शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

फूलमाया– ७

शनिबार, २३ जेठ २०८३, १६ : ३०
शनिबार, २३ जेठ २०८३

सारांश

  • साहु कान्छाको घरमा पञ्च भलाद्मीको बैठक बस्यो जहाँ गन्जबहादुरलाई फूलमायाले चोरी गरेको आरोपमा सत्र सय बिगो तिर्नुपर्ने वा घर निकाला हुनुपर्ने निर्णय सुनाइयो।
  • गन्जबहादुरले आफूलाई केही थाहा नभएको र फूलमायाले चोरेको विश्वास नलागेको बताए।
  • फूलमायाले आफू निर्दोष रहेको र झुटो आरोप लगाएको भन्दै गन्जबहादुरको नामर्दीपनको आलोचना गरिन्।

साहु कान्छाका घरमा एक हुल भलाद्मी जम्मा भए । आँपका पातका बिचबाट छिर्दै भुइँसम्म आइपुगेका झुल्के घामका मधुरा किरणले स्याउले बजारलाई म्वाई खाए । पर्धान बाजे छालाको मुडामाथि गम्भीर मुद्रामा बसेका थिए । र साहु कान्छो रहस्यमय आँखाले उसलाई हेर्दै के–के भन्दै थियो । पर्धान बाजेले दुईपल्ट दायाँ–बायाँ र दुईपल्ट तलमाथि मुन्टो हल्लाए ।

गन्जबहादुर काखीमुनि हात राखेर घोस्से मुन्टो लाउँदै चक्रेको पछि लागेर लुरूलुरू आयो । सबैलाई पल्याक्–पुलुक् हेर्र्दै उसले पर्धान बाजेलाई निहुरेर नमस्कार गर्‍यो । ऊ वाल्ल परेर एकछिन उभियो अनि मैलो गुन्द्रीको एक छेउमा टुसुक्क बस्यो । अबोध भेडालाई हेर्ने भोको ब्वाँसोका जस्ता आँखाले भलाद्मीले उसलाई हेरे । अनुहार कालो–नीलो पार्दै ओठ टोकेर उसले घोस्से मुन्टो लगायो ।

“अँ ! गन्जबहादुर के छ त चाल ?” ल्याप्प ओठ चाट्दै पर्धान बाजेले भने– “रकम–कलम त चैन्जोहेरी निकै ल्याइयो भन्ने कुरा सुनिन्छ नि गाउँतिर । चैन्जोहेरी के छ त अब योजना ?”

“हँ बाजे ? कुरो कस्तो पर्‍यो भने बाजे...,” गन्जे अकमकियोे– “म खै के भनूँ बाजे ?”

“अँ ! चैन्जोहेरी अब कुरा थालूँ ! कसो साहु कान्छा ? आफूभित्रको कुरो आफूभित्रै सुल्झ्योस् । चैन्जोहेरी सत्य त्यसैमा छ, न्याय त्यसैमा छ, र के भन्देखि चैन्जोहेरी गाउँको कल्याण र मेलमिलाप त्यसैमा छ । मेरो राय अरुलाई मन नपर्न सक्छ, तर चैन्जोहेरी यो चाहिँ मेरो नौलो नीति हो ।” बडो जानिफकार हुँदै पर्धान बाजेले भूमिका बाँधे– “हेर् गन्जे ! के भन्देखि तेराउपर इन्साफको निक्र्याैल गर्न जुट्या हो यो बैठक । तँ भलो छस् । संसार देखेर आइस् । उसै त इमानी गन्जे त्यसमाथि हिन्दुस्तानको ज्ञान र अनुभवले खप्पिस भएको मानिस । ल तैं भन् अब यो माम्लो कसरी सुल्झाउने हो ?”

“हँ बाजे ?” गन्जे कुहिराको काग हँुदै जिल्ल पर्‍यो । “त्यस्तो के पर्‍यो बाजे हिजोको आजै ?” उसलाई डरलाग्दो सपनामा बाघले झम्टिन आँटेजस्तो लाग्यो ।

“कुरो चैन्जोहेरी नौलो होइन । के भन्देखि गन्जे एउटा टुङ्गोमा नपुगुन्जेल कुरो पुरानो पनि हुँदैन ।” पर्धान बाजेले साहु कान्छालाई पुलुक्क हेरे अनि निकै उत्साहित भए झैं गरी भने– “चैन्जोहेरी तैैंले तथ्य नबुझ्या होलास् भन्न त लाटाले पनि सक्दैन । हँ ?”

“उहुँ... उहुँ... बाजे !”

“अँ ! कुरो कोरोको हो । र चैन्जोहेरी माम्लो चोरीको हो । तेरी फूलमायाले चैन्जोहेरी साबिती बयान दिएकी छे । बिगो चैन्जोहेरी कति रे साहु कान्छा ? अँ... सत्र सय । सत्र सय भनेको चैन्जोहेरी अनिकाले कलिजुगमा ठूलो कलम होइन । र के भन्देखि ठूलो कुरो इज्जत हो । मर्दको इज्जत । इमानका बच्चाको लाख रmपियाँको इज्जत । इमान–जमानबमोजिम चलिस् भने चैन्जोहेरी साहु कान्छाका दयाधर्मका आँखा नउघ्रेलान् भन्न सकिन्न । कुरो आफन्तबिचको हो । र इज्जत भनेको चैन्जोहेरी हाम्रो साझा सम्पत्ति हो । लौ भन्, अबलाई चैन्जोहेरी छिनोफानो गर्नुपर्‍यो ।”

“थाहा छैन बाजे ! क्यै थाहा भए म अहिले मरिजाऊँ ।”

“किन बुझ पचाउँछस् हो गन्जे मुला !” साहु कान्छाले बुद्धि लडायो– “ढुङ्गो–माटोलाई समेत थाहा भको कुरो यत्तिका बाठाले चाल नपाउला भनेर कल्ले पत्याउँछ ? हँ पर्धान बाजे ?”

“मुनासिप । चैन्जोहेरी सच्चा कुरो ।”

“उस्तै मान्छेका फेला पर्‍या भा तेरी स्वास्नी उहिल्यै झ्यालखान्मा सड्ने ।” आँखा झिमझिम् पार्दै साहुले भन्यो– “तेरै इमान–जमान सम्झी तेरै मुख हेरेर मैले मन बाँधें । अड्डा–अदालत धाउने काम गरिनँ । यस कुराँ पर्धान बाजेको गुन पनि अग्घोरै ठूलो छ । यहाँकै बुद्धि र कृपाले गर्दाहुँदी त हो तेरा घर जहानको जहाज नडुबेको । सारा पञ्च भलाद्मीको यस कुराँ ट्याक्कै एकमतो छ ।” लालची आँखाले उसले सबैलाई एक फन्को हेर्‍यो । “यदि हुँदाहुँदै पनि तँ आनाकानी गर्छस् भने हेर् गन्जे ! मलाई कानुनमुताबिक गर्न गराउन करै लाग्छ । लौआफ्नो कुरो छोटकरीमा भन् ।”

“मलाई साँच्चो–साँच्चो कुरा थाछैन बा ! फत्तुरको बिगो भराउने गछ्छे पनि मेरो छैन ।”

“अझ फत्तुर ? अझ उल्टो तैं जिरह गर्छस् ?”

“था छैन भन्न पनि नपाइने ?”

“कुरो चर्काउनाले चैन्जोहेरी मैले चैं दोहोरो नोक्सानी देख्या छु । गन्जेको जहानै झ्यालखानको नर्कमा डुब्ने र यता चैन्जोहेरी साहु कान्छाको इज्जतमा पनि खोट लाग्ने । गाउँको भलाद्मी वेक्तिको हैसियतले चैन्जोहेरी म त के भन्छु भने गन्जे तँ पनि आफ्नो खौलो आफैं नखन् । र साहु कान्छा हजुरले पनि बिगोमध्येको दुईचार पैसो होलो खुकुलो गर्दिनुपर्‍यो । राग बढाउन छाडेर मेल बढाउनु चैं चैन्जोहेरी जुगजमानाको मागै हो ।”

“था नभको वेभारमा म क्यै भन्न सक्दिनँ पर्धान बाजे ।”

“तैंले खोजेकै होस् त ?”

“सीताराम ! सीताराम !! सीताराम !!!”

“त्यो स्वास्नी चाइने चोर्नी राँडलाई सिस्नुपानीले गलाएपछि बल्ल आँखा देख्छ यल्ले ।” पिँडीको सुरमा चामल केलाइरहेकी साहुनी कान्छीले जर्कटो स्वरमा भनी ।

फूलमायालाई डाक्न पठाइयो ।

जीवनको निर्णायक संग्राममा न्वारानदेखिको बर्कतबुता सँगालेर ओर्लिएको लडाकु झैं अनुहारमा क्रोध र नशामा उत्तेजना लिएर फूलमाया फटाफट आई । थानीय ठालुहरुको थिचोमिचो र जीवनको असह्य हुर्मतले उसलाई विद्रोहको पहिलो पाठ सिकायो र त्यसै पाठले आजसम्म उसलाई जिउँदो राख्यो । बडो रिसाहा आँखाले उसले सबैलाई पल्याक्–पुलुक हेरी । र पिँडीको डिलमुनि ठिङ्ग उभिई ।

“हाम्रो पुरानो अल्झो सुल्झाउँ कि भनेर याँ डाकिपठा हो ठूली छोरी !” साहु कान्छाले गन्जे र फूलमायालाई पालैपालो हेर्दै भन्यो । “बिरानोे वेभारले ज्वाइँलाई अल्लि अल्मल्यायो । तिमीले खुलस्त गर्दिनुपर्‍यो ।”

“केको वेभार ?” फूलमायाले कम्मरमा हात राखेर डाकोले निल्न खोजी ।

“कुरो उही कोरोको हो र के भन्देखि चैन्जोहेरी माम्लो उही चोरीको हो । तथ्य कुरो के भन्देखि फूलमाया नानी ! कानुनलाई डाकोले निलेको प्रमाण यस जगत्मा मैले चैं देख्या छैन है । कि जितिन्छ इमानले, कि नरमपनले । कि के भन्देखि चैन्जोहेरी दुःखका वचनले ।”

“झुटो फत्तुर फेरि उल्टाउने तिमेरु को हौ ?”

“उल्टाउने के भन्देखि चैन्जोहेरी कानुन हो । यसमा कल्लाई दोष ?”

“तिम्रा कानुनले के लछार्छ लौ त हेरूँ ।”

“देखिस् गन्जे । स्वास्नीको अर्घेल्याइँ तैंले चैन्जोहेरी पर्तछ्छे देखिस् होइन ?” पर्धान बाजेको स्वरमा रिसको ताप चढ्यो– “यस्ती अलच्छिनीले चोरिन भनेर तँ किटान गर्न सक्छस् ? मान्छे चैन्जोहेरी कि बिग्रन्छ कामले, कि बिग्रन्छ वचनले । र यो चैं चैन्जोहेरी दुवै कुराले बिग्रिई । लामा हात गर्ने पनि आफैं, दुर्वाच्य बोल्ने पनि चैन्जोहेरी आफैं । र के भन्देखि मैले तँलाई पटक–पटक जानकारी दियाथें नि– हुल्याहासँग यसको आवत–जागत छैन भनेर तँ किटान गर्न सक्छस् ?”

“के कुरैकुराले उल्लीबिल्ली पारेर झुटो बिगो भराउँला भन्ने दाउ छ अझै ?” फूलमायाले दाह्रा किटी ।

“अझ दाउ भन्छेस् ?” चामल केलाउँदा केलाउँदै गरेको नाङ्लो भुइँमा बजार्दै साहुनी कान्छीले सातो लिन खोजी– “ठूलाबडाका अगाडि खोज्छेस् जोरी ।”

“झुटो फत्तुरमा जोरी नै सही, के लछार्छौ ?”

“देखिस् गन्जे ?” अँध्यारो मुख लाउँदै साहु कान्छाले भन्यो– “यस्ती असत्तीको पोइ हुनुभन्दा त बरm राँडो हुनु जाती ।”

“कुरो लम्व्यार चैन्जोहेरी म क्यै फलिफाप देख्दिनँ । अँ ! गन्जबहादुरजी, अब कि बिगो तिर्छु भन्नुपर्‍यो कि चैन्जोहेरी जाकिए झ्यालखानै जाकिउँला यत्रैसिति भन्नुपर्‍यो ।”

“मलाई क्यै थाछैन बाजे । म क्यै भन्न सक्दिनँ ।”

“फूलमायाले चोरेकै हो भन्ने विश्वास त लाग्छ कि ?”

“दैव जानोस् बाजे ! म क्यै जान्दिनँ ।”

“ए बाबा ! स्वास्नी त चैन्जोहेरी हाम्रा पनि छन् नि । मान्छे भनेको के भन्देखि एक इशारामा चिन्ने आँखा यिनै हुन् । हामी जत्तिका भद्र भलाद्मीलाई ठाडै डाकोले टिप्ने आइमाईले चोरेकै होइन भनेर चैन्जोहेरी तँ ठोकुवा गर्न सक्छस् ?”

गन्जे र फूलमायाले एकअर्कालाई हेराहेर गरे ।

“पिर्थिवी पल्टे पनि फत्तुरको बिगो कसैले तिर्दैन, चोट्टा कुरा !” फूलमाया हात हल्लाउँदै गई ।

“देखिस् गन्जे,” पर्धान बाजेले बडो पेच परेको स्वरमा भने– “तेरी स्वास्नीको चर्तिकला देखेर संसारै जिल्ल पर्‍या छ । मेरो ज्यानमाथि दागा धर्ने, साहु कान्छाको थुतुनो मुतमा जोत्ने, सिरानघरे बिचारी माइलाका मुखाँ चैन्जोहेरी मोसो पोत्ने । हुँ ! ती हुल्याहासँग तेरी स्वास्नीको पक्कै लसपस छ । म चैन्जोहेरी के कुरो किटेर भन्छु भने तँलाई समेत हुल्याहाले भडखाराँ जाकेनछन् भने मलाई नभन्नू ।”

“लौ यस माम्लोको फैसला गन्जे आफैंले गरोस् ।” झर्किंदै साहु कान्छाले सुस्केरा हाल्यो ।

“मलाई थाहासुद्धि क्यै छैन बा ! व्यर्थैमा भुङ्रोमा परें ।”

“यसकी स्वास्नी खोराँ थुन्नुपर्ने खालकी निक्लिइछे ।” एउटा भलाद्मीले भन्यो ।

“स्वास्नीको कसुर सरासर लोग्नेकै कसुर हो । यल्ले कि ठीक जवाफ देओस् कि नतिजा भोगोस् ।” अर्कोले भन्यो ।

“पुज्नुपर्ने मान्छेसँग आइमाईले मुखमुखै लागेको देख्दा त गाँठ्ठे... जिल्लै परियो ।” अझ अर्कोले सुस्केरा हाल्यो ।

“यो क्यै हैन ।” पर्धान बाजेले दिक्क भएका आँखाले सबैलाई हेर्दै भने– “यो चैन्जोहेरी कलि व्याप्त भको हो । अब बिगो भराउने अथवा चैन्जोहेरी दया धर्म सम्झेर यल्लाई माफी दिने काम साहु कान्छाका मुखमा छ । यल्ले खाएको कसुर त छैन, तर परिवन्दले के भन्देखि यो अभागी पर्‍यो । यल्ले कि स्वास्नीलाई हुल्याहाको फन्दाबाट छुटाओस् कि भन्देखि चैन्जोहेरी घरबाट निकाला गरोस् र साहु कान्छाको सेवा चाकरी गरोस् ।”

“यसकी स्वास्नीले मलाई दुःखले गरिखाको पचाउन नदिने भई ।” साहुनी कान्छीले बिचैमा भनी– “यो कि अन्तै जाओस् कि स्वास्नीलाई डाँडो कटाओस् ।”

“भन्... तँलाई चित्त बुझ्यो ?” साहु कान्छाले केर्‍यो ।

गन्जे घोस्से मुन्टो लाएर चुपचाप बरिरह्यो ।

“माने तेरै भलो, नमाने चैन्जोहेरी तेरै दोहोलो ।”

०००

“तेरो नामर्दीपन देख्दा मलाई सरम लाग्यो ।” बेलुका आत्मामा आगो सल्केकी फूलमायाले भनी ।

“मैले ढुङ्गामा टाउको ठटार मर्ने त ?” मुन्टो उठाउँदै नउठाइकन दिक्दारीपूर्ण स्वरमा गन्जे बोल्यो ।

“स्वास्नीलाई चोर्नी साबित गर्न खोज्दा खोइ तेरो आँत जलेको ?”

“छाती पिट्दै रोएर कल्लाई सुनाउने मैले ?”

“ती फटाहाको झाँको झार्नुपर्दैन ? झुटो फत्तुर सन्चसँग सुन्न कसरी मन मान्या हो ?”

“ठूला बलियासँग शेखी गरेर हामीलाई पुग्छ ?”

“को ठूलो ?” फूलमायाको प्रश्न छुरीभन्दा तीखो भयो– “त्यो गन्हाउने फटाहा ठूलो ? तिनलाई नसराप्ने को छ गाउँमा ?”

“बास उठ्ठै गरे भने हुँदैन कन्तबिजोक ?”

“कल्ले कल्लाई त्यस्सै पाल्या छ र ?”

“साराले एकगठ भर घेराँ पारेपछि मैले जोरी खोज्न मिल्थ्यो त ?”

“भए नभएको झुटो फत्तुर थोपरेपछि सुँगुरले झैं सहेर बस्ने त ?”

“बस्नुपर्छ । के लाग्छ ? सुँगुरले हात्तीसँग थुतुनो जोड्न गाह्रो छ ।”

“तँ सुँगुरको तहमा पनि गन्ती हुन नसक्ने भइस् ।”

“भन्त... हुल्याहासँगको तेरो नाता के हो ?” गन्जेले कुराको धार बदल्यो र चर्काे स्वरमा सोध्यो ।

“नातापाता म जान्दिनँ ।” हत्तपत्त फूलमायाले जवाफ दिई– “हुल्याहा भनेको फटाहाका मुटुको काँडो हो भन्ने थाहा छैन तँलाई ?”

“यसरी बाठी भर बोल्न तँलाई कल्ले सिकायो ?” गन्जे गज्र्यो ।

“तेरो दुर्मति, मुलुकमारा साहु कान्छाको फट्याइँर पर्धान काठाको जाली चाप्लुसीले ।”

जिल्ल पर्दै गन्जेले फूलमायाका आँखैमा हेर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप