शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार नेपाललाई

बिहीबार, ११ फागुन २०७९, २० : ५१
बिहीबार, ११ फागुन २०७९

बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा स्थापित पुरस्कारको राशि ५० हजार १११ रुपैयाँ छ । बैंकले पत्रकार महासंघ रुपन्देहीमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गत वर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो ।

पुरस्कृत पत्रकार नेपाल दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै हाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत छन् ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशिको चेक र कदर पत्र प्रदान गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ ।

पुरस्कार वितरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देशन अनुसार अघि बढेकाले शाइन रेसुंगा काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको उल्लेख गरे ।

बैंकहरु लगानीकर्ताको नभई जनताको (निक्षेपकर्ताको ) हो भन्ने तथ्यलाई आत्मसात् गरेकाले सबैको विश्वसनीय र रोजाईको बैंक बन्न सफल भएको उनले बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवका अवसरमा १४ हजार वृक्षरोपण गरेको, डिजिटल बैकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागी गराएको, वन वाटिकाको टिकटिङलाई अनलाइन गरिएको र डिजिटल स्कूल परियोजना अन्तर्गत १५ वटा सरकारी विद्यालयमा २० लाख रुपैयाँ बराबरको उपकरण प्रदान गरेको बताए ।

यस्तै शाइन उद्यमशीलता कार्यक्रम अन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थी र युवालाई उद्यमशील बनाउन र स्वरोजगार अभिवृद्धि गर्न ३३ वटा क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम गरेको उनले बताए । प्रदेश १ र मधेस प्रदेश बाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेको सो बैंकका ६० प्रतिशत शाखा ग्रामीण क्षेत्रमा रहेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप