शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पाठेघरको मुखको क्यान्सर

‘स्क्रिनिङ परीक्षण गरे १० वर्षपछि क्यान्सर लाग्ने नलाग्ने थाहा हुन्छ’

रोग लागेर उपाचार गर्नुभन्दा परीक्षणमै जोड दिऔँ : डा. सरिता घिमिरे
शनिबार, २१ माघ २०७९, १५ : २८
शनिबार, २१ माघ २०७९

आज क्यान्सर दिवस । जनचेतनाका लागि आज विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । आमनागरिकमा क्यान्सरबारे चेतना भए करिब एक तिहाइलाई यो रोग लाग्नबाट जोगाउन सकिन्छ । तर क्यान्सर लागिसकेपछि मात्रै बिरामीहरू अस्पताल आइपुग्ने गरेको चिकित्सकहरू बताउँछन् । 

नेपालका सन्दर्भमा सबैभन्दा बढी महिलाहरूलाई हुने भनेको पाठेघरको क्यान्सर हो । तर पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर परीक्षण गरिएमा यो रोग लाग्नुभन्दाअघि नै त्यसका सङ्केत थाहा पाउन सकिने चिकित्सकहरू बताउँछन् । तर जनचेतनाको कमीले रोग लागिसकेपछि, समस्या देखिन थालेपछि मात्रै परीक्षणका लागि अस्पताल जाने प्रवृत्ति आममानिसमा  छ । 

विभिन्न अध्ययनहरूका अनुसार नेपालमा एक सय क्यान्सर रोगीमध्ये ७ जनालाई पाठेघरको क्यान्सर हुनेगरेको छ अर्थात् सात प्रतिशत क्यान्सर रोगी पाठेघरका छन् । 

यसै सन्दर्भमा पाठेघरको मुखको क्यान्सरका लक्षण, निको हुने सम्भावना र उपचार पद्धतिबारे नेपाल केयर क्यान्सर फाउन्डेसनमार्फत सेवा प्रवाह गर्दै आएकी क्यान्सर रोग विषेशज्ञ डाक्टर सरिता घिमिरेसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानी :

dr sarita ghimire (4)

–खासगरी महिलालाई हुने पाठेघरको मुखको क्यान्सर रोगीको सङ्ख्या पछिल्लो समय बढेको भनिन्छ, के कारणले होला ?

विकसित देशमा पाठेघरको क्यान्सर कम हुन्छ । त्यति धेरै असर गर्दैन । तर नेपालजस्ता विकासशील देशहरूमा यसले प्रभाव पारेको छ । विकसित देशहरूमा क्यान्सर हुनुभन्दा अगाडि नै नियमित रूपमा जाँच गरिन्छ । सोही कारण ती देशहरूमा पाठेघरको मुखको क्यान्सर बढ्न पाएको छैन । 

तर नेपालका सन्दर्भमा भने फरक छ । किनभने बिरामी नभईकन कोही व्यक्ति पनि स्वास्थ्य परीक्षण जाने चलन नै छैन । रोग लगेपछि अस्पताल जाने हो, यदि रोग लागेको छैन भने किन खर्च गर्ने भन्ने आम मानिसको धारणा छ । समस्या नआई परीक्षण गर्न गए डाक्टरले कुनै न कुनै रोग छ भनिदिन्छ, केही नभईकन यो रोग छ भनेर स्वास्थ्यकर्मी भनिदिन्छन् कि भनेर डराउँछन् । यिनै विविध कारण रोग लाग्नुअघि समस्या नआईकन हत्तपत्त परीक्षण गर्ने चलन नेपालीहरूमा छैन ।

यो समस्या नेपाल मात्रै होइन, एसियाका अधिकांश मुलुकमा छ । त्यही भएर पाठेघरको क्यान्सरका बिरामी बढ्न थालेका हुन् । 

–पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सरमा फरक हो ? 

सामान्य बोलीचालीको भाषामा पाठेघरको क्यान्सर भनिन्छ तर पाठेघरको मुखको क्यान्सरलाई पाठेघरको क्यान्सर भनिँदैन । बोलिचालीको भाषामा डिम्बासयको क्यान्सरलाई पनि पाठेघरको क्यान्सर नै भनिन्छ । तर त्यो पाठेघरको क्यान्सर होइन । डिम्बासयको क्यान्सर सुरुकै अवस्थामा हत्तपत्त थाहा हुँदैन तर जब पेटतिर फैलिन्छ अनि थाहा हुन्छ । 

पाठेघरको भित्रपट्टि पनि क्यान्सर हुन्छ, यसलाई इन्ड्रोम्टियम भनिन्छ । त्यो भनेको पाठेघरको मुखको क्यान्सर हो । पाठेघरको भित्र, बाहिर, अण्डासयमा यो खालको क्यान्सर हुन्छ । 

dr sarita ghimire (5)

–पाठेघरको मुखमा क्यान्सर भयो भनेर पहिल्यै थाहा पाउन चाहिँ सकिँदैन ?

नफैलिएसम्म पाठेघरको मुखको क्यान्सरले समस्या दिँदैन । त्यसैले धेरैले परीक्षण पनि गर्दैनन् । तर समय समयमा क्यान्सर छ कि भनेर परीक्षण गरेमा भविष्यमा क्यान्सर हुन्छ, हुँदैन भनेर थाहा पाउन सकिन्छ । यो क्यान्सर हुनुभन्दा १४, १५ वर्षअगाडि नै स्क्रिनिङ गरे पनि थाहा पाउन सकिन्छ । 

–पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडि स्क्रिनिङ गरी उपचार गरेमा जटिल अवस्था नपुगी निको हुन्छ भन्नुभयो । के हो यो स्क्रिनिङ भनेको ?

यसबारे भिजुअल इन्स्पेक्सन विथ एन्सेटिक एसिड (भीआईए) परीक्षण भनेर राष्ट्रिय निर्देशिकामा पनि उल्लेख गरिएको छ । सरकारले पनि सबै सेन्टरमा भीआईए परीक्षण पुर्‍याउन कोसिस गरिहेको छ । यो भीआईए परीक्षण स्वास्थ्य संस्थाका नर्सहरूले तीन चार दिन तालिम लिएपछि उहाँहरूले पनि पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन सक्छन् । भीआईएलाई टेस्ट, प्याप स्मेयर र एचपीबी डीएनए परीक्षण गरेर थाहा यस क्यान्सरबारे जानकारी पाउन सकिन्छ ।

 यीमध्ये प्याप स्मेयर राम्रो परीक्षण हो । यो परीक्षण सुरु भए सय वर्ष पुग्न लाग्यो । तर गुणस्तरीय परीक्षण गरिएन भने नतिजा राम्रो नदिन सक्छ । 

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा ६, ७ महिनाअगाडि परीक्षण गर्दा क्यान्सर पत्ता नलागेको, पछि क्यान्सर भएको गुनासो क्यान्सरपीडितहरूबाट आउने गरेको छ, के राम्रोसँग परीक्षण नभएर हो ?

यो परीक्षण विश्वासिलो हो तर परीक्षणका क्रममा त्यसको गुणस्तर कायम गरिएन भने नतिजा राम्रो नआउन पनि सक्छ । मेरो १४ वर्षको अनुभवमा पनि प्याप स्मेयर परीक्षण गर्दा रिपोर्ट सामान्य आएका तर पाठेघरको तलपट्टि क्यान्सर भई मासुको डल्लो नै पलाइसकेका बिरामी भेटिएका छन् । यस्तो अवस्थामा बिरामीले रिपोर्ट सामान्य छ, केही भएको छैन भनेर विश्वास गरिहाल्नु हुन्न । तर यसबारे क्यान्सरपीडित महिला र उनका परिवारलाई बुझाउन निकै गाह्रो हुन्छ । प्याप स्मेयर परीक्षणमा गुणस्तर बनाउन सकिएन भने कहिलेकाहीँ सही नतिजा नआउन सक्छ । 

–दुर्गम भेगका महिलासम्म यस्ता खालका परीक्षण पुर्‍याउन कति सम्भव छ ?

परीक्षणका लागि प्रयोगशालाको आवश्यक पर्छ । दुर्गममा प्रयोगशालाको अभाव छ । त्यस्ता ठाउँमा घरघरबाट नमुना सङ्कलन गरेर पनि ती परीक्षणहरू गर्न सकिन्छ । यसमा सेल्फ स्याम्पलिङ गरेर स्वास्थ्य संस्थामार्फत प्रयोगशालामा लगी परीक्षण गर्न पनि सकिन्छ । यो विधिबाट परीक्षण गरेमा क्यान्सर हुनुभन्दा अगाडि नै थाहा हुन्छ र शारीरिक, मानसिक र आर्थिक रूपमा खासै समस्या पनि हुँदैन । 

dr sarita ghimire (9)

जस्तै सय जनाको नमुना सङ्कलन गर्दा ६, ७ जनालाई यसका लक्षण देखिन सक्छ । त्यसपछि पोजेटिभ देखिएकाहरूलाई मात्र स्वास्थ्य संस्था बोलाए पुग्छ । खर्च पनि कम हुन्छ । 

स्क्रिनिङ त सरकारले निःशुल्क गरेको छैन, कतिको महँगो पर्छ ?

एसपीभी स्क्रिनिङ हेर्दा महँगो देखिए पनि ३०, ३२ वर्षपछि रोग लागेर हुने खर्चभन्दा धेरै नै सस्तो हो । एसपीभी नेगेटिभ छ भने पाँच वर्षपछि परीक्षण गर्दा पनि हुन्छ । 

विश्व स्वास्थ्य सङ्गठनले पनि क्यान्सरलाई २०३० सम्ममा उन्मूलन गर्ने भनेको छ । महिलामा सर्भिकल क्यान्सर बढी देखिएको छ । अहिले स्तन र पाठेघरका क्यान्सरका बिरामी बराबर सङ्ख्यामा देखिएको छ । 

–पाठेघरको मुखको क्यान्सर भएकाहरूको उपचार गरेर पुनर्जीवन दिन कतिको सकिन्छ ? 

जुनसुकै क्यान्सर लागेपछि पुनर्जीनव दिन निकै गाह्रो हुन्छ । तर राम्रो खालको उपचार पद्धतिको विकास हुँदै गएकाले धेरैजसो क्यान्सरको रोगथाम भने हुन्छ । क्यान्सर लागिसकेपछि शत प्रतिशत नै निको हुन्छ भन्न हामी जहिले पनि डराउँछौँ । बिरामीको रोग पुनः फिर्किएर आउने हो कि भन्ने डर भइराख्छ ।

जतिसुकै उपचार गरे पनि पूर्ण निको हुने सम्भावना कम हुन्छ । बच्चाहरूका लाग्ने क्यासरको चाहिँ यो यो उमेरसम्म आएन भने अब क्यान्सर फर्किंदैन भन्न सकिन्छ । क्यान्सर लागिसकेपछि शत प्रतिशत फर्किंदैन भन्न चाहिँ सकिँदैन । निको नै नहुने होइन तर निको भए पनि बल्झिने डर हुन्छ । 

अन्य क्यान्सरका बिरामीलाई भन्दा पाठेघरको मुखको क्यान्सरका रोगीलाई बचाउन सकिने सम्भावना धेरै हुन्छ । त्यसैले पाठेघरको स्क्रिनिङ बेलाबेलामा गर्नुपर्छ भनिएको हो ।

–नेपालमा रोग लाग्नुभन्दा अघि स्वास्थ्य परीक्षण गराउने बानीको विकास भएको छैन । तर यो अवस्थामा पनि नेपाल केयर क्यान्सर फाउन्डेसनमा पाठेघरको स्क्रिनिङ गर्न महिलाहरू कतिको खुलेर आउँछन् ?

 यो संस्था स्थापना कालमा अप्ठ्यारो नै थियो । धेरै कम महिला स्क्रिनिङका लागि आउँथे । तर आजभोलि परीक्षण गर्न आएका २०, २२ जनामध्ये ४, ५ जना महिला आफैँ परीक्षण गर्न आएको भन्छन् । सारै खुसी लाग्छ । मलाई केही पनि समस्या देखिएको त छैन तर छिमेकी साथील भनेर, स्क्रिनिङ गर्र्नुपर्छ भन्ने आफैँ थाहा पाएर आएको भन्नेहरू पनि छन् । विगतको तुलनामा धेरै महिलामा यो रोगप्रति सचेत छन् । 

राजधानी जस्तो ठाउँमा त स्क्रिनिङ गर्नुपर्छ भन्ने जानकारी छैन भने दुर्गमका महिलाहरू कसरी स्क्रिनिङ गर्न स्वास्थ्य संस्था पुगुन् ? यस विषयमा जनचेतनाको अझै कमी छ । यही कारण रोग नलागीकन किन परीक्षण गर्न जाने भन्ने मानसिकताले जारो गाडेको छ ।

dr sarita ghimire (2)

–पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अघि लक्षण थाहा पाइँदैन भन्नुभयो, भई सकेपछि कस्ता खालका लक्षण देखिन्छ ?

अतिकति ध्यान दिइयो भने यसका लक्षण थाहा पाउन सकिन्छ । जस्तो महिनावारी नभएको बेलामा पनि बीचबीचमा रगत बग्ने गर्छ । रगत र बेलाबेला पानी मिसिएको रगत आउन सक्छ । केहीलेकाहीँ पीपजस्तो गनाउने बगेकोबगै पनि गर्न सक्छ । यस्तो भएमा पाठेघरको मुखको क्यान्सरका लक्षण भन्ने बुझ्नुपर्छ ।

तर क्यान्सर हुनुभन्दा अघि कुनै पनि लक्षण देखिँदैन । त्यसैले लक्षण नै नदेखिई परीक्षण गरेमा भविष्यमा क्यान्सर हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिन्छ । मानौँ कसैलाई १० वर्षपछि क्यान्सर होला तर आज परीक्षण गरियो भने १० वर्षपछि क्यान्सर लाग्ने नलाग्ने थाहा पाउन सकिन्छ । त्यसैले स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि पाठेघरको मुख परीक्षण गर्न जानुपर्छ ।

–उपचार गर्नुभन्दा पनि रोग नै लाग्न नदिन भनेर स्थापना गरिएको यो संस्थाले केके काम गर्छ ?

यस संस्थाले सरकारीका अस्पतालको तुलना न्यून सेवा शुल्क लिएर पाठेघरको मुखको स्क्रिनिङसँगसँगै स्तनको स्क्रिनिङ पनि गर्दै आएको छ । यो संस्था स्थापना भएको सात वर्ष भयो, तीन वर्षसम्म निःशुल्क सेवा दिएका थियौँ । 

फाउडेसनमा आएका महिलालाई पछिल्लो समय आफ्नो स्तन कसरी जाँच्ने भनेर सिकाउँछौँ । पढ्न सक्नेहरूलाई घरमा र मिलेसम्म छिमेकमा गएर महिलाहरूलाई पनि सिकाउनु भन्छौ । ४० वर्षभन्दा माथि महिलालाई एक एक वर्षमा मामोग्राफी गर्नुभनेर बुझाउँछौँ । विकट जिल्लाहरूमा पुगेर क्याम्प सञ्चालन गरिरहेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप