सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

मैदान बाहिर सफल एन्फा

सोमबार, २३ माघ २०७९, ११ : ३७
सोमबार, २३ माघ २०७९

काठमाडौँ । गत असार ६ गते कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकज विक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)का नयाँ अध्यक्षको रूपमा आए । फुटबल विकासको नारासहित नेम्वाङको कार्यकाल सुरु भएको आठ महिना पुग्न लाग्यो । तर नेपाली फुटबललाई नयाँ दिशातर्फ लैजाने भन्ने उनको योजनको सुरुवात भने सुस्त नै छ । 

नेम्वाङले ए डिभिजन लिग गर्ने मिति नै तीन पटक सारिसकेका छन् । उनकै पालामा नेपाली राष्ट्रिय टोलीका उदाउँदा खेलाडीहरू विदेशतर्फ लागेका छन् । जुन रफ्तारले उनले नेपाली फुटबललाई अघि बढाउने अपेक्षा गरेका थिए, त्यसमा सफलता हात पर्न सकेका छैनन् । 

केही दिन अघि भने नेम्वाङलाई ठूलै सफलता हात परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)को कार्यकारी सदस्यमा उनले बाजी मार्न सफल भए । मैदान बाहिर उनका लागि ठूलो सफलता हो । 

नेम्वाङ कार्यकालको जग नै कमजोर 

मैदानबाहिर नेम्वाङ सफल भइरहँदा मैदानभित्र भने नेम्वाङले आफ्नो कार्यकालको आठ महिना सकिँदा नेपाली फुटबललाई ठूलो सफलता दिलाउन सकेका छैनन् । 

चुनाव ताका उनले ए डिभिजन लिग सफल बनाउने कुरा पहिलो प्राथमिकतामा राखेका थिए  । तर, लिग उनी अध्यक्ष बनेको नवौँ महिनामा मात्र बल्ल सुरु हुनेछ । एन्फाले फागुन १८ गते लिगको मिति तय गरेको छ । पहिलो पटक लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ । क्लबहरूले आनाकानी गर्दै डबल राउन्ड रोबिनका लागि सहमति जनाएका छन् । 

यता कार्यसमितिमा पनि नेम्वाङ अहिले अल्पमतमा छन् । एन्फामा स्पष्ट तीन धार हुँदा नेम्वाङलाई कुनै पनि निर्णय गर्न असहज हुँदै गएको छ । पूर्व अध्यक्षहरू गणेश थापा र कर्मा छिरिङ शेर्पा प्यानलले कुनै पनि निर्णय गर्न चाहेमा मात्र सर्वसम्मत पारित हुने अवस्था छ । त्यसैले अहिले उनी जर्मन नागरिकको सहारामा अघि बढिरहेका छन् । 

जर्मन नागरिक नवीन पाँडेले अहिले एन्फा अध्यक्ष नेम्वाङलाई सल्लाह दिन्छन् । नेतृत्वमा आउँदा पहिलो निर्णय नै नेम्वाङले नवीन पाँडेलाई विदेश विभाग दिने निर्णय गरेका थिए । 

उनको पहिलो निर्णयले नै एन्फामा स्पष्ट तीन धार भएको साबित गर्‍यो । विवादपछि पाँडे विदेश विभाग प्रमुखबाट बाहिरिन बाध्य बने । तर, नेम्वाङले उनलाई बाहिर भने रहन दिएनन् । पछि आफ्नै मुख्य सल्लाहकार बनाएर राखे । नेम्वाङले आफ्नो पहिलो दुई महिने कार्यकाल त नियुक्तिको विषयमा छलफल गर्दै बिताए । 

नेम्वाङको कार्यकालको मुख्य चुनौती भनेको लिग समयमा नै गर्ने थियो । लिग समयमा नै गर्ने योजना बनाएका नेम्वाङ कहिले आफ्नै कुरामा चुके भने कहिले क्लबहरूको बहसका कारण चुके । उनले लिग गर्न त लागेका छन्, तर तोकिएको मितिबाट धेरै पर सरेर । जसले गर्दा नेपाली खेलाडीहरू खोज्न अहिले लिगका क्लबहरूलाई धौ–धौ भएको छ । टिमहरूले अहिले विदेशी कोटा बढाउन एन्फासँग आग्रह गरिरहेका छन् । 

नेम्वाङ कार्यकालमा सबै कुरा शून्य भने भएको भने होइन । नेपालमा साफ फुटबलको आयोजना गर्नु देखि लिएर डबल राउन्ड रोविनका आधारमा लिग गराउने विषय पारित गर्नु उनको ठुलो सफलता हो । 

चार वर्षे कार्यकालको सुरुवातमै भोटको चटारो 

नेम्वाङले एन्फा सम्हालेको लामो समय भएको छैन । उनको चार वर्षे कार्यकालमा राम्रो काम गर्दै भोट बटुल्न सक्थे । तर, उनले अहिलेदेखि नै भोट बटुल्ने अभियान सुरु भएको झल्को देखिन्छ । 

ए डिभिजन लिगका क्लबहरूले लिगको तयारी खर्च नभएसम्म लिग नै नखेल्ने बताएका थिए । तयारी खर्चका विषयमा कुरा चलाउन एन्फाले लिगको मिति सार्‍यो । अर्को पटक पनि लिगका क्लबहरूले तयारी खर्च नपाएको भन्दै एन्फाले दोस्रो पटक पनि मिति सार्‍यो । 

नेम्वाङ कार्यकालको विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको बर्खास्ती पनि थियो ।

तयारी खर्च नलिएसम्म लिग खेल्न नमान्ने क्लबहरूलाई एन्फाले कारबाही गरेर सात क्लबलाई समेट्दै लिग खेलाउन सक्ने अधिकार छ । तर उनले कसैलाई चिढाउन चाहेनन् । बरु लाचारता देखाएर क्लबहरूसँग सहमति गर्दै एन्फाले लिगको समय परिवर्तन गर्‍यो । खेलाडीहरू लिगको समय परिवर्तन भएकै कारण पनि विदेशीन बाध्य भए । 

विवादमा सीमित आठ महिना 

शेर्पाको कार्यकालमा नेम्वाङको एउटै धारणा थियो, एकल निर्णय गरेर नेपाली फुटबललाई धरापमा पारेको । अहिले आफू नेतृत्वमा पुग्दा भने धारणा परिवर्तन भएको छ । अहिले एन्फामा हुने सबै निर्णयहरूमा एन्फा कमजोर देखिन्छ । कारण दुई धारे एन्फा राजनीति । त्यसै कारण पनि अहिले नेम्वाङले गरेका निर्णयहरूमा विवाद आउने गरेका छन् । 

नेम्वाङले नवीन पाँडेको नियुक्ति देखि विदेशी प्रशिक्षक प्रदीप हुँमागाई नियुक्त गर्दा पनि विवाद सिर्जना भएको थियो । जसका कारण एन्फाले आफै माफी माग्नु परेको थियो । विश्वकपको टिकटमा पनि अनियमितता भएको एन्फामा अहिले चर्चा चलिरहेको छ । एन्फाले आफूखुसी टिकट वितरण गरेको भन्ने विषय अहिले पनि समाधान भएको छैन । 

यता नेम्वाङको कार्यकालमा नै ए डिभिजन लिग क्लबहरूले तयारी खर्च नदिएको भन्दै लिग नै खेल्न नमान्दा नेम्वाङलाई अर्को समस्या गरेको थियो । 

नेम्वाङ कार्यकालको विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको बर्खास्ती पनि थियो । आफू एन्फा अध्यक्ष भएकै समयमा खेलाडीहरूलाई न्याय दिने र प्रशिक्षक बर्खास्त गर्ने बताएका नेम्वाङले पुराना कुरा भुल्दै प्रशिक्षकलाई पुनः नियुक्ति दिनुपर्ने स्थितिमा पुगेका थिए । अन्तिममा कतार राजदूतावासको सहयोगमा अल्मुताइरीलाई बर्खास्त गर्न सफल भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप