सडकबाट : साना करदाताको गुनासो–राज्यलाई बुझाएको कर नेता पाल्न रहेछ
कर, राज्यलाई अनिवार्य रुपमा बुझाउने पर्ने रकम । जागिर, व्यवसाय वा लगानीबाट प्राप्त मुनाफाको अंश, करको नाममा राज्यलाई बुझाउनुपर्छ । देश विकास तथा जनताको आधारभूत आवश्यकता पूरा गर्नुपर्ने राज्यको दायित्वसँग करदाताले तिर्ने करको सम्बन्ध हुन्छ । तर, विशेषगरी साना करदाता आफुले तिरेको कर सहि ठाउँमा प्रयोग नभएको बताउँछन् । इश्वर श्रेष्ठ, व्यवसायी हाल म नयाँ बानेश्वरमा शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) चलाईरहेको छु । राज्यले कुल आम्दानीमध्येको एक चौथाई करको रुपमा लिनेगर्छ । कर तिर्नु व्यवसायीको दायित्व भएकाले र कतिपय ठाउँमा कर तिरेको प्रमाणनै पेश गर्नुपर्ने हुनाले पनि हामीले नियमित रुपमा कर बुझाइरहेका छौं । तर, बिगत एक दशकदेखिको मेरो व्यवसायको अनुभवमा हामीले तिरेको कर कतै पनि सहि रुपमा उपयोग भएजस्तो लाग्दैन । बिगत लामो समयदेखि हामीले तिरेको कर देशका ६०१ नेतालाई पाल्नमात्र काम लागिरहेको जस्तो लाग्छ । कर तिरेपछि जनताले आधारभूत आवश्यकताको लागि लडाई गर्नु नपर्ने हो । तर देशको स्थिति दिनानुदिन बिग्रिएको महसुस गरेका छौं । घरमा ग्याँस छैन । कार्यालयमा बत्ति छैन । कतै जान पेट्रोल छैन । छ त अभाव मात्रै । लामो समयदेखि देशमा बिकास निर्माणका काम हुन सकेका छैनन् । भएका कामहरु पनि भूकम्पले तहसनहस पारेको अवस्थामा हामीले तिरेको करको सरकारले सहि रुपमा उपयोग गरेको छ जस्तो लाग्दैन । शैक्षिक परामर्श दिने भएकाले पनि मेरो भेट दिनहुँ सयौंको संख्यामा विदेश जान खोज्ने नागरिकहरुसँग हुन्छ । यतिबेला विदेश जानु रहर होइन वाध्यता बनेको गुनासो पोख्छन् उनीहरु । देशमा अवसर भएन, राजनीतिक खिचातानीले देश बर्बाद बनायो भन्छन् । उनीहरुको कुरा सोर्है आना ठिकजस्तो लाग्छ । देश अफ्ट्यारो स्थितिमा छ तर हामीले तिरेको कर सहि रुपमा उपयोग भएको छैन । विदेशमा कर तिर्ने नागरिकलाइ आफ्नो व्ययसाय छोडिसकेपछि वा आफ्नो जागिरबाट अवकास लिईसकेपछि सरकारले उसका आधारभूत आवश्यकता पूरा गरिदिन्छ । तर, नेपालमा त कर तिर्ने भनेकै आगामी दिनहरुमा केहि काम गर्नुपर्यो भने चाहिने करचुक्ताको प्रमाणपत्रको लागि र नेपालका नेता पाल्नका लागि मात्र हो जस्तो लाग्छ । यहि कारणले पनि कतिपय व्यवसायीहरुले कर तिर्ने गरेका छैनन् । कर तिर्नुपर्ने प्रमाण चाहिएको बेलामा मात्र उनीहरु कर तिर्छन् । कर तिर्नुपर्छ भन्ने भावना नै छैन । बरु कर कसरी छल्ने भन्ने कुराको ध्यान हुन्छ अधिकांस व्यवसायीलाई । नहोस पनि किन ? जव राज्यले जनतालाई चाहिने आवश्यक कुराहरु पनि दिन सक्दैन भने । राज्यले यस बिषयमा सोच्नुपर्छ । ठुलो व्यवसाय गर्नेहरुका बारेमा त थाहा भएन तर हामीजस्ता सानो व्यवसाय गर्ने र साना करदाताको रुपमा रहेकाहरुलाई राज्यले न्याय गर्न सकेको छैन । नितेश रावल, व्यवसायी मैले व्यवसाय गर्न थालेको केहि बर्ष मात्र भएको छ । व्यवसाय सुरु गरेदेखि नै विभिन्न शीर्षकमा कर तिर्दै आएको छु । कम्पनी दर्तादेखि कार्यालयको लागि चाहिने कोठा लिँदासम्म अनेकौं शीर्षकमा राजश्व तिर्नुपर्यो । त्यसमा पनि व्यवसाय गरेको एक बर्ष नपुग्दै नेपाली आर्थिक बर्ष सकिएकाले कर तिर्नुपर्यो । कम्पनीको मुनाफाको एक चौथाई नै राज्यलाई कर बुझाउनु पर्नेरहेछ । कम्पनी फाइदामा नहुँदा पनि न्युनतम कर तिर्नुपर्ने रहेछ । यसरी करका नाममा व्यवसायबाट पटकपटक विभिन्न शीर्षकमा राज्यलाई कर बुझाउनुपर्छ । तर, हामीले बुझाएको कर सहि ठाउँमा उपयोग भएको छैन । हाम्रो अवस्था यस्तोसम्म छ कि बाइकमा पेट्रोल नभएर हिड्दै कर बुझाउन जानुपर्छ करदाता सेवा कार्यालयमा । अफिसमा बत्ति नभएर इन्भर्टरको लाइनमा कम्प्युटर चलाएर करविवरण बुझाउनुपर्छ । यहाँभन्दा दुःखलाग्दो कुरा अरु के नै हुन सक्छ र ? जनताले राज्य मेरो हो भन्ने आभाष गर्ने पाएका छैनन् । हामीले तिरेको कर नेता, मन्त्री पाल्न मात्र काम लागेको छ । देशमा लोडसेडिङको यो उग्र रुप हुँदापनि जनताको समस्या समाधान गर्नुपर्नेमा देशका प्रधानमन्त्री हावाबाट बिजुली निकाल्ने ’हावा’ कुरा गरिरहेका छन् । धारामा पानी छैन । घरमा बत्ति छैन । बाइकमा पेट्रोल छैन । भएको जेनेरेटरमा डिजेल छैन । भान्सामा ग्याँस छैन । समग्रमा जनता आफ्ना आधारभूत आवश्यकताका लागि नै लडीरहेका छन् । तर, कर बुझाउने दायित्वलाई सरकारले निकै नै कडाइ गरिरहेको छ । सरकारले जनताको न्युनतम आवश्यकता पूरा गरिदिने हो भने त कर तिर्न पनि गुनासो हुँदैनथ्यो । तर सरकार कर उठाउँछ र जनतालाई देखिनेगरी केहि दिन सकेको छैन । यहि कारणले पनि करदाताहरुलाई सकभर कर तिर्नु नपरे हुन्थ्यो भन्ने लाग्छ । आफुले तिरेको करमा मन्त्री र नेताहरुले गरेको मोजमस्ती देख्दा निकै नै दुःख लाग्छ । राजु शर्मा, व्यवसायी
करको त के कुरा गर्नु ? नाम जस्तै करैले मात्र तिर्नु पर्ने हो । त्यसको बदलामा सरकारले केहि दिन सकेको छैन । हामीले तिरेको करले त नेता मोटाउने हुन् । मन्त्री मोटाउने हुन् । जनताको स्थिति जहाँको त्यहीं छ । देशको समस्या ज्युँका त्यूँ छ । विकास निर्माण त परै जाओस, जनताका आधारभूत आवश्यकताहरु समेत पूरा भएका छैनन् । डिजेल, पेट्रोल र ग्याँसको लाइनमा बस्नु जनताको दैनिकी भइसकेको छ । हामीले तिरेको करको दुरुपयोग भइरहेको जस्तो लाग्छ । म कम्प्युटर तालिम दिने संस्था चलाउँछु । बत्ति छैन कसरी काम गर्नु ? बत्तिको विकल्पको रुपमा महँगो पैसा तिरेर जेनेरेटर ल्याएँ, तर त्यसमा हाल्न पनि तेल छैन । बजारमा तेल त छ, तर महँगो छ । सरकारले कालोबजारीलाई नियन्त्रण गर्न सकेको छैन । ब्ल्याकमा तेल किनेर काम गर्दा फाइदा हुँदैन । र, त्यसको विकल्प पनि छैन । कर तिर्ने बेलामा सबैजसो पत्रिकामा सुचना निकालेर कर नतिरे कारवाही गर्छु भन्ने चेतावनी सरकारले दिईरहेको हुन्छ । हुन त कर तिर्नु व्यवसायीको दायित्व हो । तर त्यसको बदलामा राज्यले पनि जनताले तिरेको करलाइ न्याय गर्नुपर्दथ्यो, जुन सरकारले गर्न सकेको छैन । त्यसले हामीजस्ता साना करदातामा असन्तुष्टी छ । प्रस्तुति : सुरज प्याकुरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण