बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘जनताको भोट पाउन पैसाले हुँदैन, मन जित्ने कुरा हो’

मध्यम, उच्च र शहरिया वर्ग माओवादीप्रति नकारात्मक देखिए : अमनलाल मोदी
सोमबार, १८ पुस २०७९, १४ : १६
सोमबार, १८ पुस २०७९

माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी मधेसी तथा थारू समुदायबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचन जित्ने माओवादीका एक्ला सांसद हुन् । उनी यसपाली मोरङ–४ बाट विजयी भए । एक पटक समानुपातिक र दुई पटक प्रत्यक्ष निर्वाचित भएका मोदी २०७० साल, २०७४ साल र २०७९ सालको निर्वाचनमा गरी ३ पटक प्रतिनिधि सभा सदस्य भएका छन् । 

मन्त्री बन्ने प्रवल दाबेदारका रुपमा छन् उनी । खरो, प्रष्टवक्ता रहेका सांसद मोदीले अवको ५ बर्ष परिणाम दिने गरी काम गर्ने बताएका छन् । प्रस्तुत छ, समसामयिक विषयमा रातोपाटी संवाददाता शम्भु दंगालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

तेश्रो पटक संसदको यात्रा गर्दा कस्तो अनुभव गर्नुभएको छ ? 

प्रत्येक पटक संसदमा आउने प्रक्रियालाई फरक फरक तरिकाले हेरिरहेको छु । २०७० को संविधानसभामा समानुपातिकमा आउँदा त्यतिखेर भर्खरको युवा थिएँ, त्यतिबेलाको संसद यात्रा अलि फरक थियो । त्यतिबेला यो देशबाट उत्पीडित वर्ग, समुदाय, किसान मजदुर, मधेसी, थारू, मुस्लिम, आदिबासी जनजाति, महिला, उत्पीडनमा परेका खस आर्य जोे बर्षौदेखि अन्यायमा परेका थिए । ती अन्यायमा परेकाहरुलाई संविधानमा न्याय दिनुपर्छ भन्ने मेरो एजेण्डा संविधान सभाका बेला थियो । 

दोश्रो पटक विराटनगर जस्तो ठाउँबाट त्यहाँका जनताले जिताए । दोश्रो कार्यकालमा जनताका लागि विकास कसरी गर्ने, मेरो निर्वाचित क्षेत्रमा देखिएका समस्यालाई कसरी संसदमा पुर्‍याउने भन्नेमा केन्द्रीत रहें । त्यो पटक पनि मेरा नयाँ एजेण्डा नै थिए । 

यो तेश्रो पटक मैले अझै नयाँ एजेण्डाहरु देखेको छु । संसदमा जति पटक आएको छु, नयाँ एजेण्डाहरु नै लिएर आएको छु । पहिला संविधान सभामा निर्वाचित भएका बेला एकै प्रबृत्तिका साथीहरु हुनुहुन्थ्यो, अहिले नयाँ नयाँ प्रबृत्ति र पात्रहरु आउनु भएको छ । उहाँहरुसँग पहिले सहयात्रा छैन, यो पटक पेचिलो ढंगले संसदको यात्रा अघि बढ्न सक्ने महसुस भइरहेको छ । 

जनताको भोट पाउन पैसाले पनि हुँदैन, मन जित्ने कुरा हो । अझ मध्यम, उच्च र शहरिया वर्ग माओवादीप्रति नकारात्मक देखिए ।

खर्चको हिसाबले, राजनीतिक हिसावले प्रत्यक्ष तर्फको चुनाव लडेर जित्न कत्तिको गाह्रो हुँदो रहेछ ?  

पहिलो कुरा माओवादी पार्टी कुनै समयमा जनयुद्धबाट आएको पार्टी हो । जनताले अपार विश्वास गरेर २०६४ सालमा धेरै मत दिएको पार्टी हो । हाम्रै कालखण्डमा कैयौँ कुरा गर्न नदिइएपछि हामीप्रति आशावादी भएका जनतामा निराशा छायो ।  

जनताको भोट पाउन पैसाले पनि हुँदैन, मन जित्ने कुरा हो । अझ मध्यम, उच्च र शहरिया वर्ग माओवादीप्रति नकारात्मक देखिए । त्यो मनोविज्ञान किन भयो भने राज्यका जति संरचना छन्, सामाजिक संरचनाहरु सबै एमाले, काँग्रेसको होल्डमा छन् । चाहे टोल संगठन होस्, चाहे सहकारी होस्, चाहे वन समिति होस्, चाहे स्कुल व्यवस्थापन समिति होस्, चाहे निजामतितिर होस् । बोर्डिङ स्कुलको मालिकदेखि स्वास्थ्य क्षेत्रका मालिक अनि एनजिओ, आइएनजिओ यी सबैको संरचना एमाले र काँग्रेसको पकडमा छ ।  

हाम्रो यस्तो कुनै संरचना छैन, त्यो अवस्थामा हामी चुनाव लड्नुपर्ने अवस्था छ । न्यायालय, संवैधानिक आयोगमा उहाँहरुको प्रभाव छ, यस्तो अवस्थामा चुनाव लड्नुपर्दा हामीलाई त्यसैपनि कठिन हुन्छ । माओवादीको कठिन आन्दोलनका कारण परिवर्तन भएको, नयाँ संविधान जारी भएको कुरा हामीले जनतामा पुर्‍याउन सकिरहेका छैनौँ । 

यद्यपि म शहरिया जनमतबाट विराटनगरबाट निर्वाचित भएको छु । माओवादीका बारेमा सिर्जना गरेका केही भ्रमहरु चिर्न सफल भएको छु । 

यसअघिको तपाईंको संसदीय यात्राको अनुभवमा एउटा सांसदको रुपमा के गर्न सकिँदो रहेछ ? के गर्न नसकिने रहेछ ?   

सांसद भएपछि जनताका धेरै ससाना समस्यामा पनि जोडिनुपर्ने हुन्छ । जस्तो कोही मान्छे अस्पताल लानुपर्ने भयो, भर्नादेखि डिस्चार्जको बेला त्यहाँ केही छुट गर्नुपर्ने भयो । त्यसका लागि सिधै सांसदको खोजी हुन्छ । 

कोही व्यक्ति अन्यायमा पर्‍यो, जिल्ला प्रहरी कार्यालय वा प्रहरी चौकीमा सांसद नै खोज्ने कार्य हुन्छ । अरु समस्यामा पनि जनताले सांसद खोज्नुहुन्छ । म सकेसम्म जनताका सबै समस्यामा जोडिन प्रयत्नरत छु । कोरोना महामारी लगायतका कारण पछिल्लो २ वर्षमा भने जनताका लागि सोेचेअनुसार काम गर्न सकिएन । 

माओवादी केन्द्रमा मधेसी तथा थारू समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसदको रुपमा हुनुहुन्छ । पार्टीमा तपाईंको भूमिकालाई पार्टीले कसरी मूल्याङ्कन गरेको छ ? 

पार्टीले राम्रो सोचेका कारण नै मलाई पटक पटक उम्मेदवार बनाएको छ म पटक पटक सांसद भएको छु । पार्टीमा म भन्दा धेरै सिनियर कमरेडहरु हुनुहुन्छ, जनयुद्धमा सँगै नेतृत्व गरेका कमाण्डरहरु हुनुहुन्छ । म भन्दा माथिल्लो पदमा रहेका व्यक्तित्वहरुले अझैसम्म पनि राजकीय पद पाउनुभएको छैन  । यद्यपि मलाई जिम्मेवारी दिइएको छ, पार्टीले मेरो भूमिकालाई मूल्याङ्कन गरिरहेको छ । 

माओवादी आन्दोलनलाई स्थापित गरेर जाने एउटा सुनौलो अवसर अहिले आएको छ । यसबेला सिधै जनतासँग जोडिने कुरा, जनताका मुद्धा अगाडि बढाउने कुरा, विकास, जनजीविका, न्यायको कुरालगायत माओवादीको गिरेको साखलाई कसरी उठाउने चिन्तन हुनुपर्छ ।

तर तपाईंको खास मूल्याङ्कन भए जस्तो लागेन । जबकि अघिल्लो संसदको कार्यकालमै मन्त्रीको दावेदार हुनुहुन्थ्यो । यो कार्यकालमा तपाईंले कुनै मन्त्रालय सम्हाल्नेबारे कुराकानी भएको छ ? 

जो निर्वाचित भएर सांसदको रुपमा संसदमा आइपुग्छन्, स्वतः सबै मन्त्रीका दावेदार हुन् । त्यस बारेमा बनाउने वा नबनाउने कुरा पार्टीको हो । 

पार्टीमा अध्यक्षसँग यसबारे कुराकानी भएको होला नि ? 

पार्टीले को नेता सक्षम छ चिन्ने कुरा भइहाल्छ । अहिले मेरो एउटा मिसन छ, चाहे मन्त्रीको रुपमा सरकारमा होस् या सामान्य सांसद भएर होस्, हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड हुनुहुन्छ, उहाँको प्रधानमन्त्रीको कार्यकाललाई कसरी सफल बनाउने, माओवादी आन्दोलनलाई उठाउनका लागि सहयोगीको भूमिका खेल्ने एउटा मेरो संकल्प छ । 

तर समुदाय, क्षेत्रको भेगीय हिसाबले पनि पार्टीको सद्भाव त होला नि मन्त्री बनाउने ।    

पक्कै पनि, यसो हेर्दै गर्दा तपाई भनेकै कुरा हो जस्तो पनि लाग्छ । यो कुरा मैले भन्नु भन्दापनि पार्टी नेतृत्वले सोच्दै होला । किनभने पार्टी नेतृत्वबाट नै सबै कुरा निर्धारण हुन्छ । 

म फेरि पनि भन्छु कि माओवादी आन्दोलनमा एउटा संकट छ, माओवादीको बारेमा जुन भ्रमको खेती भइरहेको छ, जुन भ्रम समाजमा फैलाइएको छ, त्यो भ्रमलाई कसरी चिर्ने भन्नेमा लाग्नुपर्ने भएको छ । हाम्रो श्रद्धेय पार्टी अध्यक्ष अहिले प्रधानमन्त्री हुनुभएको छ । उहाँको पार्टीमा नेतृत्व र प्रधानमन्त्री कार्यकाललाई कसरी सफल बनाउने भन्ने कुरामा चाहे सरकारमा बसेर होस्, चाहे संसदमा बसेर होस्, त्यसका लागि काम गर्न दृढ छु । 

माओवादी आन्दोलनलाई स्थापित गरेर जाने एउटा सुनौलो अवसर अहिले आएको छ । यसबेला सिधै जनतासँग जोडिने कुरा, जनताका मुद्धा अगाडि बढाउने कुरा, विकास, जनजीविका, न्यायको कुरालगायत माओवादीको गिरेको साखलाई कसरी उठाउने चिन्तन हुनुपर्छ ।

अघिल्लो पटकको ३७ सिटबाट १८ सिटमा झरेका छौँ । माओवादी आन्दोलनलाई कसरी पुनर्जागरण गर्ने, यो देशमा माओवादी पार्टीलाई वाहवाही कसरी दिलाउने भन्ने कार्यका लागि प्रतिबद्ध भएर लागेको छु । 

यो देशमा परिवर्तन माओवादीले ल्याएको हो । यही परिवर्तनबाट आज मजदुर, किसान, महिला, जनजातिले न्याय पाएका छन् । यी कुराहरुलाई संस्थागत गर्ने सुनौलो अवसर आएको छ । यो माओवादी पार्टीलाई पुनर्जागरण गर्ने अवसर हो । माओवादीलाई ठूलो पार्टी बनाएर जाने अवसर हामी जस्ता युवा पुस्तामा छ । मन्त्री गौंण कुरा हो ।

अहिले माओवादीमा युवा पुस्तालाई पार्टीको नेतृत्वका लागि तयार पार्नुपर्‍यो भन्ने कुरा आइरहेको छ । तर एउटा पुरानो पुस्ता नै पटक पटक मन्त्री हुन जाने प्रचलन पनि छ, यस बारेमा तपाईंको धारणा के हो ? 

पटक पटक चुनाव जित्नुहुन्छ, पटक पटक मन्त्री बन्नुहुन्छ, यो स्वभाविक पनि हो । आफ्नो क्षेत्रबाट निर्वाचित भएको सांसद मन्त्री बनोस् भन्ने त्यहाँका जनताको पनि चाहना हुन्छ, यो पनि स्वभाविक हो । धेरै पटक मन्त्री बन्नेहरुसँग मेरो कुनै वैरभाव छैन । जो मन्त्री भएपनि उहाँहरुले कुशलतापूर्वक काम गरे हुन्छ । माओवादीले उठाएको आन्दोलन, देश र जनताको हितमा रहेर काम होस् भन्ने मात्रै मेरो चाहना हो । 

संसदको भूमिकामा अवको ५ वर्ष कसरी प्रस्तुत हुने सोचाईमा हुनुहुन्छ ? 

अघिल्लो कार्यकालजस्तै विकास र समृद्धिका एजेण्डा पनि छन् । यो कार्यकालमा मैले खासमा ३ वटा एजेण्डाहरु लिएर आएको छु । 

पहिलो कुरा म किसानको छोरा भएको कारणले आजपनि किसानले न्याय नपाएको अनुभव छ । भनेजति मल, सिँचाई पुगेको छैन । उत्पादन भएको सामग्री बेच्न बजार पाएका छैनन् । उनीहरुको कुरा संसदमा उठाउँछु । दोश्रो भनेको मजदुरका समस्या । नेपालका मजदुरहरु ठूलो अन्यायमा परेका छन् । ती मजदुरहरुको हकहितको आवाज उठाउँछु । 

तेश्रो कुरा नेपालका बेरोजगार युवाहरु लाखौं लाखको संख्यामा विदेशमा गएका छन् । प्रत्येक दिन लाश भएर फर्किरहेका छन् । ४० देखि ५० डिग्री तापक्रममा काम गरिरहेका छन् । यी मुद्धाहरुलाई राष्ट्रिय मुद्धा बनाएर संसदमा बोल्ने मेरो योजना छ । अरु विषय र मुद्धा जनजीविका, विकास निर्माणका कुरा, राष्ट्रियताको कुरामा मैले आवाज उठाउने यो कुरा त निरन्तर नै छ । आफूलाई एक अब्बल सांसदको रुपमा कुरा स्थापित गर्नेछु । 

युवा पुस्तालाई अगाडि बढाउने कुरामा माओवादी केन्द्रले पनि अरु पार्टीजस्तै कञ्जुस्याँई गर्छ, किन होला ? 

मलाई त्यस्तो लाग्दैन, अब पार्टीले त्यस्तो गर्छ भन्ने । नेतृत्वको विकास भनेको युवा पुस्ता हो । यसको अर्थ फेरि नेतृत्वलाई विस्थापन गर्ने भन्ने हैन, विकास गर्ने हो । हाम्रो श्रद्धेय अध्यक्ष बूढो हुनुहोला, हाम्रा धेरै नेताहरु बूढा होलान् । भोलि माओवादी पार्टीबाट प्रधानमन्त्री बन्नु पर्ला । कोही न कोही त त्यसका लागि नेतृत्व विकास गर्नुपर्ला नि । मााओवादी सधैँ यही अवस्थामा रहँदैन, फेरि उभार भएर आउँछ नै ।  

अहिले त प्रचण्ड नेतृत्वको माओवादीलाई कसैले हराउन नसक्ने रहेछ भन्ने भइरहेको छ । शहरिया जनमत पनि माओवादीप्रति आकर्षित भइरहेको छ । 

माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने चौथो अवसर पाएको छ । विगतमा माओवादीले सोचेअनुसार काम गर्न सकेन । यो पटक कसरी काम गर्नुपर्ने देख्नुहुन्छ ?

मैले यसअघि पनि भनें कि यो पटक मेरो ध्येय भनेको, मेरो अर्जुनदृष्टि भनेको दायाँबायाँ नगरी माओवादीको गिर्दो साखलाई अझैमाथि उठाएर लैजाने, यसको नेतृत्व गरिरहनु भएका पार्टीका श्रद्धेय अध्यक्षलाई कसरी सफल पर्ने भन्नेमा केन्द्रीत रहेको छु । 

हाम्रा सबै एजेण्डाहरुलाई सफल पार्नका लागि अहिले एउटा मौका छ । यो देशलाई सफल बनाउने दायित्व हाम्रो काँधमा आएको छ । मेरो तर्फबाट त्यो दायित्व पूरा गर्नु छ । यो पटक माओवादी केन्द्रका सबै नेता, कार्यकर्ता, जनतापनि सबै मिलेर यो पटक हाम्रो नेतृत्वलाई कसरी सफल पार्ने भन्ने अभियानमा जुट्नु छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप