कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
सारांश
- वरिष्ठ अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रको सफलता कलाकारको नाम वा स्टारडमले मात्र नभई कथावस्तु र कलाकारिताले निर्धारण गर्ने बताएकी छन् ।
- उनले आफ्नो समयलाई नेपाली चलचित्रको ‘स्वर्ण युग’ को संज्ञा दिँदै दर्शक र कलाकारबीचको आत्मीयता कम हुँदै गएको उल्लेख गरिन् ।
- कार्यक्रममा अभिनेता बुद्धि तामाङले चरित्र कलाकारहरूको भूमिका विस्तार भएको र अभिनेत्री रेणुनाथ योगीले महिला पात्रको मनोविज्ञानलाई कथामा अझ गहिराइमा समेट्नुपर्नेमा जोड दिए ।
काठमाडौं । वरिष्ठ अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रको सफलता कुनै कलाकारको नाम वा स्टारडमले मात्र नभई कथावस्तु र कलाकारिताले निर्धारण गर्ने बताएकी छन् । काठमाडौमा जारी काठमाडौं कलिङ साहित्य महोत्सव अन्तर्गत ‘सिनेमा : हिजो, आज र भोलि’ विषयक छलफलमा बोल्दै उनले फिल्म राम्रो हुन कथा राम्रो हुनुपर्नेमा जोड दिइन् ।
‘कुनै कलाकारको अनुहार वा नामका आधारमा मात्रै सिनेमा चलेको छैन । हिजो पनि विषयवस्तु नै बोल्थ्यो, आज पनि बोल्छ र भोलि पनि बोल्ने त्यही हो’ उनले भनिन् ।
चलचित्र क्षेत्रमा चार दशकभन्दा बढी समय बिताएकी मल्लले आफ्नो सुरुवाती यात्रा सम्झँदै पहिले पनि कलाकारसँग औपचारिक सम्झौता हुने गरेको तर बीमाको व्यवस्था नभएको बताइन् । अहिले भने बीमा अनिवार्य भइसकेको उनको भनाइ थियो ।
उनले आफ्नो समयलाई नेपाली चलचित्रको ‘स्वर्ण युग’ को संज्ञा दिँदै त्यसबेला दर्शक र कलाकारबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिन् । ‘हामीलाई दर्शकले घरमा बोलाएर दही, मोही र गुन्द्रुकसम्म उपहार दिनुहुन्थ्यो । अहिले त्यो आत्मीयता कम हुँदै गएको छ,’ उनले भनिन् ।
कार्यक्रममा अभिनेता बुद्धि तामाङले नेपाली चलचित्रमा चरित्र कलाकारहरूको भूमिका र पहिचान विस्तार हुँदै गएको बताए । पहिले चलचित्र केही सीमित पात्र वरिपरि केन्द्रित हुने गरे पनि अहिले कथाले विभिन्न पात्रलाई समान अवसर दिन थालेको उनको धारणा थियो ।
अभिनेत्री रेणुनाथ योगीले नेपाली चलचित्रमा महिलाका पात्रको प्रस्तुतीकरणमा सुधार भए पनि महिला मनोविज्ञानलाई अझ गहिराइमा बुझेर कथा लेखिनुपर्ने आवश्यकता औँल्याइन् ।
उनले थपिन्, ‘महिला पात्रहरू अहिले पहिलेभन्दा बढी केन्द्रमा आएका छन्। तर महिला मनोविज्ञानको वास्तविक गहिराइ अझै पर्याप्त रूपमा कथामा समेटिएको देख्दिनँ ।’
पत्रकार लक्ष्मी बलायरको सहजिकरण रहेको कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्र उद्योगमा प्रविधिको विकास, कलाकारहरूको चुनौती, दर्शकको बदलिँदो रुचि तथा चलचित्रको भविष्यकाको बिषयमा समेत आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण