मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गर्न चीनसँग आग्रह

शनिबार, २१ माघ २०७९, २० : ०३
शनिबार, २१ माघ २०७९

काठमाडौँ । होटल सङ्घ पोखरा नेपालले काठमाडौँस्थित चिनियाँ राजदूतावाससँग नेपाललाई पनि गन्तव्य राष्ट्रको सूचीमा समावेश गर्न आग्रह गरेको छ ।  सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई आग्रह पत्र प्रस्तुत गर्दै कोभिड–१९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गरे । 

सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आशावादी भएको समयमा चीनका तर्फबाट सार्वजनिक २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा सङ्घ निराश भएको आग्रह पत्रमा उल्लेख छ ।  कोभिडसँगै भ्रमण स्थगनको करिब तीन वर्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूची अनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदैछ । दूतावासलाई लेखिएको पत्रमा सार्वजनिक गरिएको देशको सूचीलाई पुनःविचार गरी नेपाललाई पनि त्यसमा समावेश गर्न आग्रह गरिएको छ ।

उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड–१९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न र दुई देशबीचको सदिऔँ पुरानो सम्बन्ध थप प्रगाढ बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । घुम्नका लागि नेपाल प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रुपमा धनी रहेको स्मरण गराउँदै सङ्घले यहाँको हावापानी पनि चिनियाँ पर्यटकका लागि उपयुक्त रहेको पत्रमा बताएको छ । 

चिनियाँ पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधिमा पनि उनीहरू सरिक हुने गरेको पत्रमा उल्लेख छ । पोखरामा चिनियाँ पर्यटकका लागि आवश्यक सबै सुविधा उपलब्ध रहेको र चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनीले चीनकै एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहायतामा निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यही माघ १ गते उद्घाटन गरिएको विषय पनि पत्रमा स्मरण गराइएको छ ।

सङ्घको पत्र सम्बन्धमा राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए । पत्रको सम्बन्धमा आज फोनमार्फत् चिनियाँ राजदूतले चाँडै नै नेपाललाई गन्तव्य सूचीमा राख्ने आश्वासन दिएको र पोखरा एवं नेपालप्रति चीन सकारात्मक रहेको राजदूतले भनेको सुवेदीले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप