले भने,‘ नाकाबन्दी भएको लामो समय भईसक्यो । यसले जनजीवन कष्टकर भईसक्यो । आन्दोलन लामो भईसकेकोले अब स्वरुप परिवर्तन गर्नु पर्छ । दुई चार तीन दिनमा बस्ने मोर्चाको बैठकले माघ १८ गते पछिको आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना छ । यसरी आन्दोलन गरेर भएन अब नयाँ ढंगले शसक्त बनाउनु पर्छ ।’ यादवले अबको आन्दोलन तराईमात्रै केन्द्रीत नभई पहाड र हिमालसम्म पुर्याएर राष्ट्रिय एकता कायम गर्ने दावी गर्दै आफूहरुले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्षमा जाने र त्यो बेला आन्दोलन आफूहरुको हातमा नरहने चेतावनी दिए ।

तर, महामन्त्री सोनलले भने संविधान संशोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपागाण्डा मच्चाउनुको तुक नभएको बताए । उनले अहिलेको संसोधनले आफूहरुको मागको एउटा विन्दु पनि छुन नसकेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने भए पनि अब मधेसी जनताको विचमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे । त्यस्तै महागठबन्ध बनाउने विषयमा पनि दुई नेताबीच फरक मत देखियो । यादवले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पारे । उनले भने,‘ मधेसमा नौ दलको गठबन्धन छदैछ त्यसमा अरु दललाई ल्याएर विस्तार गरे हुन्छ । महागठबन्धन निर्माणको आवश्यकता छैन ।’

यता सोनलले भने मधेसमा महागठबन्धन बन्ने भन्दै महागठबन्धन निर्माण गरेर तीन दलीय निरकुंशता विरुद्ध एक जुट भएर लड्ने बताए । उनले महागठबन्धन निर्माणको लागि कार्यदिशा समेत तय भईसकेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप