आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

यु–१९ टोलीको जीतपछि पारसको प्रतिक्रिया : १० वर्षपछिको जीतले धेरै संभावना देखाएको छ

बिहीबार, १४ माघ २०७२, १५ : ४१
बिहीबार, १४ माघ २०७२

काठमाडौं - बंगलादेशमा जारी अन्डर १९ विश्वकपमा नेपालले न्युजिल्याण्डलाई ३२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । यसमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको प्रतिक्रियाः नेपाली युवा टोलीको जीतले अत्यन्तै खुसी लाग्यो । प्रतियोगितामा यस्तो सुरुआत दुर्लभ हुन्छ । शुरुआती खेलमै टेस्ट मान्यताप्राप्त देश विरुद्ध प्रतिस्पर्धा गर्न पाउनु र त्यस्तो देशलाई हराएर अघि बढ्नु भनेको नेपाली क्रिकेटका लागि राम्रो समाचार हो । अन्तिमपटक हामीले नै प्लेट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डलाई हराएका थियौँ । त्यसको १० वर्षपछि युवा खेलाडीहरुले यसरी प्रतियोगिताको सुरुआती खेलमै न्युजिल्याण्डलाई हराएको सुन्न पाउनु गर्वको कुरा हो । यो टिमबाट एकदमै आशा गर्न सकिन्छ । भविष्य एकदमै उज्वल छ । तर खेलाडीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय चुनौतीपूर्ण छ । अहिलेको टोलीमा संभावना धेरै छ । तर मैले पहिल्यैदेखि भन्दै आएको छु,ः अन्तर्राष्ट्रिय जगत्मा बलियो बन्न घरेलु क्रिकेटको संरचना बलियो बनाउने हो । यस टिममा रहेका कप्तान राजु रिजाल र आरिफ शेखसँग यसअघि नै राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ । राष्ट्रिय टोलीमा पनि उनीहरुको प्रदर्शन लोभलाग्दो छ । यसबाहेक पनि टोलीमा व्यापक संभावना छ र थुप्रै क्षमतावान् खेलाडीहरु छन् भन्ने पुष्टि यस खेलले गरेको छ । यस्तो सुरुआत गरिसकेपछि मेहिनेत गरेर अघि बढ्ने हो भने प्रतियोगितामा अझै अघि बढ्न सकिन्छ । अहिले हामी राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी पनि यु–१९ खेलेरै आएका हौ । भविष्यमा यो टोलीका थुप्रै खेलाडीले पनि राष्ट्रिय टोलीमा आफ्नो क्षमता देखाउन सक्छन् । को खेलाडी राम्रो र कुन खेलाडीले अहिल्यै राष्ट्रिय टोलीमा स्थान पाउँछ भन्ने विषयको टुंगो सायद यू–१९ विश्वकपको समाप्तिपछि लाग्ला । अहिले त्यसको विश्लेषण गर्ने बेला भएको छैन । अहिलेका लागि पुरै टोलीले राम्रो खेलेको छ र मलाई यसमा निकै गर्व छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप