शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णालीमा अमलाबाट च्यवनप्राश उत्पादन

बिहीबार, १८ फागुन २०७९, ११ : ५७
बिहीबार, १८ फागुन २०७९

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक च्यवनप्राश उत्पादन गरिएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अमलाबाट च्यवनप्राश उत्पादन सुरु गरेको हो ।

च्यवनप्राश मुख्यतया अमलाबाट उत्पादन हुन्छ । ताजा अमला भिटामिन सीको प्रमुख स्रोत हो । आयुर्वेद कार्यालयका प्रमुख डाक्टर शंकर रिजालका अनुसार च्यवनप्राश उत्पादन गर्ने योजना एक वर्ष अघिदेखि बनेको थियो ।

च्यवनप्राश बनाउन पुसदेखि फागुन महिनाको समय राम्रो हुन्छ । यो समयमा अमला परिपक्व हुन्छ । बाहिरी कम्पनीहरुले भने फाइदाका लागि जहिले पनि उत्पादन गर्ने र विक्री वितरण गर्ने गरेका छन् ।

यसरी आयो च्यवनप्राश उत्पादनको ‘आइडिया’

वीरेन्द्रगरकै मेलीका बासिन्दा विनोद ढकालले जंगलमा बहुमूल्य अमला खेर गइरहेको भन्दै वीरेन्द्रनगरमा रहेको आयुर्वेदको कार्यालयमा आएर गुनासो गरे । जंगलमा बग्रेल्ती फलेका अमलालाई रतुवा र बाख्राले खाने गरेको र कुहिएर खेर जाने गरेको उनले सुनाए ।

जवाफमा आयुर्वेद चिकित्सकले सुरुमा अमलाको ‘स्याम्पल’ ल्याउन अनुरोध गरे । ढकालले १५ केजी हरियो अमला कार्यालयमा ल्याए र त्यो च्यवनप्राश उत्पादनका लागि उपयुक्त ठानियो ।

आयुर्वेद डाक्टरहरुले उनलाई च्यवनप्राश उत्पादन गर्न थप अमला ल्याउन अनुरोध गरे । त्यसपछि उनले दुई जना मान्छे लगाएर अमला टिप्न लगाए । माघको दोस्रो सातामै अमला आयो । बाँकी अमलासँगै अन्य ३० वटा जडीबुटी, घ्यु, मह लगायत आवश्यक सबै सामग्री खोजेर आयुर्वेद कार्यालयले नै जम्मा ग¥यो ।

रिजालका अनुसार कच्चा पदार्थका रुपमा प्रयोग हुने केही औषधि कर्णालीमा नपाइने भएकाले काठमाडौंबाट ल्याइएको थियो । यसरी पहिलो पटक कर्णालीमै जडीबुटी प्रयोग गरी च्यवनप्राश उत्पादन भएको रिजाल बताउँछन् ।

कर्णालीमा बहुमूल्य जडीबुटी भए पनि औषधि उत्पादन भने शून्य छ । बरु कर्णालीको जडीबुटी चोरी निकासीका माध्यमबाट बाहिर जाने गरेको छ । आयुर्वेद कार्यालयले भने पहिलो पटक जंगलमा खेर गइरहेको अमलालाई प्रयोगमा ल्याई च्यवनप्राश उत्पादन गरेको हो । च्यवनप्राश उत्पादनमा आयुर्वेद कार्यालयका एलएन तिवारी, यादव उपाध्याय लगायतका डाक्टरहरु खटिएका थिए ।

दुई लट गरी २५० केजी च्यवनप्राश उत्पादन गरिएको आयुर्वेद प्रमुख रिजालले रातोपाटीलाई जानकारी दिए । बाहिरी कम्पनीले उत्पादन गरेको च्यवनप्राशको बजार मूल्य प्रतिकेजी ५ सय रुपैयाँसम्म पर्छ । तर आयुर्वेद अस्पताल तथा आयुर्वेद केन्द्रबाट उत्पादित च्यवनप्राश सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराइन्छ ।

आयुर्वेद कार्यालयका प्रमुख डाक्टर रिजालका अनुसार अहिले प्रदेश सरकारले उत्पादित च्यवनप्राश बेच्ने अनुमति दिएको छैन । यदि बेच्ने अनुमति पाएर व्यावसायिक उत्पादन थालेमा बजारमूल्यभन्दा सस्तोमा आफूहरुले उपलब्ध गराउन सक्ने उनको भनाइ छ ।

dr rijal

च्यवनप्राशको महत्त्व

च्यवनप्राश एक शक्तिवर्द्धक औषधि हो । रोगी र निरोगी दुवै व्यक्तिका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ ।

डा. रिजालका अनुसार खोकी, दम भएका मान्छेले प्रयोग गरेको खण्डमा यसले शक्ति प्रदान गर्छ । स्मरणशक्ति कम भएका व्यक्तिका लागि पनि यो लाभकारी रहने उनले बताए ।

सरकारी बेवास्ता

कर्णाली जडीबुटीले समृद्ध भए पनि यहाँ जडीबुटीको प्रयोगबारे कुनै प्रभावकारी योजना सञ्चालित छैन । जसका कारण कर्णालीका जंगलमा पाइने बहुमूल्य जडीबुटी खेर गइरहेको छ ।

अर्कोतर्फ प्रदेश सरकारले आयुर्वेद कार्यालयलाई समेत बेवास्ता गर्ने गरेको छ । आयुर्वेद डाक्टर यादव उपाध्याय भन्छन्, ‘कर्णालीमा प्रशस्त स्रोत साधन छ, तर त्यसको प्रयोग भइरहेको छैन । सरकारले नै प्रयोग गर्न नीति कार्यक्रम अनुरुप आयुर्वेदलाई प्राथमिकतामा राख्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन ।’

प्रदेश सरकारले आयुर्वेद चिकित्सालाई प्राथमिकतामा राखेको पाइँदैन । कोरोना कालपछि आयुर्वेद चिकित्सामा विश्वास गर्नेहरुको संख्या दिनदिनै बढिरहेको आयुर्वेद कार्यालयको तथ्यांकमा भेटिन्छ । 

चिकित्सकहरु वार्षिक रुपमा जडीबुटी संकलन गर्ने र उत्पादन कार्य गर्न सके खेर गएको जडीबुटीको समुचित प्रयोग हुने विश्वास गर्छन् । जसले स्थानीयको आयआर्जन र आम्दानीको स्रोत बढ्न सक्छ भने प्रदेशको राजस्व वृद्धिको माध्यम बन्न सक्ने प्रमुख डा. रिजालको भनाइ छ । 

‘विद्वानले सबै अक्षरलाई मन्त्रकै रुप देख्छन् भनेझैं आयुर्वेदले पनि सबै स्थानमा भएका रुख, बोटविरुवालाई जडीबुटीको आँखाले हेर्छ,’ उनी भन्छन्, ‘कर्णाली समृद्धिको आधार आयुर्वेद र जडीबुटी पनि हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप