आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

‘कैलालीबाट चामल बोकेर जनमुक्ति सेना र नेताको भोक मेटाएँ’

शुक्रबार, १९ फागुन २०७९, ११ : २६
शुक्रबार, १९ फागुन २०७९

सुर्खेत । वीरेन्द्रनगरबाट करिब १०० किलोमिटरको दुरीमा पर्छ पश्चिम सुर्खेतको लगाम । साबिकको यो गाविस अहिले चौकुने गाउँपालिकाका १ र २ नम्बर वडामा पर्दछ । विकास र परिवर्तनका दृष्टिले निकै पछि परेको क्षेत्र हो यो ।

केही दिनअघि पश्चिमको यात्राका क्रममा भेटिए देउमानसिं बान्तोला (बैदार) । हुलाकको जागिरे भएकाले उनलाई गाउँमा धेरैले ‘बैदार’ उपनामले चिन्दा रहेछन् । माओवादीले थालेको १० बर्षे सशस्त्र जनयुद्धका बेलामा लगाममा गरेको कठोर संघर्षले उनी परिचितमात्र छैनन्, एक समाजसेवी व्यक्तिको छवि बनाएका छन् ।

त्यो बेला जनसत्ता उपप्रमुख रहेका उनले माओवादी लडाकुलाई कैलालीदेखि चामल बोकेर खाना खुवाउने कामको नेतृत्व गरेका रहेछन् । कक्षा १० सम्मको औपचारिक पढाई गरेका उनले जनयुद्ध सुरु भएकै बेलादेखि हुलाकमा जागिर सुरु गरे । ४८० रुपैयाँ मासिक तलबमा जागिर सुरु गरे पनि जनयुद्धप्रति उनी उदार थिए । त्यसअघि उनका बुबा हुलाकमै काम गर्थे । उनका बुबाले आफ्नो स्थानमा उनलाई राखेर भारततर्फ लागे । बाबुको जागिर उनले सम्हाले ।

जागिरे भइसकेपछि गाउँमा उनको सामान्यतया परिचय बन्यो नै । बिस्तारै लगाम, बेतानमा माओवादीको प्रवेश भयो । ०५६/०५७ सालतिर साबिकका यी दुई गाविस माओवादीका आधार क्षेत्र मात्र बनेन, ठुल्ठुला नेताहरु यही क्षेत्र आसपास बसेर ‘प्लानिङ’ गर्थे रे ।

जनसत्ता उपप्रमुख हुँदा उनको नेतृत्वमा सडक निर्माण, विद्यालय भवनदेखि चौतारा र गोरेटो बाटो निर्माण भएका रहेछन् । उनको नेतृत्वमा त्यो बेला लगाम–बेतानसम्म १२ किलोमिटर सडक निर्माण गरिएको थियो ।

माओवादी पश्चिम क्षेत्रमा भिजिसकेपछि गाउँका जाली फटाहा र स्थानीय प्रमुख, उपप्रमुखहरु सदरमुकाम वीरेन्द्रनगरतिर लागे । गाउँमा जनतामात्र ।   माओवादीले सेती महाकाली अन्तर्गत कैलालीको चुरे क्षेत्र, पश्चिम सुर्खेतका यी दुई गाविस जोडेर चुरे जिल्ला बनायो र यहीँबाट आफ्ना गतिविधि सञ्चालन गर्‍यो ।

बान्तोला त्यही बेला लगाम गाविसको जनसत्ता उपप्रमुख बनेका रहेछन् । युद्धको क्रममा उनको नाम पार्टीभित्र ‘मयुर’ राखियो । कुराकानीका क्रममा द्वन्द्वकालमा जनसत्ता चलाउन निकै संघर्ष गरेको कथा उनले सुनाए ।

‘त्यो बेला जागिर भन्नमात्रको थियो, राज्यसत्ताबाट निकै बिमूख पारिएको यो क्षेत्रमा माओवादीको प्रवेशले जनतामा आशा जगाएको थियो,’ उनले रातोपाटीसँग भने, ‘एकातिर पार्टीलाई सहयोग, अर्कातर्फ उपप्रमुखका हैसियतले विकास निर्माण गर्नेदेखि पार्टी संगठनलाई बलियो पार्न निकै कठोर संघर्ष गर्नुपर्‍यो ।’

जनसत्ता उपप्रमुख हुँदा उनको नेतृत्वमा सडक निर्माण, विद्यालय भवनदेखि चौतारा र गोरेटो बाटो निर्माण भएका रहेछन् । जसले गर्दा उनको समाजसेवी छवि बनेको रहेछ । उनको नेतृत्वमा त्यो बेला लगाम–बेतानसम्म १२ किलोमिटर सडक निर्माण गरिएको थियो ।

शिक्षकसँग एक महिनाको तलब उठाएर विकास निर्माणको काम गरेको जनाउँदै बान्तोलाले भने, ‘पाँच वटा काठेपुल बनायौं, जसमा सहजै गाडी आउ–जाउ गर्न सक्छन् ।’ सडक निर्माण गर्दा गाउँका महिलादेखि पाका उमेरका बुबाआमा समेत श्रमदानमा सहभागी बने । खण्ड–खण्ड बनाएर काम गरिन्थ्यो रे । उक्त सडक चैत्र ०६३ मा उद्घान गरिएको उनले सुनाए ।

देउमानसिंलाई जनसत्ता उपप्रमुख भएर गरिएको विकास निर्माणको संघर्ष आजभोलि एकादेशको कथाजस्तै लाग्छ ।

उनकै नेतृत्वमा माध्यमिक विद्यालय लगामको ८ कोठे भवन निर्माण गरिएको थियो । अहिले ३ वटा कोठालाई भत्काएर सोही क्षेत्रका प्रदेश सांसद विन्दमान विष्टको पहलमा पक्की भवन बनाइएको छ भने तत्कालीन जनसरकारले नै बनाएका पाँच वटा कोठा अझै सञ्चालनमै छन् । यतिमात्र होइन, गाउँमा चौतारा र गोरेटो बाटो पनि निर्माण गरिएको उनले बताए ।

उनी भन्छन्, ‘अहिले संघीयता आएको पनि पाँच वर्ष बितिसक्यो तर यो क्षेत्रमा विकास अझै पुग्न सकेन, जति विकास भयो, त्यतिखेर नै भएको थियो ।’ लगाम पश्चिममा कर्णाली नदीले घेरिएको छ भने यहाँका स्थानीयलाई यता सुर्खेत सदरमुकाम आउनुभन्दा कैलालीतर्फ नजिक पर्छ ।

अहिले पनि त्यहाँका धेरैजसौ मान्छेहरु पढाई गर्नदेखि बसाइँसराइ कैलालीतर्फ नै केन्द्रित छन् । देउमानसिंलाई जनसत्ता उपप्रमुख भएर गरिएको विकास निर्माणको संघर्ष आजभोलि एकादेशको कथाजस्तै लाग्छ ।

चुरे जिल्लाको क्षेत्रले गर्दा माओवादीले साबिक बेतान गाविसको केही भू–भाग पनि लगाममै गाभेको थियो । १० वटा वडा बनाइएको थियो । १० वटै खण्डमा विभाजन गरेर स्थानीयले सडक निर्माणको काम गरेको उनले सुनाए ।

राज्यबाट उपेक्षित र माओवादीबाट केही आशा भएर नै होला, मान्छेहरु घरबाट हात–हातमा कोदालो लिएर रातको समयमा बास बसेर पनि काम गर्थे रे । ‘सडकमै भान्सा गर्थे भने ढुङ्गा, गिट्टी बालुवा बोक्नेदेखि बेल्चा चलाउँथे, अहिले सम्झदा खुसी र दुःख दुवै लाग्छ,’ बान्तोलाले थपे । 

उनी जनसत्ता उपप्रमुख हुँदा प्रमुख खिमबहादुर बान्तोला थिए । उनी बढी सक्रिय र सबैसँग मिल्न सक्ने भएकाले धेरैजसो कामको नेतृत्व उनलाई जिम्मा दिइन्थ्यो । जनसत्ताको चुनाव उनी कहिल्यै भुल्दैनन् । माओवादीबाटै चुनावमा अधिकृत बनाइएका उनले मत पेटिका आफैले निर्माण गरेका थिए रे । अनि सुरक्षामा माओवादी जनमुक्ति सेनाहरु थिए । उनीहरुकै सुरक्षा घेरभित्र रहेर चुनाव भएको थियो । बान्तोला स्वतन्त्रबाट लडेका थिए रे । त्यो बेला माओवादी बेगर अन्त मत हाल्नु हुँदैन भन्ने गाउँमा भाष्य नै बनिसकेकाले सहज बहुमत प्राप्त गरिएको उनले बताए । यद्यपि प्राप्त मत भने भुलिसकेका रहेछन् । बान्तोला ०५७–०६३ सम्म सामाजिक कार्यमा अग्रसर भइरहे ।

अर्कातर्फ पार्टीभित्र पनि उनको संघर्ष र सहयोग निरन्तर रहिरह्यो । जनतामाझ जान्थे, क्रान्तिका कुरा गर्थे । टोल–टोलमा पुगेर ५ दिनेदेखि एक महिने अभियान नै चलाएको कुरा उनी सम्झिन्छन् । ‘एक पटक चार महिने अभियान पनि चल्यो, प्रतिआक्रमणको अन्तिम चरणमा ढाडमा टेकेर टाउकोमा हान्ने अवधारणा ल्याइएको थियो,’ उनले भने, ‘सेती महाकाली लगामबाट मेरो नेतृत्वमा १३ जनाको टोली भेरी कर्णालीतर्फ लाग्यो ।’

युद्धकालमा माओवादीको मुखपत्र ‘जनादेश’ पनि कुनैबेला पश्चिम सुर्खेतकै  सिमलखेतमा छापिन्थ्यो । बान्तोलाले पत्रिकाको वितरण गर्ने काम पनि गरे । ‘

त्यो भनेको पूर्वतर्फका साविक बिजौरा, गुटु थिए, त्यहाँ पनि क्रान्ति र माओवादीले अघि सारेका एजेण्डाका विषय जनतालाई बुझाउने प्रयत्न गरिएको उनको सम्झना छ । उनी जनसत्ता उपप्रमुख हुनुभन्दा पहिला एटम बम र पदमबहादुर थापा गाविसको नेतृत्वमा थिए । माओवादीको प्रवेशसँगै उनीहरु गाउँ छाडि सदरमुकामतर्फ लागे । त्यतिखेर लगाम र बेतानमा माओवादी बेगर अन्य पार्टीतिर मान्छेहरु छँदै थिएनन रे ।

कांग्रेस, एमाले वा दोस्रो पार्टीका मान्छे हुँ भन्नेहरु पनि सदरमुकाममै बस्थे । पार्टी अभियानको क्रममा कैलालीको निगाला, खैरेला, राजपुर, डोटी दिपायलसम्म पनि उनी पुगे । जतिबेला माओवादी दिल्लीमा दोस्रो चरणको वार्तामा थियो । कुराकानीका क्रममा बान्तोलाले लडाइँ मोर्चाभन्दा बढी व्यवस्थापनतर्फ सक्रिय रहेको बताए । उनी भन्छन्, ‘अर्कातर्फ हुलाकमा जागिरे भएका नाताले पनि हाकिमबाट छिपेर जानुपर्थ्यो, हुलाकका हाकिम नरबहादुर माझी थिए, उनले नै गुटुसम्म तलब ल्याइदिन्थे ।’

के गरेनन् उनले !

युद्धकालमा माओवादीको मुखपत्र ‘जनादेश’ पनि कुनैबेला पश्चिम सुर्खेतकै  सिमलखेतमा छापिन्थ्यो । बान्तोलाले पत्रिकाको वितरण गर्ने काम पनि गरे । ‘हामीलाई छाप्ने ठाउँमा जान दिइँदैनथ्यो, पत्रिकाहरु ठाउँ–ठाउँमा पुर्‍याउने काम भने हामीले गर्‍यौं,’ बान्तोलाले थपे । झण्डै ७ महिना पत्रिकालाई एक ठाउँबाट अर्कोठाउँमा पुर्‍याउने काम उनले गरेका थिए । 

यतिमात्र होइन, उनले माओवादी नेताहरुलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउने काम पनि गरे । त्यो बेला नेताहरु आउँदैछन्, फलानो ठाउँमा पुर्‍याइदिनु भन्ने खबर पनि आउँथ्यो रे । जनार्दन शर्मा, बाबुराम भट्टराई, लेखराज भट्ट, नन्दबहादुर पुन, कालिबहादुर मल्ल, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरु यो ठाउँमा पुगेका थिए । अहिले चौकुने –१ अन्तर्गत लगामकै देबल भन्ने ठाउँमा आधार क्षेत्र बनाइएको थियो, जहाँबाट ‘प्लानिङ’ हुन्थ्यो ।

एक पटक त्यो क्षेत्रमा प्रचण्ड समेत पुगेका थिए रे । तर बान्तोला लगायतका गाउँका मान्छेहरुलाई जानकारी दिइँदैनथियो । उनी सम्झिन्छन्, ‘जनार्दन शर्माज्यूको म्याडमलाई जामिरे भन्ने ठाउँमा एक्लै पुर्‍याउन गएको थिएँ, बाँकी मोर्चाका हिसाबमा थुप्रै नेताहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने काम गरेका थियौँ ।’

युद्धमा माओवादी कार्यकर्ता र घाइते जनमुक्ति सेनालाई एक ठाउँबाट अर्काे ठाउँसम्म लैजाने व्यवस्थापनको कार्यमा पनि उनी खटिए । ०५९ सालतिरको कुरा हो, कैलालीको सोल्टा लगायतका ठाउँबाट धेरै घाइतेलाई बाँसको स्टेचर बनाएर खिमडी र देबलमा पुर्‍याइएको सम्झना उनलाई छ । खिमडी कर्णाली पारी कैलाली क्षेत्रमा पर्छ ।

‘कसैको खुट्टा र कसैको शरीरमा गोली लागेर रगत बगिरहेको हुन्थ्यो, हामी एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउँथ्यौँ, जहाँ माओवादी कै डाक्टर हुन्थे तर हामीले उपचार भएको देख्न पाउँदैनथ्यौँ,’ उनले भने । 

चामल बोक्नुपरेको त्यो संघर्ष

कुराकानीका क्रममा भावुक बनेका बान्तोलाले कैलालीको चामल बोकेर माओवादी नेता, कार्यकर्ता र जनमुक्ति सेनालाई पाल्नुपरेको कठिन संघर्ष पनि सुनाए । जनसत्ता उपप्रमुख भएका नाताले त्यो गर्नु उनको दायित्व पनि थियो । ‘त्यतिखेरको संघर्ष त एउटा उपन्यास बन्छ होला तर अहिले धेरै कुराहरु बिर्सिएँ,’ उनले थपे, ‘चामल बोक्नुपरेको संघर्ष अविस्मरणीय छ ।’

त्यो बेला कर्णालीमा पुल थिएनन् । जे काम गर्दा पनि डुंगा (नाउ) को सहारा लिनुपर्थ्यो । बान्तोलाले चामल ल्याउन ६५ जनाको नेतृत्व गरे । उनी सम्झिन्छन्, ‘कैलाली सिमानाको तल्लापानी भन्ने ठाउँमा उताबाट चामल आउँदो रहेछ, कहाँबाट आउँथ्यो भन्ने हामीलाई थाहा हुन्थेन । चामल ल्याउन लगामबाट बिहानै टोली कैलालीतर्फ जान्थ्यो । त्यहाँबाट पैदल रातारात ल्याइने गरेको उनले बताए ।

‘त्यति ठुलो टोलीको चामल डुंगामा तार्न अझ कठिन हुन्थ्यो,’ उनले संघर्ष सुनाए, ‘आधा चामल बोला र आधा लगामकै कुनै एक घरमा राख्थ्यौँ, जहाँबाट आवश्यक परेको ठाउँमा लगिन्थ्यो ।’

बान्तोलाले जनयुद्धको अन्तिमतिर कलाकारको भूमिका पनि निभाएका थिए । गाउँमा गई जनक्रान्तिका गीत गाउने, बनाउने गरेका उनले ‘सेम भेक उठिसक्यो, जन्ता सबै जुटिसक्यो’ भन्ने देउडा गीत रचेको सुनाए ।

चामल खरिदबारे भने आफूहरुलाई कुनै जानकारी नहुने उनले बताए । ‘त्यो बेला एकछिन पनि फुर्सद हुँदैनथ्यो,’ उनले भने, ‘अझ खाना बनाउने र जनमुक्ति सेनालाई खुवाउने काम गर्न कति खट्नुपर्थ्यो भनिसाध्य छैन ।’

एक पटक जनमुक्ति सेनाले म्याग्दीको बेनीमा आक्रमण गरेर पश्चिमतिर आयो । करिब ३०० जनाको जनमुक्ति सेनालाई खाना खुवाउन निकै हम्मे परेको थियो । बान्तोला भन्छन्, ‘करिब २० दिन लगाम, बेतानमा बस्यो भने चुरे क्षेत्रमा तालिम केन्द्र बनाएर तालिम समेत गर्थ्यो, स्थानीयका घरको अन्नले उनीहरुलाई नै पुग्दैनथ्यो । जेनतेन गरेर खानाको व्यवस्थापन गर्थ्यौं ।’

पछि सेना कोही कैलाली र कोही पूर्वतिर फर्कियो । उनी भन्छन्, ‘त्यो राज्यसत्ताविरुद्धको विद्रोह थियो, म जनसत्ता उपप्रमुख भएर पनि भूमिगतजस्तै भएर काम गरेँ ।’

बान्तोलाले जनयुद्धको अन्तिमतिर कलाकारको भूमिका पनि निभाएका थिए । गाउँमा गई जनक्रान्तिका गीत गाउने, बनाउने गरेका उनले ‘सेम भेक उठिसक्यो, जन्ता सबै जुटिसक्यो’ भन्ने देउडा गीत रचेको सुनाए ।

पाण्डौन आक्रमणको बाछिटा

पाण्डौन आक्रमण निकै चर्चित छ । कैलालीको चुरे क्षेत्र पाण्डौन खिमडीमा ०६० साल मंसिरतिर जनमुक्ति सेना र तत्कालीन शाही नेपाली सेनाबीच ठुलो भिडन्त भएको थियो । देउमानसिं सम्झन्छन्, ‘खिमडीमै सेती लगाम, बेतान उता डोटी र कैलालीको क्षेत्रका मान्छेलाई बोलाएर यो प्रतिआक्रमणको अन्तिम चरण हो, अभियानमा जानुपर्छ भनेर भनिएको थियो । ४ सय जनाजति त्यहाँ सहभागी बने, म सहित चार जनाको रुट कमाण्डमा २ सय जनालाई भेरी कर्णालीतिर जानुपर्छ भनियो । आमढला हुँदै आउने तयारीसहित अघि बढ्यौँ,  कर्णाली नदी तरेर वारी आउने क्रम जारि नै थियो । करिब ४० जनालाई डुंगामा तारिसकिएको थियो, माथि खिमडीमा धमाधम गोली चल्न सुरु भयो ।’

उनीसहितको टोली तलबाट हेरेर बस्न बाध्य भयो । त्यहाँ माओवादीको खोजी गर्दै शाही नेपाली सेना पुगेको रहेछ, तर सुरक्षाफौजमाथि दिउँसो चार बजे नै माओवादीले घेरा हालेर आक्रमण गरेपछि १५ घण्टासम्म लगातार लडाइँ चलेको थियो । ‘बिहान चार बजेसम्म लडाइँ चल्यो,’ उनले भने, ‘आकाशमा हेलिकप्टर समेत आयो ।’

त्यो आक्रमणमा दुई सर्वसाधारण र दुवैतर्फका गरी ३० जनाभन्दा बढी मारिएका थिए । लडाइँ भएको खिमडीको पूर्वभाग सुर्खेत र उत्तरमा डोटीसँग जोडिएको छ । पाण्डौनमा माओवादीको तालिम केन्द्र थियो ।

यो आक्रमणको बाछिटा लगाममा पर्ने नै भयो । बान्तोला थप्छन्, ‘जनयुद्धले प्रभावित भए पनि त्यो बेला लगाम र बेतानबासी बाहिर पलायन भएनन् बरु उल्टै माओवादी क्रान्तिलाई सहयोग गरे । त्यसो हुनुका पछाडि राज्यसत्ताको यहाँ पहुँच थिएन । स्थानीयले राज्य भएको अनुभुति गरेका थिएनन् ।’

त्यो जनसत्ता र आजको राजनीति

देउमानसिं अहिले पार्टीभित्र निष्कृयजस्तै छन् । तर पार्टी चटक्कै भने छाडेका छैनन् । उसो त हुलाकको जागिर पनि छाडेका छैनन् । माओवादीको वर्तमान गतिविधिबाट असन्तुष्ट रहेका उनी हिजोको जनसत्ताको सिस्टम र आजको सिस्टम आकाश पातल फरक रहेको तर्क गर्छन् ।

‘हामीले त्यो बेला समाजका ठुलाबडा, जाली फटाहले राज गरेका तर जनतामा राज्यको पहुँच पुगेन, एउटा युगिन परिवर्तन क्रान्तिले गर्न सक्छ भनेर पार्टीलाई सहयोग गर्‍यौँ,’ उनले भने, ‘तर अहिले पार्टी अर्कै दिशामा अग्रसर छ । अहिलेको पार्टीशैली र त्यो बेलाको कुरा मेल खाँदैन ।’

क्रान्तिले वर्गीय र जातीय रुपमा केही रुपान्तरण आए पनि जनताको अवस्थामा परिवर्तन नआएको उनी दुःखी छन् । यहाँका अधिकांश मान्छे अझै पनि रोजगारीका लागि कालापहाड जान्छन् । पार्टी संसदीय खेलमा छिरिसकेपछि बिग्रिएको उनको तर्क छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप