शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डार्बिनबाट सुरु भयो नेपथ्यको अस्ट्रेलिया टुर

बिहीबार, १२ माघ २०७९, १० : २१
बिहीबार, १२ माघ २०७९

डार्बिन । नेपथ्यले डार्बिनबाट अस्ट्रेलिया टुरको भव्य सुरुवात गरेको छ । ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार नेपथ्यले आफ्नो प्रस्तुति दिएको हो ।

दर्शक दीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरूको मिश्रित भीडले भरिएको थियो । कन्सर्टको सुरुवात नेपथ्यको ताजा सिर्जना ‘भटभटे’बाट भयो । त्यसपछि ब्याण्डको प्रारम्भिक दिनदेखिकै चर्चित गीत ‘छेक्यो छेक्यो’ सुनाइएको थियो । 

‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरु गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे ।  ‘भेँडाको ऊनजस्तो’,‘जोमसोमे बजार’ र ‘शिरफूल शिरैमा’ जस्ता गीतहरू गाउँदा पछाडि दृश्यमा पहाडी अनि हिमाली भेगका यात्राको क्रममा खिचिएका दृश्य देखाइएको थियो । त्यसले दर्शकलाई पनि जोमसोम र धौलागिरि तिरै पुर्‍याएको थियो ।

‘हाम्रा सुन्दर डाँडाकाँडाहरू पैदल घुम्ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ गायक अमृत गुरुङले भने, ‘अर्को पटक तपाईंहरू पनि नेपाल पुग्दा त्यसैगरि गाउँ ठाउँ पुग्ने अवसर नगुमाउनु होला।’ कार्यक्रममा ‘यो जिन्दगानी’ ‘जोगले हुन्छ भेट’, ‘रेसम’ र ‘तालको पानी’ जस्ता गीत प्रस्तुत गरिएको थियो ।

नेपथ्यको अस्ट्रेलिया यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली सरिक छ ।  स्टेजमा भने सँधैझैँ अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसरी उत्तरको डार्बिनबाट सुरु भएको नेपथ्यको अस्ट्रेलिया शृङ्खला अब दक्षिणको ‘साउथ अस्ट्रेलिया’ राज्यतर्फ बढ्नेछ । त्यसको राजधानी एडिलेडस्थित ‘हिण्डले स्ट्रीट म्युजिक हल’मा जनवरी २८ तारिख शनिबारका दिन नेपथ्यका गीतहरू सुनाइने छन् । त्यस हलमा चार वर्षअघि पनि नेपथ्य प्रस्तुत भएको थियो ।

एडिलेडपछि ब्रिसबेनको ‘फोर्टिच्यूड म्युजिक हल’, क्यानबेराको ‘म्येनिंग क्लार्क हल, पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा ब्याण्डको यात्रा अष्ट्रेलियाकै पुछारतर्फको हुनेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अस्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप