बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा

बिहीबार, २१ जेठ २०८३, १४ : २८
बिहीबार, २१ जेठ २०८३

सारांश

  • पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा 'हेर्न नमिल्ने' सूचीमा परेको छ ।
  • नेपाल इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विषयमा पाठकमाथि मुद्दा चलेको थियो ।
  • विशेष अदालतले पाठकलाई भ्रष्टाचारको प्रयास गरेको ठहर गर्दै ३ वर्ष ३ महिना कैद र ३९ लाख जरिवानाको सजाय सुनाएको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, यसअघि सोही मुद्दामा न्यायाधीश ढुंगानाले सुनुवाइ गरिसकेकाले मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

नेपाल इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोगको दबाबबीच पाठकले अख्तियार आयुक्त पदबाट राजीनामा दिएका थिए । घुस लिएर पनि काम नभएपछि रकम उपलब्ध गराएको पक्षले घुस लेनदेनसम्बन्धी अडियो र भिडियो सार्वजनिक गरेको थियो ।

अनियमितता मिलाउन कुल एक करोड ६० लाख रुपैयाँ घुस दिने सहमति भएको आरोप छ । सोहीअनुसार सुरुमा पेस्कीस्वरूप दुई चरणमा ७८ लाख रुपैयाँ नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले उपलब्ध गराएका थिए । उक्त रकम पाठकसम्म पुर्‍याइएको भन्दै सम्बन्धित पक्षले पछि अडियोसहितका प्रमाण अख्तियारमा बुझाएको थियो ।

७८ लाख रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन आयुक्त पाठक र कलेजका अध्यक्ष न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले दुवैलाई भ्रष्टाचारको प्रयास गरेको ठहर गर्दै ३–३ वर्ष कैद र ३९–३९ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । पाठकलाई थप तीन महिना कैद सजाय पनि गरिएको थियो ।

विशेष अदालतले पूर्ण भ्रष्टाचार नभई भ्रष्टाचारको प्रयास भएको निष्कर्ष निकाल्दै आधा सजाय मात्र निर्धारण गरेपछि अख्तियारले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप