शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ताएका कविको फैलिएको सुगन्ध

शनिबार, २७ फागुन २०७९, १७ : ४६
शनिबार, २७ फागुन २०७९

हामी आँखामा गुराँस
र हत्केलामा सुनगाभा लिएर जन्मिरहेछौँ, 
हामी हृदयमा सगरमाथा
र खुट्टामा पहाड लिएर उठिरहेछौँ
त्यसैले चन्द्र र सूर्य छोएर भन्न सक्तछु
म आफ्नो देशको छहरामा हुन्छ
म आफ्नो देशको पहरामा हुन्छु ।....

देशप्रेम र राष्ट्रियताले भरीपूर्ण यो कविता मोहन हिमांशु थापाको ‘खुकुरीमाथि एक चौटा बादल’बाट लिइएको हो । छोटा तर मर्मस्पर्शी कविता लेख्ने कवि थापाको यो कविता सङ्ग्रह ४० को दशकमा सर्वाधिक चर्चित कृति हो । उनको देह यस संसारमा नभए पनि उनले छोडेर गएको यो कृतिको चर्चा अझै घटेको छैन । नेपाली साहित्यप्रेमीहरूले यो कृतिमार्फत उनलाई युग युगसम्म सम्झिरहने छन् ।

मोहन हिमांशु थापा १९९३ मङ्सिरमा माता नन्दकुमारी, पिता  रामशरण थापाका माहिला सुपुत्रका रूपमा गोकर्ण काठमाडौँमा जन्मिएका थिए । नेपालीमा स्नातकोत्तर गरेका र बालकृष्ण समको नाट्यशिल्पमा विद्यावारिधि गरेका उनले विसं २०१८ सालदेखि नेपाली र नेवारी भाषासाहित्यको प्रध्यापन गरे ।

कैयौँ गीतको लहर छुट्यो शीर्षकको समालोचना शारदा पत्रिकामा २०११ सालमा प्रकाशित गरी साहित्य सिर्जनामा प्रवेश गरेका उनका ‘खुकुरीमाथि एक चौटा बादल’, ‘साहित्य परिचय’, ‘बालकृष्ण समको नाट्यकला’, ‘नेपालको नाटकको परिदृश्य’ जस्ता कृति प्रकाशित छन् भने अन्य थुप्रै फुटकर रचना, समालोचना र अनुवाद छरिएर रहेका छन् । 

–कुशल शोधनिर्देशक 

मोहन हिमांशु थापाले विद्यावारिधि गर्दा शोधनिर्देशक कसैलाई तोकिएको थिएन । शोधनिर्देशकबिनै उनले पिएचडी गरे । “सबैले शोध निर्देशक राखेर विद्यावारिधि गर्छन् तर उहाँले नराखी गर्नुभयो,” उपप्राध्यापक मधुसुदन गिरी भन्छन्, “समका नाटकमा उहाँले पिएचडी गर्नुभएको हो ।” 

गिरीका विद्यावारिधिको शोध निर्देशक पनि थिए थापा । “प्रयोगवाद कालीन नेपाली कवितामा विम्ब विधान शीर्षकमा मैले पिएचडी गर्दा उहाँसँग निकै घुलमिल हुने मौका पाएको थिएँ,” गिरी भन्छन्, “त्यतिबेला उहाँ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराउनुहुन्थ्यो ।”

गिरीलाई मात्र होइन प्राडा कृष्णहरि बरालले विद्यावारिधि गर्दा पनि थापाले शोध निर्देशकको भूमिका निर्वाह गरेका थिए । बराल भन्छन्, “मेरो ‘गजल परम्परा र मोतीराम भट्टको गजलकारिता’ शीर्षकको विद्यावारिधि गर्दाको गाइड नै उहाँ हो ।” 

शोधनिर्देशक मात्र होइन थापा प्राध्यापनमा पनि कुशल व्यक्तित्व थिए । “उहाँले मलाई त २०४०–४१ सालतिर पढाउनु पनि भयो,” बराल सम्झन्छन्, “बालकृष्ण समको नाटकमा पिएचडी गर्नुभएकाले धेरैजसो समका नाटक हामीलाई पढाउनुहुन्थ्यो ।” 

कक्षा पढाउँदा पनि अनुप्रासयुक्त शब्दहरू प्रयोग गर्ने र बोल्दा आफैँ अनुप्रास मिल्थ्यो भन्छन् डा. बराल । “भेट हुन्छ भनेपछि लेट हुन्छ भनेजस्तो क्या, उहाँलाई अनुप्रास एकदमै फुर्ने गथ्र्यो,” बराल फुर्किंदै भन्छन्, “अनुप्रास फुर्ने मान्छे दुई जना देखेको छु, एक जना भूपि शेरचन, अर्को मोहन हिमांशु थापा ।” उहाँ कुरा गर्दा अटोमेटिक अनुप्रास आउने भन्छन् उनी ।

सहप्राध्यापक सुकुम शर्मालाई पनि उनले स्नातकोत्तर तहमा अध्यापन गराएका थिए । “एमएको प्रथम वर्षमा उहाँले नाटक पढाउनुभयो,” शर्मा भन्छन्, “उहाँको पढाउने शैली पनि कवितात्मक थियो, नाटक पढाए पनि ।” गोविन्द गोठाले र विजय मल्ललाई अध्ययन गर्दा काठमाडौँका गल्लीहरूभित्र हेर्नुपर्ने हुन्छ भन्दै उनले अध्ययनका आधारहरू दिनेगरेको बताउँछन् शर्मा । 

जीवन निर्वाह सहज पार्न प्रेस सञ्चालन

मोहन शिमांशु थापाले प्राध्यापनका साथसाथै छपाइको काम पनि सुरुवात गरेका थिए । तर त्यसको जिम्मा भने आफ्नी जीवनसङ्गिनी उर्मिला कार्कीलाई दिएका थिए । थापाकै प्रेसबाट उपप्राध्यापक सुकुम शर्माले आफ्ना कृति छपाएका थिए । शर्मा सम्झन्छन्– उहाँको एउटा प्रेस थियो । त्यहाँबाट मेरो दुईवटा पुस्तक छापेको थिएँ । ‘नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण’ र ‘समयको ठर्रा’ भन्ने मुक्तक सङ्ग्रह उहाँकै प्रेसबाट छपाएको थिएँ । तर प्रेसतिर सरले त्यति हेर्नुहुँदैन थियो, मेडमले हेर्नुहुन्थ्यो । पछि उहाँहरू ललितपुरको नक्खीपोट सर्नुभयो भन्छन् शर्मा ।

सरल, मिलनसार व्यक्तित्व

प्राध्यापक थापा एकदमै मिलनसार र सहयोगी स्वभावका व्यक्ति थिए । कसैलाई पनि बिझाउने शब्द प्रयोग गर्नुहुन्न थियो, सबैलाई माया गर्ने स्वभाव भन्छन् गिरी । अत्यन्त मिलनसार, नम्र, जोसँग पनि मिल्ने, कुरा गर्दा पनि अनुप्रास मिलाएर मीठो तरिकाले गर्ने स्वभाव उनको थियो भन्छन् डा. बराल पनि । उपप्राध्यापक सुकुम शर्मा भन्छन् “उहाँ सरल स्वभावको हुनुहुन्थ्यो, हामीसँग कक्षामा मात्र कुराकानी र व्यवहार हुन्थ्यो । त्यतिबेला उहाँमा त्यस्तो बढप्पन केही थिएन ।” 

थोरै तर उत्कृष्ट कृति

प्राडा थापाका सिर्जनालाई नियाल्दा उनका सबै उत्कृष्ट देखिन्छन् । उत्कृष्ट भएर नै प्राडा तारानाथ शर्माले ‘आँखाको गुराँस र हत्केलाको सुनगाभा’ शीर्षकको कविता कक्षा ९ को पाठ्यक्रमा समावेश गराएका थिए । निकै लामो समयसम्म पढाइ पनि भयो । 

उनको साहित्य सिद्धान्त भन्ने कृति निकै उपयोगी थियो । “त्यो समयमा सिद्धान्तका पुस्तकहरू थिएनन्, विभिन्न विधाबारे लेखिएको साहित्य परिचय भन्ने पुस्तक विद्यार्थीले पढ्नै पर्ने जस्तो थियो,” प्राडा बराल भन्छन्, “अहिले पो विधा विधाको ठुल्ठूला किताबहरू आए त ।” समालोचना पनि अत्यन्त सरल भाषामा अभिव्यक्त गर्न सक्ने सामाथ्र्य थियो भन्छन् उनी । तर उनका कविता चाहिँ जटिल छन् । 

कविता सिर्जनामा चाहिँ प्रयोगधर्मी कवि ठान्छन् बराल । उनको कविता लेखाइ अलिकति नयाँ किसिमका विम्बहरूको प्रयोग भएका पाइन्छन्, जति सरल व्यक्तित्व हो त्यसको तुलनामा अलि जटिल कविता लेख्नुहुन्थ्यो भन्छन् बराल । 

उनका कृतिको अध्ययनको सन्दर्भलाई केलाउँदै उपप्राध्यापक सुकुम शर्मा सम्झन्छन्, “मैले पढेका उहाँको दुईवटा किताब हुन्, त्यतिखेर उहाँ कविको रूपमा एकदमै चर्चित हुनुहुन्थ्यो । उहाँको सङ्गत भूपि शेरचनसँग थियो रे भनेको सुनेको थिएँ । म पोखरातिरको भएकाले भूपि पनि पोखराको र निकै चर्चित कवि हुनुहुन्थ्यो । भूपिप्रति हाम्रो निकै क्रेज थियो । त्यसैले उहाँप्रति पनि निकै आकर्षण थियो । त्यही भएर मैले खुकुरीमाथि एक चौटा बादल भन्ने कविता सङ्ग्रह खोजेर अध्ययन गरेको थिएँ ।” 

उनको अर्को चर्चित पुस्तक साहित्य परिचय हो । सिद्धान्तसम्बन्धी पुस्तक भएकाले त्यतिबेला विश्वविद्यालयमा एउटा पाठ्यपुस्तकका रूपमा पनि चर्चित थियो । विधागत चिन्तन अनि साहित्य सिद्धान्तसम्बन्धी पुस्तक हामीले पनि अध्ययन गर्यौँ, यी दुई कृति विद्यार्थीकालमै मैले अध्ययन गरेँ भन्छन् उपप्राध्यापक शर्मा ।   

शर्मा २०५३–५४ सालतिर त्रिभुवन विश्वविद्यालय अध्ययनका लागि आउनेवित्तिकै कीर्तिपुरको शब्दचित्र खिचेर हाइकु लेखेका थिए । ती हाइकुहरू आफ्ना गुरु थापालाई बेलामौकामा देखाउँथे । उनका हाइकु पढेपछि हाइकुतिर तिम्रो गहिरो रुचि रहेछ, नेपाल भाषाका एक जना कवि हुनुहुन्छ असनमा, गएर भेट, हाइकुतिर तिम्रो राम्रो हुन्छ भनेर सल्लाह दिएको पनि स्मरण गर्छन् शर्मा । 

नेपाल भाषाका ज्ञाता

प्राडा थापा नेपाल भाषाका पनि ज्ञाता थिए । शिष्ट र सालीन नेवारी भाषामा संवाद गर्ने थापाको क्षमतालाई सबैले सम्मान गर्दथे । त्यही भएर नेपाल भाषा केन्द्रीय विभाग स्थापना भएपछि पढाउन थापा त्यहाँ गएका थिए । नेपाल भाषा केन्द्रीय विभागका पूर्वप्रमुख प्राडा ओमकारेश्वर श्रेष्ठलाई पनि उनले पढाएका थिए । “नेपाल भाषा क्यापसमा हाम्रो शिक्षक हो, २०४५ सालसम्म हामीलाई अध्यापन गराउनुभयो,” प्राडा श्रेष्ठ भन्छन्, “मैले थाहा पाउँदा उहाँले लेख्ने, पढ्ने र बोल्ने सबै गर्नुहुन्थ्यो ।” उनी नेपाली विभागको सहप्राध्यापक थिए त्यतिबेला तर नेपालभाषाको पनि राम्रो ज्ञान भएको हुनाले सहयोग गर्न नेपाल भाषा केन्द्रीय विभाग गएको श्रेष्ठले बताए । 

उहाँ साह्रै भद्र, नम्र मान्छे, कसैलाई केही भन्नु पर्यो भने कसैलाई मन दुख्नेगरी केही नभन्ने व्यक्तित्वका रूपमा सम्झन्छन् प्राडा श्रेष्ठ । “उहाँले नेपाल भाषामा पूर्वीय साहित्य पढाउनुहुन्थ्यो, त्यो विषयमा हामीलाई छर्लङ्गै पार्नुहुन्थ्यो,” उनी भन्छन्, “नेपाल भाषाको धेरै अनुसन्धान पनि गर्नुभएको थियो । विशेषगरी नेपालभाषाको काव्यमा अनुसन्धान गर्नुभयो ।” उनी थापा भएर पनि नेवारै जस्तो लाग्ने गरेको बताउँछन् श्रेष्ठ । किनभने उनी सधैँ नेवारी नै बोल्थे र विभिन्न कृतिहरूलाई नेपालभाषामा अनुवाद पनि गर्दथे । 

नेपाली र नेपाल भाषाका क्षेत्रमा विविध योगदान दिने प्राध्यापक डाक्टर मोहन हिमांशु थापा ८६ वर्षको उमेरमा गत फागुन ३ गते यस धर्तीबाट अस्ताए । आफ्नो ऊर्जाशील जीवन समयमा ‘खुकुरीमाथि एक चौटा बादल’ जस्तो गहन कृति दिएर अस्ताएका कविको फैलिएको सुगन्ध नेपाली साहित्यमा सदा सदा फैलिइरहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप