बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सभामुखको दौडबाट प्रदेश १ मा रेवतीरमण आउट, एमाले र माओवादीबाट ८ जना आकाङ्क्षी

बिहीबार, २१ पुस २०७९, १८ : ०८
बिहीबार, २१ पुस २०७९

विराटनगर । प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सम्भावित परिदृश्यकाबीच सभामुख पदका लागि माओवादीका सांसदहरूको लबिङ तीव्र बनेको छ । मुख्यमन्त्री पाउने दलले सभामुख पनि पाउने सम्भावना कमजोर रहेको कारण सो पद प्रदेश १ मा माओवादीको भागमा पर्न सक्ने देखिन्छ । उक्त पदमा माओवादी केन्द्रका नेताहरू राजेन्द्रकुमार कार्की, बाबुराम गौतम, नारायण बुर्जा मगर र गीता तिम्सिनामध्ये एक जना हुने सम्भावना छ । ती मध्ये पनि माओवादी राजनीतिमा सिनियर नेताको लिस्टमा रहेका कार्की र गौतमको सम्भावना बढिरहेको स्रोतको भनाइ छ । यद्यपि मोरङबाट समानुपातिक पदमा निर्वाचित सांसद गीता तिम्सिनाले मन्त्रीमण्डलमा सहभागी नगराउने हो भने सभामुख बनाउनु पर्ने कुरा राखेको बताइएको छ ।

सभामुख पदमा रहने धेरै आफ्नो क्षेत्र जान नसक्ने र प्रदेशसभाको दैनिक काममै खट्नु पर्ने भएको कारण झापा, मोरङ, सुनसरीबाटै बनाउन कतिपयले सुझाव दिने गरेका छन् । यद्यपि प्रदेशको बरीयतामा प्रदेश प्रमुख, मुख्यमन्त्री पछि तेस्रो वरियतामा सभामुख पर्ने भएको कारण उक्त पदमा आकर्षण भने सांसदहरूमा छ । 

उता, एमालेकै भागमा सभामुख परेको खण्डमा भने सांसदहरू ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो, इलामका राम राना मगर, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी र मोरङका लिलाबल्लभ अधिकारीको सम्भावना रहेको स्रोतले बताएको छ । सुनसरीका सांसद रेवतीमरण भण्डारी पनि सभामुखको दौडमा रहेका थिए । उनलाई दलको प्रमुख सचेतक बनाएसँगै सभामुख वा मन्त्री बन्ने सम्भावना हालका लागि स्थगित भएको एमालेका एक नेताले बताए । 

माओवादी केन्द्रका सांसद दुर्गाप्रसाद चापागाईंले भने आफू सभामुख नबन्ने बरु अरूलाई सहयोग गर्ने बताएका छन् । ‘हाम्रो पार्टीमा अन्य साथीहरू पनि योग्य हुनुहुन्छ, म अहिले सभामुख बन्दिनँ,’ उनले भने । स्रोतका अनुसार चापागाईंले प्रदेश १ सरकारमा माओवादीको तर्फबाट नेतृत्व गरेर जान चाहेका छन् । 

उपसभामुख पदमा भने माओवादीको भागमा पर्दा मोरङकी गीता तिम्सिना र एमालेको भागमा पर्दा उदयपुरकी सिर्जना दनुवार वा भोजपुरकी सिर्जना राईको सम्भावना रहने नेताहरू बताउँछन् । यद्यपि उपसभामुख पद राप्रपाको भागमा जान सक्ने देखिएको छ । सभामुख र उपसभामुख फरक पार्टी र फरक लिङ्गको हुनुपर्ने भएको कारण सभामुख पुरुष हुँदा उपसभामुख महिला हुने निश्चित छ । राप्रपाबाट उपसभामुखका लागि सविना बजगाईँ र निमशरी राजवंशीमध्ये एक जना हुने निश्चित जस्तै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप