शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग : गान्धीको त्यो पत्र च्यातिनुको अर्थ

सोमबार, २५ पुस २०७९, १० : २१
सोमबार, २५ पुस २०७९

प्रायः हामी प्रशंसा सुन्न चाहन्छौँ । झुट्टो नै सही कसैले आएर सानै प्रशंसा गरिदिए पनि मख्ख पर्ने गर्छौँ र आफू त राम्रै वा ठूलै मानिस रहेछौँ भन्ने ठानी गर्वले नाक फुलाउने गर्छौँ । त्यस्तै कसैले कुनै आलोचना ग¥यो भने मन पराउँदैनौँ र यस्ता मानिस आफ्ना हितैषी वा भलो चाहने मानिस होइन भन्ने ठानी उसप्रति वितृष्णा पाल्ने गर्छौँ । यस्ता मानिसको सितिमिति नामै लिन पनि चाँहदैनौँ । लिने परे पनि त्यस्तै किसिमको भावभङ्गी प्रकट गरिरहेका हुन्छौँ तर वास्तविकता के हो भने हितैषी मानिस उही हुन्छ, जसले आलोचना गर्छ वा देखेको कुरा जस्ताको तस्तै भनिदिन्छ ।

प्रशंसाभित्र प्रशंसा गर्नेको स्वार्थ छिपेको हुन्छ, जसले सुन्नेवालालाई क्षणिक आत्मसन्तुष्टि मिले पनि अन्ततः उसलाई हानि र नोक्सानी बाहेक केही गर्दैन । त्यसैले बुद्धिमान मानिस प्रशंसाको पछि लाग्दैनन् । पहिलो कुरा त यस्ता कुरा सुन्नै चाहँदैनन् । सुन्नै परे पनि एउटा कानले सुनी अर्को कानले उडादिन्छन् । भाइबहिनीहरूका जानकारीका लागि यहाँ यस्तै एउटा अद्भूत प्रसङ्ग प्रस्तुत गरिएको छ । 

प्रसङ्ग त्यतिबेलाको हो, जतिबेला भारतमा अङ्ग्रेजहरूको शासन थियो । त्यतिबेला भारतमा आचार्य विनोभा भावे नामका ठूलो सन्त थिए । प्रायः सन्तहरू घर तथा गृहस्थी त्यागी लोकहितमा जीवन समर्पित गर्छन् । विनोवा भावेजी यसमा अग्रपंक्तिमा रहेका थिए । उनको आश्रममा हमेशा ठूल–ठूला राजनीतिक नेताहरूदेखि राज्यका प्रशासक तथा अधिकारीहरूको भीड लाग्ने गथ्र्यो । आफैँ उपस्थित हुन नसक्नेहरू तथा टा–टाडाका भक्तहरू चिठीपत्रद्वारा मार्गदर्श माग्ने गर्थे, जसले गर्दा उनको आश्रममा चिठीपत्रको चाँग लाग्ने गथ्र्यो । दिनहुँजसो सयौँ चिठीपत्र आउँथे । उनी आएका चिठीपत्रहरूलाई प्रेमपूर्वक आफैँले पढ्थे र पढिसकेपछि जतनले राख्थे ।

एक पटक यस्तै चिठी आयो । उनले त्यसलाई पनि सदा झ्यैँ प्रेमपूर्वकले पढे तर यसलाई भने आधाआधी पढिसक्नासाथ च्यातेर रद्दीको टोकरीमा हालिदिए । त्यतिबेला उनका अगाडि एक जना सरकारी अधिकारी पनि थिए । उनको त्यस्तो व्यवहार देखेर ती अधिकारीलाई आश्चर्य लाग्यो र विनम्रतापूर्वक सोधे–

‘गुरुवर ! सदा त आफूले पढ्का चिठीहरूलाई पढिसकेपछि जतनले राख्ने गर्नुहुन्थ्यो । अहिले भरखरै पनि अन्य चिठीहरूलाई यस्तै गर्नुभयो तर यसलाई भने पूरा पढ्दै नपढी किन च्यातेर फाल्नुभयो ?’

अधिकारीको कुरा सुनेर उनले सम्झाउँदै भने–

‘च्यात्नै पर्ने भएकाले च्यातेको हुँ ।’

‘च्यात्नै पर्ने थियो र ?’

‘हो, च्यात्नै पर्ने थियो ।’

‘किन र गुरुवर !’

‘कुनै कामको थिएन ।’

‘कसको चिठी थियो र गुरुवर !’

‘गान्धीजी  (महात्मागान्धी) को थियो ।’

‘ओहो ! यसलाई त जतनले राख्नुपर्ने होइन र ?’

‘भनिहालेँ नि कुनै कामको थिएन ।’

‘गान्धीजीको चिठी पनि कुनै कामको नहुने हुन्छ र ?’

‘नहुुनुपर्ने हो तर यो चिठी भने त्यस्तै थियो ।’

‘किन र गुरुवर ! के लेख्नुभएको थियो र गान्धीजीले ।’

‘प्रशंसा गर्नुभएको थियो ।’

‘कसको प्रशंसा ?’

‘कसको भन्ने मेरो आफ्नै ।’

‘यसले के फरक पाथ्र्यो र गुरुवर ! आखिर गान्धीजीले ठिकै त भन्नुभएको रहेछ ।’

‘होइन, गान्धीजीले यसो गरेर ठीक गर्नुभएन ।’

‘ठीक गर्नु भएन ?’

‘हो, ठीक गर्नुभएन ।’

‘किन र गुरुवर !’

त्यसपछि उनले बेलिबिस्तार लगाउँदै भने–

‘किनभने महाशय ! जुन चिठीमा केवल प्रशंसा मात्र गरिएको छ त्यस्तो चिठीलाई चिठी भनिँदैन । यस्ता चिठी त केवल प्रशंसाका पुलिन्दा हुन् । त्यस्ता चिठी पनि के चिठी ? किन थाहा छ ? किनकि यस्ता चिठीले पाउनेवालालाई अहङ्कारी बनाउँछ । उसको मनलाई कलुषित बनाउँछ र गर्न हुने र नहुने सबै कर्म गर्न उत्प्रेरित गर्छ । अनावश्यक प्रशंसा सुनेर कर्तव्य च्युत हुन पुग्दाको जिम्मेवारी कसले लिने ? त्यसैले यस्ता पत्र पढेर समय खेल फाल्नुभन्दा च्यातेर फाल्नु नै उत्तम हुन्छ ।’

आचार्यजीको कुरा सुनेपछि ती अधिकारीको होस खुल्यो । त्यसपछि उनले  पनि त्यस्तै गर्न थाले ।

घटना सानो भए पनि यस प्रसङ्गभित्र निकै ठूलो अर्थ छिपेको छ । यदि सबैले यस्तै गर्ने हो स्वर्ग खोज्न कुनै काल्पनिक संसारको पछि लाग्नै पर्दैन । यसै संसारलाई स्वर्ग बनाउन सकिन्छ र सबैले त्यसको फल उपभोग गर्न पाउँछन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप