सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध आन्दोलन घोषणा

आइतबार, २९ माघ २०७९, १४ : ०६
आइतबार, २९ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । 
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले फागुन ५ देखि आन्दोलन गर्ने बताएका हुन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । 

बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ । 
नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले भूकम्प, कोरोना महामारीलगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेको बताए । बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीहरुले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उनको भनाई छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैकहरु फाइदामा लगानीकर्ता घाटामा भएको बताए । कोभिडदेखि यातायात व्यवसाय अस्तव्यस्त भएको उनको भनाइ छ । अहिले सबैको पेशा व्यवसाय बामे सरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा पारेको उनको आरोप छ । 

‘सुरुवातमा बैक तथा वित्तीय संस्थाबाट हामीले जतिमा बैंक ऋणीको सहमतिमा हामीले लोन लिएका हुन्छौं । सो लोन आज ऋणीलाई पनि नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पुर्याएका छन् । यो कहाँको दादागिरी हो ? यसैका लागि सरकारलाई हामीले बुलन्द ढंगबाट अनुरोध गरिरहेका छौँ । हामी अन्यायमा परेका छौँ,’ उनले भने । 

यातायात क्षेत्रले प्रत्यक्ष रूपमा ११ लाख जनशक्तिलाई रोजगार दिइरहेको स्मरण गर्दै उनले अहिले उक्त व्यवसाय धरापमा रहेको बताए । भारतबाट नेपाल छिरेका मालवाहक सवारीसाधन ओभरलोड बोकेर काठमाडौंदेखि पूर्व पश्चिम गइरहेको बेलामा नेपालका नेपालका यातायात व्यवसायी चाहीँ काम नगरी बस्ने दिन आएको उनको भनाई छ । यातायात क्षेत्रका व्यवसायी लिलामको लाइनमा रहेको उनको भनाइ छ । गरिखान देऊ भन्दा पनि व्यवसायीको गुनासो सरकारले नसुनेको उनको आरोप छ । नेपालका घाटा नभएको व्यवसायमा बैंक र इन्सुरेन्स रहेको र केही व्यक्तिले देशको सिंगो अर्थतन्त्रलाई मुठ्ठीमा राखेको उनको आरोप छ । 

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताए । 
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई राजस्व बुझाउने श्रेत्र साना व्यवसायी भएको उनको दाबी छ । 

नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम् कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण सम्पूर्ण व्यवसायीहरू प्रेम आचार्य हुने अवस्था आएको बताए ।  
नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले कोभिड–१९ को मारमा परेका व्यसायीको संरक्षण गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले चर्को रुपामा व्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाए । बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको उनले बताए । 

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका कोषाध्यक्ष धर्मराज रिमाल, नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप