बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशका समस्याहरूलाई समाधान गर्न एमाले पनि मिल्नुपर्छ : अध्यक्ष नेपाल

‘आलोपालोमा प्रधानमन्त्री पाउने हल्ला मात्र’
आइतबार, १४ फागुन २०७९, १८ : ४३
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताउनुभयो । उहाँले सङ्कटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे । 

उनले भने, ‘नेपालमा जस्तो किसिमको चुनौतीहरू देखिएका छन्, ती चुनौतीहरू सामना गर्नलाई देशका सबै राजनीतिक दलहरू एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो । मिलेर जानुपर्छ । देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरू एक भएर जानुपर्छ । सङ्कटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो निजी कुरा हो ।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू भएको टिप्पणी गरे । आफूहरूका बिचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाई छ । उनले वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरूसँग सहकार्य गर्न तयार रहेको बताए । 

उनले भने, ‘वामपन्थी शक्तिहरूलाई हामी मिलेर जानका लागि आव्हान गरिरहेका छौँ । यसको निम्ति यदि समाजवादी शक्तिहरू, वामपन्थी शक्तिहरू राष्ट्रिय इस्यूहरुमा, जनताका इस्यूहरुमा, लोकतन्त्रका इस्यूहरुमा, गणतन्त्रका इस्यूहरुमा, संविधानको इस्यूहरुमा मिलेर जान्छन् भने हामी सहकार्य गर्दै अगाडी बढ्ने छौँ । अझै अगाडी बढ्न चाहन्छन् भने हामी मोर्चा बनाएर पनि अघि बढ्न तयार छौँ । विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्छ र त्यसपछि मन, भावना, संगठन सबै कुरा मिल्छ भने त्यस्तासँग संगठन पनि एकताबद्ध बनाएर जान्छौँ । र हामी कुनै पार्टीमा विलय हुनेवाला छैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप