शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

परिवर्तनकारीहरु पेसागत समावेशी समूहमा हुन्छन् : डा. सन्तोष पौडल

विहीबार, ०५ माघ २०७९

काठमाडौं । नेपाल चिकित्सक संघको चुनाव उपत्यकाबाहिर माघ ६ र ७ गते तथा काठमाडौं उपत्यकामा माघ १९, २० र २१ गते हुँदैछ  चुनाव नजिकिएसँगै उम्मेदवार चिकित्सकहरु चुनावी अभियानमा देश दौडाहामा हिँडिरहेका छन् ।
सात दशकभन्दा धेरै अर्थात् ७२ वर्ष यात्रा पार गरेको संस्थाको नेतृत्वका लागि हुन गइरहेको चुनावमा पेसागत समावेशी समूहका तर्फबाट संघको अध्यक्षमा उम्मेदवारी दिएका डाक्टर सन्तोष पौडेलसँग रातोपाटीले चुनावी अभियान र एजेण्डाका बारेमा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश– 

 
 
नेपाल चिकित्सक संघमा विगतदेखि प्रजातान्त्रिक समूहले नेतृत्व गर्दै आएको छ । नेतृत्व परिवर्तनका लागि कस्तो छ तपाईहरुको तयारी ?
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तीन हप्ताको अवधिमा पुगेँ । देश दौडाहाका क्रममा अधिकांश युवा चिकित्सकहरु परिवर्तनको पक्षमा देखिनु भएको छ । अग्रज चिकित्सकहरु चिकित्सा क्षेत्रको प्रणालीगत सुधारको पक्षमा रहेको मेले पाएको छु । स्वास्थ्य प्रणालीको समग्र सुधारको आवश्यकता रहेको उहाँहरुको भावना पाइयो । युवा चिकित्सकहरुले पढाइ र रोजगारीसँगसँगै पेसागत सुरक्षाको कुरालाई मुख्य चासोका रुपमा लिनुभएको छ ।
 
चुनावी अवधारणापत्र अर्थात एजेण्डा आकर्षक भए पनि व्यावहरिक रुपमा कठिनाइ छ भनेर अन्य उम्मेदवारले भनिरहेका छन् । १० वर्षसम्म काम गरेको चिकित्सकलाई घर, गाडी भन्ने एजेण्डा समावेश गरिएको छ, के त्यो सम्भव छ ?
अवधारणापत्र भनेका छौँ । घोषणापत्र भन्दै गर्दा पार्टीले निर्वाचन जितेपछि सांसद, मन्त्री भएर, सरकार चलाएर गर्ने कुराभन्दा पनि पेसागत संगठनले यो पेसालाई कसरी मर्यादित र सुरक्षित बनाउने भन्ने दृष्टिकोणले नारा पनि ‘सुरक्षित पेसा, खुसी चिकित्सक’ बनाएका छौँ । चिकित्सक भनेको बिरामीलाई शारीरिक पीडा भएको समयमा त्यो पीडा समाधान गर्ने र मानसिक समस्या भएको खण्डमा खुसी प्रदान गर्ने हो । बिरामीलाई  शारीरिक र मानसिक रुपमा खुसी बनाउँदै गर्दा चिकित्सक आफै कति सुरक्षित छ भन्ने कुरा अहम् प्रश्न हो भनेर ‘सुरक्षित पेसा, खुसी चिकित्सक’ भनेर नारा बनाइ त्यसलाई सहयोग गर्ने अवधारणा सार्वजनिक गरेका हौँ ।

केही अवधारणा केही दिनमै पूरा गर्न सकिन्छ भने केहीलाई तीन वर्षीय कार्यकालमा पूरा गर्न सकिन्छ । केही प्रणालीगत सुधारका कुरालाई वर्षौं पनि लाग्न सक्छ । तर, हामी पूरा गरेर छाड्छौँ । विश्व समाजले मानेको प्रतिष्ठित चिकित्सक पेसा हो । यो भनिरहँदा सबै पेसाको मर्यादा र गरिमा हुन्छ । तर, मानवीय समवेदना र मानवीय जीवनसँग प्रत्यक्ष जाडिएको पेसा हो चिकित्सा । यस उत्कृष्ट पेसामा जाने मानिसहरुमा आफै अब्बल हुन्छन् । चिकित्सक पढाइमा अब्बल भएरमात्रै पुग्दैन । यसले चिकित्सा पेसा अभ्यास गर्दा धेरै ठूलो मेहनत गरेको हुन्छ । लगानीको हिसाबले ठूलो छ । अरुले बीए पास तीन÷चार वर्षमा गर्छन् भने चिकित्सा अध्ययन गर्नेहरुले साढे पाँच तथा छ वर्षमा पास गर्छन् । त्यसैले समयको बढी लगानी गर्नुुपर्छ ।

यो पेसा अपनाइसकेपछि पेसालाई सम्बोधन हुनेगरी तलब र सामाजिक प्रतिष्ठालाई कायम हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । जसले बढी काम र श्रम गर्छ, उसले बढी कमाउनु पनि पर्छ । नेपालमा विशेष गरी युवा चिकित्सक पछाडि परेका छन् । उनीहरुले १५ औँ वर्ष काम गर्दा पनि एउटा घर र गाडीसमेत जोड्न धौधौ परेको छ । राज्यलाई टेवा दिइरहेको चिकित्सक, त्यसमा पनि कमसे कम निरन्तर १० वर्ष सेवा गरेको चिकित्सकलाई घर र गाडीमा सहुलियतपूर्ण कर्जाको कुरा गरेका छौँ ।

जस्तै कृषि विकास बैंकमा काम गर्ने कर्मचारीले त्यस बैंकमा काम गरेको आधारमा सहुलियतपूर्ण ऋण पाएको हुन्छ । निजी बैंकहरुले पनि केही सुविधा दिएका हुन्छन् भने हामी देशका लागि सरकारी र निजी अस्पतालमा रहेर दिनरात जनताको सेवामा खटिँदा एक घरगाडीको लागि सहुलियतपूर्ण ऋण कर्जाको कुरा अन्यथा भन्न मिल्दैन । अरु पेसाकाले प्राप्त गर्नुहुन्छ भने चिकित्सकहरुले पनि पाउनुपर्छ भन्ने अवधारणा हामीले अघि सारेका हौँ ।
 
चिकित्सकहरुका लागि छुट्टै खालको ऐन आवश्यकताचाहिँ किन ?
प्रजातन्त्र प्राप्तिपछि २००७ सालमा पेसागत संगठनको रुपमा चिकित्सक संघ स्थापना भएको हो । ७२ वर्ष पार गर्दा चिकित्सकको सङ्ख्या ३२ हजार पुगेको छ । चिकित्सकको जमातलाई व्यवस्थित गर्न त्यसलाई छुट्टै ऐन चाहिन्छ । चिकित्सा सेवा ऐनले एउटा चिकित्सकलाई मात्रै गाइड गर्दैन । समग्र चिकित्सा सेवाको प्रणालीलाई व्यवस्थित गर्न चिकित्सा सेवा ऐन चाहिन्छ । संघीय निजामती ऐनले सबै पेसाका स्वास्थ्यकर्मी, निजामती कर्मचारीलाई एक ठाउँमा राखेको छ । डाक्टरलाई पनि त्यही डालोमा राख्दा नमिल्दो खालको खिचडी बन्छ कि भन्ने चिन्ता हो ।

विगतमा पनि स्वास्थ्य सेवा ऐन ल्याउनु परेको थियो । पुरानो नेतृत्वले पहलकदमी नलिदाँ स्वास्थ्य सेवा ऐन पनि गुम्यो । त्यहाँभन्दा पछाडि फर्किएर निजामती कर्मचारी सरह त्यसै ऐनमा समेटिने खालका बिडम्बनापूर्ण स्थिति सिर्जना भएको छ । त्यसलाई चिर्नका लागि पनि एक तह अगाडि बढेर चिकित्सकहरुको वृत्ति विकास, चिकित्सक क्षेत्रको प्रणालीगत विकासका लागि चिकित्सा सेवा ऐन चाहिन्छ ।

324071377_1174035649983141_1668265158803134740_n
 
सरकारी र निजी क्षेत्रमा काम गर्ने चिकित्सकहरुका लागि के के गर्ने योजना छ ?
निजी क्षेत्रमा काम गर्ने चिकित्सकहरुलाई श्रम ऐन अन्तर्गत पाउनुपर्ने सेवासुविधाहरु सुुनिश्चित गर्नुपर्छ । यो भनेको पेसागत सुरक्षाभित्र पर्ने कुरा हो । निरन्तर एक वर्षभन्दा बढी काम गर्नुहुन्छ भने उहाँहरुलाई सामाजिक सुरक्षाका अन्य प्रावधानहरु समेटेर सम्वोधन गर्नुपर्छ । तोकिएभन्दा बढी समय काम गर्छन भने त्यसको पैसा दिनुपर्छ । बिदाको दिन काम गर्दा भत्ता दिनुपर्छ भन्ने कुरा उठाएका छौँ । चिकित्सा सेवा ऐन बनिसकेपछि त्यसमा उल्लेख गरिएको आधारमा सेवा सुविधा दिनुपर्छ । चिकित्सा ऐन बनाइसकेपछि त्यो मुल कानुन हुन्छ, त्यसपछि सरकारी सेवाका चिकित्सकको लागि मात्रै होइन, निजी तथा गैरसरकारी अन्य संस्थामा काम गर्ने चिकित्सकलाई सुविधा तलबका कुरा उल्लेख गरिन्छ र त्यही अनुसारमा लागू गरिन्छ ।  
 
नेपाल चिकित्सक संघमा सुधार गर्नुपर्ने कुरा के के छन् ?
संघीयता कार्यान्वयन भएको धेरै समय बितिसक्दा पनि संघीय अवधारणा अनुसार प्रादेशिक समितिहरु गठन भएको छैन । हाल प्रादेशिक उपाध्यक्ष भनिएको छ । १९ जनाको समितिमा ८ जना उपाध्यक्ष राखिएको छ । एक जना अध्यक्ष ठूलो टाउको राखेर सानो शरीर भएको संगठनको परिकल्पना गरिएको छ । यो अमिल्दो भयो  । केन्द्रमा केन्द्रीय समिति र प्रदेशमा प्रदेश समिति बनाएर प्रदेश अध्यक्ष बनाएर आउनुपर्छ । प्रदेश सरकारसँग समन्वय गर्न प्रदेश समिति आवश्यक पर्छ । संघमा चिकित्सकहरुको आवद्धता कम छ । अब सम्पूर्ण चिकित्सकलाई समेट्ने गरी संघको सदस्य बनाउन आह्वान गरी निःशुल्क सदस्य बनाउँछौ । सदस्यता शुल्क बन्द गर्छौँ । चिकित्सकहरुको वृत्ति विकासका लागि जब काम गरिन्छ, त्यसपछि बल्ल शुल्क लिन्छौँ । चिकित्सकहरु प्रत्येक दिन अपडेट हुनुपर्छ । यदि चिकित्सकहरु अपडेट भएनन् भने चिकित्सा शास्त्रको विकासलाई अवलम्बन गर्न सकिँदैन भने सेवाग्राहीले राम्रो सेवा पाउँदैन । त्यसैले हरेक शाखामा अनुसन्धान र तालिम अनिवार्य हुनुपर्छ । हरेक शाखाका लागि अनुसन्धानका लागि प्रेरित गर्छौँ । उहाँहरुले आफै अनुसन्धान गर्न नसके पनि संसारमा भएका खोज लेखहरुलाई अध्ययन गरेर पढ्ने बुझ्ने वातावरण सिर्जना हुन्छ ।

चिकित्सक संघमा अर्को सुधार गर्नुपर्ने कुरा भनेको आकस्मिक कल्याणकारी कोष स्थापना गरेर समस्यामा परेका चिकित्सकहरुलाई सहयोग गर्छौँ । नेपाल चिकित्सक संघको विगतको गर्विलो इतिहास छ । पहिल्लो समयमा आएर समग्र चिकित्सक बौद्धिक जमात स्वास्थ्यको ‘नेसनल थिङ्क ट्याङक’को रुपमा हुनुपर्ने ठाउँमा कुनै अमुक पार्टीको भ्रातृ संगठनजस्तो तरिकाले चलिरहेको हुनाले त्यस कुरालाई चिर्न निर्वाचनमा एजेण्डाका आधारमा प्रतिस्पर्धा गरेका छौँ । पुरातन शैलीलाई ब्रेक गर्न चिकित्सक र चिकित्सा पेसाको गरिमालाई पुनर्प्राप्तिका लागि हामीले उम्मेदवारी दिएका हौँ ।

नेपाल चिकित्सक संघको निर्वाचन अब हामी यथास्थितिमा रहने कि अगाडि बढ्ने ? यथास्थितिमा नरहेर चिकित्सकका समस्या, चिकित्सा क्षेत्रका समग्र स्वास्थ्य प्रणालीलाई दुरगामी सकारात्मक असर पार्ने प्राणालीगत सुधार, सम्मान पुनर्प्राप्तिका लडाइँलाई अगाडि बढाउने भन्नेबारे चिकित्सक साथीहरुले अहिले निर्णय गर्ने बेला आएको छ । हामी अगाडि जाने हो, हामी परिवर्तनको पक्षमा उभिने हो भने हाम्रो टिम खडा छ । यथास्थिति र पुरानै तरिकाले चल्ने हो भने अन्य टिम खडा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया