‘विद्यालय गए भने साँझ भोकै सुत्नुपर्छ’
दाङ । नीलो स्वेटर, पुरानो मैलिएको जिन्स पाइन्ट, फाटेको जुत्ता अनि काखमा सारङ्गी च्यापेका घोराही उपमहानगरपालिका–११, नयाँ बस्तीका जगदीश गन्धर्वले कहिले सहरका गल्ली त, कहिले गाउँघरका चोक, होटेल, चौतारामा सारङ्गी रेट्दै गरेको भेटिन्छन् । उमेरले ९ वर्ष मात्र टेकेका जगदीश सारङ्गीको मीठो धुनभित्र आफ्ना पीडा र वेदना पोखिरहेका हुुन्छन् आफ्नै सुरमा । मीठो खाने, राम्रो लगाउने रहर उनलाई पनि नभएको होइन तर भोको पेटका लागि सानै उमेरमा सारङ्गी रेट्न विवश छन् । उनले भने, ‘भोकै बस्न नसकेपछि सारङ्गी बोकेर गाउँ पसेको हुँ ।’
जगदीशको घरछेउ नयाँ बस्तीमै कक्षा ५ सम्म पढाइ हुने एउटा प्राथमिक विद्यालय छ । उनी सारङ्गी बोकेर त्यही विद्यालयको अगाडिबाट आउजाउ गर्छन् तर विद्यालयभित्र भने प्रवेश गर्न सकेको छैनन् ।
उनको घरको आर्थिक अवस्था कमजोर छ । साँझ बिहानको छाक टार्न परिवारलाई हम्मेहम्मे पर्छ । परिवारको अवस्था नाजुक हुुँदा सारङ्गी भिरेको उनी सुनाउँछन् । ‘दुई कक्षासम्म पढेँ, कहिले भोकै विद्यालय गएँ,’ उनले थपे, ‘कति दिन भोकै विद्यालय जानु भनेर स्कुल छोडेर सारङ्गी बजाउन सुरु गरेँ ।’ गरिबीका कारण घरमा खाना लाउन मुस्किल परेपछि उनले किताब कापीको झोला छोडी सारङ्गी च्यापेको पीडा उनले यसरी सुनाए ।
सारङ्गीले अहिले भोको पेट मात्रै होइन, रहरलाग्दा लुुगाफाटा लगाउनसमेत सजिलो पारेको उनले बताए । घरमा नुनतेल, अन्नपातको जोहो गर्नसमेत बुवाआमालाई सहयोग पुुगेको उनी सुनाउँछन् ।
भोको पेट भर्न सारङ्गीले सजिलो पारे पनि आफूजस्तै र आफ्नै उमेरका बालबालिका विद्यालय जान्छन् तर आफू भने सारङ्गी बोकेर गाउँ पस्दा मन निकै पोल्ने गरेको पीडा उनले सुनाए । उनले थपे, ‘पढ्न रहर त छ नि मेरो पनि तर विद्यालय गएँ भने साँझ भोकै सुत्नुपर्छ ।’
जगदीशको पाँच जनाको परिवार छ । ऐलानी जग्गामा जनता आवास कार्यक्रममार्फत नेपाल सरकारले दुईकोठे घर बनाइदिएको छ । त्यही घरमा उनीहरूको सुखदुःख गरेर गर्जो टारेका छन् । छानो सरकारले दिए पनि मानोको जोहो गर्न सानै उमेरमा सारङ्गी भिर्न परेको छ जगदीशलाई । हातमा किताबकापी समात्ने उमेरमा सारङ्गी समाउनुपर्ने बाध्यताले उनको मन निकै पोल्छ ।
‘केले पढ्ने ?’
सामुदायिक विद्यालयमा निःशुुल्क शिक्षा भन्ने गरिन्छ । तर त्यही निःशुुल्क शिक्षाबाट पनि जगदीश वञ्चित छन् । घरछेउमै सामुुदायिक विद्यालय भए पनि भोको पेटका लागि उनी टाढाटाढाका गाउँदेखि सहरसम्म पुुग्छन् । उनका लागि सारङ्गी भिरेर गाउँ, सहर, घर, गल्ली चाहार्ने रहर होइन बाध्यता हो । किताबकापीको झोला बोकी विद्यालय जाने रहर उनलाई छ तर भोको पेट लिएर कापीकलमबिना रित्तो हात धेरै पटक विद्यालय गएकाले उनलाई झोला भिर्ने रहरभन्दा सारङ्गी बोक्ने बाध्यताले तानेको छ । उनले भने, ‘स्कुल जान मन छ तर कापीकलम हुँदैन, ड्रेस हुँदैन । स्कुलबाट आउँदा घरमा भात हुँदैन । कति दिन भोकै स्कुल जाने ? अनि केले स्कुल जाने ?’, उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण