प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्टीकरण नआएसम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ ।
- कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले भारतको सीमा नेपालले मिचेको छ भन्दै संसद्मा दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने माग गरेका हुन् ।
- संसद् अवरुद्ध हुँदा बजेट, कृषि, पहाडी र हिमाली क्षेत्रको बजेट विनियोजन र बसाइँसराइ जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुन नपाएको सांसद सुब्बाले बताए ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत १९ गते संसद्मा दिएको मन्तव्यको घोर भर्त्सना गर्दै सो विषयमा तत्काल प्रष्टीकरण दिन माग गरेका हुन् ।
चार दिनदेखि संसद् अवरुद्ध भइरहँदा पनि दलहरूबिच भएको छलफल र संवादको प्रगतिबारे सदनलाई जानकारी नदिइएकोमा सुब्बाले असन्तुष्टि व्यक्त गरे । ‘हामीले ४ दिनदेखि संसद् अवरुद्ध गर्दा संवाद कहाँ पुग्यो ? के–कस्तो छलफल भयो ? यसबारे हामीले जानकारी पाउनुपर्छ,’ सुब्बाले भने । संसद् ढिलो प्रारम्भ भएको र समय निकै कम भएकाले गम्भीर विषयहरू ओझेलमा पर्न नहुने उनको भनाइ छ ।
सांसद सुब्बाले सभामुखलाई ‘अभिभावक’ को संज्ञा दिँदै संसद्लाई निकास दिनु सभामुखको दायित्व भएको बताए । उनले भने, ‘सभामुखलाई असफल हुने छुट छैन, तपाईंले हामीलाई डोहोर्याएर लैजाने हो। हाम्रा कमजोरी सच्याउन सकिन्छ, तर संसद्लाई सुचारु गर्न तपाईंले ठोस पहल गर्नुपर्छ।’
संसद् अवरुद्ध हुँदा बजेटका महत्त्वपूर्ण विषयहरू, कृषिका समस्या, पहाडी र हिमाली क्षेत्रको बजेट विनियोजन र मुलुकको जटिल समस्याको रूपमा रहेको बसाइँसराइ जस्ता विषयमा छलफल हुन नपाएको सुब्बाको भनाइ छ ।
प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र नेपालको भूभाग मिचिएको विषयमा तथ्यगत रूपमा प्रस्तुत हुनुपर्ने कांग्रेसको माग रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण