शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

धुम्बाराहीमा देउवा : यस्तै भयो यार !

सोमबार, १८ पुस २०७९, १९ : ५७
सोमबार, १८ पुस २०७९

धुम्बाराहीस्थित कुटनीतिज्ञ कुलचन्द्र गौतमको निवासमा अचेल राजनीतिज्ञको भिडभाड छ । बिहान ८ बजेदेखि साँझसम्म नेपाली कांग्रेसका नेता–कार्यकर्ता निवासमा भेला भइरहेका हुन्छन् । पुस १० मा भएको राजनीतिक उलटफेरपछि राजनीतिको एउटा अस्थायी केन्द्र बनेको छ धुम्बाराहीस्थित सो निवास, जहाँ अहिले मुलुकको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराजमान छन् ।

पाँच दलीय गठबन्धन भत्किएर सत्ता गुमाएपछि कांग्रेसजन धुम्बाराहीस्थित रिङरोड नजिकैको दुई तले घरमा देउवालाई भेट्न धाइरहेका छन् । विगतमा सत्ताबाट बाहिरिएपछि देउवा आफ्नो निजी निवास बूढानीलकण्ठ सर्थे । यस पटक सत्ता गुम्दा बूढानीलकण्ठको निवास मर्मत भइरहेकाले देउवा भाडाको घरमा सरेका हुन् ।

घर मर्मतका लागि ३–४ महिना लाग्ने भएपछि कुलचन्द्र गौतमको घर नै देउवाको अस्थायी बसाइ बनेको हो । पुस १३ गतेपछि त्यो निवासमा कांग्रेसजनको भिड लाग्न थालेको हो । छेउको खाली ठाउँमा गाडी, मोटरसाइकल र स्कुटर पार्किङ गरेर देउवालाई भेट्न निवासमा छिर्छन् कांग्रेस नेता तथा कार्यकर्ताहरु ।

निवासको प्राङ्गणमा २–३ वटाभन्दा बढी गाडी पार्किङ गर्ने ठाउँ छैन । देउवाको बाहेक सबैका गाडी निवासको छेउमैमा रहेका खाली ठाउँमा पार्किङ गर्ने गरिएको छ । हामीले सोमबार बिहान करिब ४ घण्टा देउवाको राजनीतिक भेटघाट नियाल्यौं ।

dhumbarahi deuba niwas

त्यहाँ पुग्दा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा देउवासँगको भेटवार्तामा थिए । नेविसंघको केन्द्रीय समिति विस्तार र स्ववियु निर्वाचनका विषयमा देउवासँग कुराकानी गरेर उनी बाहिरिए ।

नेविसंघका कार्यकर्ताको भिड भने निवासमा बाक्लिँदै गयो । तरुण दल र महिला संघमा जिम्मेवारीको आशा गरेर देउवालाई भेट्न पुग्नेको पनि कमी थिएन । पार्टीका केही शीर्ष नेता, सांसद, प्रदेशका मन्त्री पनि देउवालाई भेट्न पुगेका थिए । यता कांग्रेस केन्द्रीय सदस्य तथा देउवा पत्नी आरजु राणा कार्यक्रममा सहभागी हुन निस्किइन् । बिहान ११ बजेतिर नेता कृष्णप्रसाद सिटौला देउवालाई भेट्न आइपुगे ।

प्रधानमन्त्री प्रचण्ड र सत्ताको चाबी बोकेका एमाले अध्यक्ष केपी शर्मा ओलीको दुस्मनीको पर्खाइमा देखिन्थे कांग्रेसीजन । तत्काल केन्द्रीय सत्तामा पुग्ने सम्भावना नदेखिएपछि प्रदेशमा फरक समीकण बनाउनेबारे धुम्बाराहीमा गृहकार्य भने चर्को रुपमा भइरहेको देखियो ।

बाहिर कार्यकर्तासँग भेटघाट गरिरहेका देउवा घरभित्र छिरे । देउवा र सिटौलाबीच करिब १ घण्टा ‘वान टू वान’ वार्ता चल्यो । देउवा र सिटौलाबीच छलफलको केन्द्रमा के विषय थियो, थाहा भएन । तर प्राङ्गणमा भने प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धनको हदम्यादबारे कांग्रेसीबीच छलफल चल्यो ।

प्रधानमन्त्री प्रचण्ड र सत्ताको चाबी बोकेका एमाले अध्यक्ष केपी शर्मा ओलीको दुस्मनीको पर्खाइमा देखिन्थे कांग्रेसीजन । तत्काल केन्द्रीय सत्तामा पुग्ने सम्भावना नदेखिएपछि प्रदेशमा फरक समीकण बनाउनेबारे धुम्बाराहीमा गृहकार्य भने चर्को रुपमा भइरहेको देखियो ।

बागमतीमा कांग्रेसको सहभागितामा सरकार बनाउने मिसनका साथ बिहान ११ बजे सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)को आगमन भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मुख्यमन्त्री दिएर बागमतीमा सरकार बनाउन डिनाले फोनमा संवाद गरिरहेको सुनिन्थ्यो । यसबारे उनले राप्रपा महामन्त्री कुन्ती शाहीसँग संवाद गरेको थाहा भयो ।

डिनाको फोन संवाद अनुसार राप्रपा र कांग्रेस मिलेर सरकार बनाउने सन्देश शाहीले लिङ्देनलाई सुनाएकी रहिछन् । तर लिङ्देन भने प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने सुरमा रहेको शाहीको भनाइ थियो ।

राप्रपाले प्रदेशमा पनि प्याकेजमै सहमति गरेर जाने रणनीति लिने अवस्था रहेको शाहीले डिनालाई सुनाइन् । तर आज फेरि यस विषयमा छलफल गर्ने जवाफ शाहीको थियो । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमत जुटाउन कम्तीमा ५६ जना सांसद चाहिन्छ । कांग्रेस, राप्रपा र एकीकृत समाजवादी एक ठाउँमा आउँदा सरकार बन्ने अवस्था छ । कांग्रेसका ३७, राप्रपाका १३ र एकीकृत समाजवादीका ७ सांसद गरी ५७ जना सांसदको समर्थन जुटाएर राप्रपाको नेतृत्वमा सरकार बनाउने डिनाको हिसाब छ ।

यस विषयमा राप्रपा अध्यक्ष लिङ्देन, बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई देउवासँग भेट गराएर सहमति खोज्न आफू तयार रहेको डिनाको भनाइ थियो ।

त्यहीबेला सांसद राजेन्द्र बजगाईँ त्यहाँ आइपुगे । त्यहाँ भएका सबैसँग हात मिलाएर उनी एकछिनमै बाहिरिए । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहरा, पूर्व सांसद सिताराम मेहता लागायत पनि देउवाको अस्थायी निवासमा घाम तापिरहे ।

१२ बज्नै लाग्दा सिटौला त्यहाँबाट बाहिरिए भने देउवा पनि ढोकाबाट बाहिर निस्किए । अनि फेरि सुरु भयो भेटघाट र फोटो सेसन । सत्ता राजनीतिबाट बाहिरिएपछि देउवासँग कार्यकर्ताले पार्टी संगठनमा भूमिका खोजिरहेको देखिन्छ ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नेता तथा सांसदहरु पार्टीका विभाग र संसदीय दलमा जिम्मेवारीका लागि लबिङमा छन् ।

नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्था विस्तारका लागि दबाब बढ्दो छ । कोही कार्यकर्ता नयाँ निवासमा देउवासँग फोटो खिच्ने धोको राखेर धुम्बाराही पुगेको भेटियो ।

लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने देउवाको प्रस्ताव थियो । तर उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने प्रचण्डलाई धोका दिने पक्षमा नदेखिएपछि एक महिनामै सरकार ढाल्ने रणनीति सफल नहुने देउवाको निष्कर्ष छ । तत्काल सत्ता प्राप्त हुनेमा देउवाको आत्मविश्वास कमजोर भएको छ ।

संसदको पहिलो दल बनेर पनि सत्ता गुमेर विक्षिप्त जस्तै भएका देउवालाई सहानुभूति दिएर उनीहरु फर्किए । कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा चाँडै कांग्रेस सत्तामा फर्किनेमा आशावादी थिइन् ।

निवासमा माघ ताप्दै गफिएकी उनी कांग्रेसले सत्ताको खेल जारी राखेको सुनाउँथिन् । यस्तै कांग्रेसकी युवा नेतृ सम्झना केसीले देउवासँगको भेटमा सत्ताले नै कांग्रेस खोज्दै आउने बताइन् । उनले भनिन्, ‘नेपाली कांग्रेस नेपाली राजनीतिको मियो हो । सभापतिज्यू, घुमिफिरी सत्ता कांग्रेस खोज्दै आउँछ ।’ १० पुस साँझ बालुवाटारमा भेट्न पुगेकाहरुलाई देउवाले पनि ‘विश्वासको मत लिने अवस्थासम्म हेरौं’ भन्थे ।

१० पुसको साँझ डडेल्धुराका कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदको टोली देउवालाई भेट्न बालुवाटार पुगेको थियो । बुहमत जुटाएर प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए पनि विश्वासको मत पाउन नसक्ने बुझाइमा थिए देउवा । यो बीचमा देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपालाई साथमा लिएर प्रचण्डलाई विश्वासको मत लिँदा विफल गर्ने रणनीतिमा थिए । देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि रामिछानेलाई प्रधानमन्त्रीकै अफर गरेको बुझिएको छ ।

लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने देउवाको प्रस्ताव थियो । तर उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने प्रचण्डलाई धोका दिने पक्षमा नदेखिएपछि एक महिनामै सरकार ढाल्ने रणनीति सफल नहुने देउवाको निष्कर्ष छ । तत्काल सत्ता प्राप्त हुनेमा देउवाको आत्मविश्वास कमजोर भएको छ ।

देउवा भेट्न पुग्नेले ‘यो के भएको हो ?’ भनेर जिज्ञासा राख्दा उनले ‘यस्तै भयो यार’ भनेर जवाफ दिने गरेको पाइन्छ । आज बिहान नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रको टोलीले पनि देउवालाई यो के भएको हो भनेर जिज्ञासा राखेको थियो । त्यहाँ भेटिएका मिश्रले भने, ‘सभापतिज्यूले यस्तै भयो यार भन्नु भयो । धेरै कुरा गर्नु भएन ।’

समयले फेरि कांग्रेसलाई सत्तामा ल्याउँछ भन्दै डाढस दिएर उनीहरु बाहिरिएका थिए । भेटघाटमा देउवाको प्रस्तुति हेर्दा सत्ताबाट रिङआउट हुनुपर्दाको ह्याङओभर कायमै देखिन्छ । आज देउवालाई भेटेर फर्किएका प्रतिनिधिसभा सदस्य तथा रामेछापका जिल्ला सभापति कान्छाराम तामाङले पार्टी संगठन सुदृढ बनाउने विषयमा छलफल भएको बताए । भानु देउवाले पनि अब पार्टी सांगठनिक गतिविधिमा केन्द्रित भएको बताए । ‘केन्द्रीय समिति बैठकपछि भ्रातृ संस्था र पार्टीका विभाग बन्छन् । अहिले त्यसैको गृहकार्य भइरहेको छ,’ उनी भन्छन् ।

संसदीय दलको प्रमुख सचेतक र सचेतक भने आजभोलि नै मनोनित गरिने भानुको संकेत थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप