मंगलादेवीको त्यो भाषण : ७१ वर्षअघि चेतनशील महिलाका माग के थिए ?
श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानीहरू, एवं उपस्थित महिलावृन्द र महानुभावहरू !
यो वर्ष हाम्रो राष्ट्रिय जीवनमा ठूलो महत्त्वको छ । यद्यपि ईशाको उन्नैसौँ शताब्दीको प्रारभ्मदेखि नै विश्वका महान् विचारकहरू संसारलाई एक नयाँ दिशातिर लिएर जाने प्रयत्नमा लागिसकेका थिए तथापि हिमालयको खोँचमा बसेको हाम्रो मुलुक तिनको प्रभावदेखि निकै टाढा रहन गएको थियो । यसै कारण विश्वका समुन्नत राष्ट्रहरूको जीवनस्तरसित हामीले नेपाली जीवन दाँज्न लाग्यौँ भने जीवनको कुनै अंगसित पनि तिनको कुनै मेल खान्न । हाम्रो समाज, हाम्रो आर्थिक अवस्था, हाम्रो विचार, हाम्रो राजनीतिक दृष्टिकोण सबै रुढीवादी र उन्नैसौँ शताब्दीदेखि पूर्वको जस्तो देखिन्छ ।
किन्तु, माथि नै भनेझैँ यो वर्ष हाम्रो यो राष्ट्रिय जीवनमा एक नयाँ परिच्छेद प्रारम्भ गर्दछ । यस वर्षदेखि हाम्रो देशमा पनि प्रजातन्त्र स्थापित भयो । हामीले पनि सामूहिक ढंगले आफ्नो हित अहितको विचार गर्ने मौका पायौँ, त्यसअनुसार आफ्नो उन्नति गर्ने अवसर पायौँ ।
एकतन्त्रीय शासनको समाप्ति भएर राष्ट्रिय उन्नतिको अभिभारा हाम्रौ काँधमा आएपछि हाम्रो निमित्त आवश्यक छ कि हामी आफ्नो राष्ट्रिय समस्यालाई विभिन्न वर्गमा विभाजन गरी स्वतन्त्र तरिकाले, तर राष्ट्रिय सूत्रमा बाँधिई, विचार गरौँ । यस प्रकार हामीद्वारा नै परिचालित जनसरकारको उत्तरदायित्वको भीड घट्न जानेछ र हाम्रो मुलुक यस प्रकार आधुनिक समाज विज्ञानको सिद्धान्तको आधारमा विश्वका विशेष प्रगतिशील गनिएका राष्ट्रहरूको दँजाइमा शीघ्र नै खडा हुन जान सक्नेछ ।
एकतन्त्रीय शासनको एकाएक समाप्तिले हाम्रो जीवनमा केही समयको निमिक्त एक ठूलो अस्तव्यस्तता पनि ल्याएको थियो । बाँधिएको तलाउ एकाएक फुट्ता जसरी पानीको भेल जथाभावी बग्न लाग्दछ त्यसै गरी हाम्रो समाज पनि यस प्रकार एकाएक प्राप्त भएको स्वतन्त्रताको दुरुपयोग गर्न लागेको देखिएको थियो । काठमाडौंका प्रत्येक टोलमा नयाँ नयाँ नाम लिई संघहरू बनेका थिए, किन्तु तीमध्ये साह्रै थोरैलाई आफ्नो लक्ष्य र सिद्धान्तको ज्ञान थियो । यसै अवसरमा स्त्री समाज पनि अनेक दलमा, अथवा भनौँ अनेक नेतृत्वमा विभाजित भएको थियो । तर, यो कुरा भन्नमा मलाई आपत्ति छैन कि त्यस समय स्वयं हामी पनि आफ्नो लक्ष्यको निमित्त अन्धकारमै छटपटाउँदै थियौँ । तर समयले हाम्रो जीवनमा केही स्थिरता ल्याएको छ, र अब हामी रचनात्मक दृष्टिले आफ्नो वर्गीय समस्याको समाधानतिर विचार गर्न प्रेरित हुन सकेका हौँ ।
जब हाम्रो सम्पूर्ण समाज नै आजसम्म रोगी थियो त्यसमा त्यसको एक अंग नारीवर्गको अवस्था उन्नत हुन सक्नु एउटा विरोधी कुराजस्तो हुने थियो । फलतः हाम्रो नारीसमाज प्रत्येक सामाजिक रोगले ग्रस्त देखिन्छ । बहुविवाह र बालविवाहको परिणामस्वरूप हाम्रा अनेक कुलललनाहरू घृणित अपमान र कष्ट सहिरहेका छन् । रोग, शोक र भोक हाम्रो गहनाजस्तै भइरहेका छन् । अशिक्षाको कारण हामी मूक छौँ र आफ्नो वेदना अरुमा प्रकट पनि गर्न सक्तैनौँ । यस अवस्थामा हाम्रो कष्टको कुनै सीमा छैन ।
तर बदलिएको जमानामा बदलिएको दृष्टिकोण लिई हामीले आफ्नो वर्गको पुनर्निर्माण गर्ने प्रयत्न गर्नुपर्दछ ।
किन्तु सामाजिक प्रश्न यति अल्झिएका हुन्छन् कि तिनलाई फुकाउन कुनचाहिँ सूत्र प्रथम–प्रथम तान्ने हो पहिल्याउनु यो गाह्रो छ । यद्यपि हाम्रो देशमा वैज्ञानिक ढंगले जनगणना अझसम्म हुन सकेको छैन, तथापि समाजको सामान्य रूपतिर विचार गर्दा हामी अनुमान गर्न सक्तछौँ कि नेपाली समाजमा नारीको जनसंख्या पुरुषको भन्दा अपेक्षाकृत निकै बढी छ । आवश्यकताभन्दा अधिक भएको खण्डमा वस्तु र व्यक्तिको मूल्यमा के फरक पर्न जान्छ यो कुरा अर्थशास्त्रको सामान्य विद्यार्थीले पनि भन्न सक्तछ र नेपाली नारीको दुर्दशाको मूल कारण पनि यही हो । तर, यो समस्या पनि बौद्धिक र आर्थिक विकासले हल गर्न सक्तछ भन्ने कुरा आधुनिक समाजविज्ञानीहरूका अनुसन्धानबाट सिद्ध भैसकेको छ ।
अतः हामीले आफ्नो उन्नतिको निमित्त बाटो खोज्दा आफ्नो वर्गको पनि बौद्धिक र आर्थिक स्थितिको उन्नति गर्नु प्रधान कुरो भेट्टायौँ । किन्तु, सबैमा शिक्षाको महत्त्व ज्ञात हुँदाहुँदै पनि उनीहरू आफ्ना सन्तानलाई शिक्षित बनाउन सक्तैनन् । हाम्रो शिक्षाको बाटोमा आर्थिक अभाव विकट तगारो छ । यसै तगारोलाई पन्छाउनु नेपाल महिलासंघको प्रथम प्रयत्न हुनेछ । हाम्रो विचारमा नेपाली नारीको सौभाग्यको स्वर्णिम साँचो यही हो । नेपाल महिलासंघ नेपाली नारीलाई आर्थिक दृष्टिले स्वावलम्बी र स्वतन्त्र बनाउन चाहन्छ ।
नेपाल महिलासंघले इतिहासका कति दुर्गम पथहरू पार गर्दै आयो त्यसको संक्षिप्त विवरण दिनु अयुक्तिसंगत नहोला ।
जुनवेला हाम्रो राष्ट्रको कुनै पनि वर्गलाई कुनै किसिमको स्वतन्त्रता मिलेको थिएन तापनि त्यसै बेलादेखि मानवजातिको मौलिक अधिकार प्राप्तिको लागि र विशेषतः समाजमा हीनावस्थामा राखिएको नारीजातिको सर्वांगीण अभ्युन्नतिको उद्देश्य ली नेपाल महिलासंघको स्थापना २००४ साल आषाढमा भएको हो ।
नेपाल महिलासंघको वर्तमान उद्देश्य राजनीतिक दलबन्दीबाट छुट्टै बसेर नेपाली नारीको सामाजिक र आर्थिक स्तरलाई माथि उठाउन मात्र भए तापनि अन्तरकालीन सरकार भन्नुभन्दा पहिलेको नेपालमा स्वदेशलाई सामन्तशाहीबाट मुक्त गर्ने पवित्र काय्र्यमा सबै नारीहरूले सहयोग गर्नुपर्ने हुनाले त्यसवेला महिलासंघले आफ्नो राजनीतिक उद्देश्य पनि राखेको हो । तर, यसको अर्थ यो होइन कि हामी सामाजिक र आर्थिक उद्देश्य राख्नेबित्तिकै देशको राजनीतिपट्टि एकदमै आँखा चिम्लनेछौँ ।
एकतन्त्रीय शासनमा यसको जन्म भएको र यसलाई बिगार्ने जासूसहरूको लक्ष्य भएकाले संघसम्बन्धी सारा काम हामीले गुप्त रूपले नै गरी आएका थियौँ । त्यस अवस्थामा नेपाली राजनीतिक लडाइँमा हामीले धेरै मद्दत पनि ग¥यौँ । संंघका सदस्यहरूले खुलेआम जनक्रान्तिमा भाग लिए । केही सदस्याहरू पक्राउ परी जेलमा राखिएको पनि सबैलाई थाहै छ । श्रीपद्मशमशेरको प्रधानमन्त्रित्वमा काठमाण्डु म्युनिंसिपैलिटीको चुनाउ हुँदा नारीहरूलाई मत दिने अधिकार थिएन । यसको विरोध गर्दा संघको तर्फबाट एउटा प्रतिनिधि मण्डलले श्रीपद्मशमशेरसित भेटी चुनावमा मत दिने अधिकारको पनि आश्वासन पायो ।
श्री ५ महाराजाधिराजा दिल्ली सवारी भएपछि नेपालको एकतन्त्रीय शासन बलियो पार्न आएका सर एस्लर डेनिङ र मिस्टर फ्र्याङ्क राबर्टसको विरोधमा गौचर हवाई अड्डामा यस संघले पनि प्रदर्शन गरेको थियो र महाराजाधिराजलाई काठमाडौं फर्काउने माग गरेको थियो । गौचर हवाई अड्डाको उल्लेख्य प्रदर्शन इतिहासको एउटा स्वर्णिक पृष्ठ हो ।
यस अघि हामीले मोहन सुधार घोषणा र तत्कालीन खेलौना संसद्को पनि विरोध गरेका थियौँ । यस सुधारघोषणा र संसदको स्थापना श्री ५ द्वारा नभएकाले विरोध गर्ने मुख्य कारण थियो ।
तर जनविकासको मार्गमा लागेको एकतन्त्रवादको बाधा पन्छिएपछि हामीले आफ्नो नयाँ बाटो रोज्नुपरेको छ । हाम्रो नयाँ बाटो विशुद्ध रचनात्मक कार्यक्रम हो ।
हाम्रो रचनात्मक कार्यक्रमको योजनामा नारीलाई आफ्नो परिवार र आफ्नो राष्ट्रमा स्वतन्त्र र स्वावलम्बी रूपले माग लिने व्यक्ति बनाउनुछ । हामी आफ्नो संघद्वारा नारीलाई पारिवारिक र राष्ट्रिय जीवनमा उपयोगी हुन सक्ने व्यावहारिक शिक्षा दिन चाहन्छौँ । शिक्षाको साथै उसको दैनिक जीवनको खर्च चल्ने लायक आमदानीको व्यवस्था पनि हामीले मिलाउन परेको छ । हामी चाहन्छौँ कि हाम्रो संस्थाद्वारा परिचालित विद्यालयमा शिक्षा प्राप्त गर्न आउने सदस्यहरू आफ्नो शिक्षणकालदेखि नै क्रमिक रूपले आफ्नो आर्थिक आवश्यकताको पूर्ति पनि गर्दै जान समर्थ होऊन्, अतः हाम्रो शिक्षाको कार्यक्रम हाल यस प्रकारको निर्धारित गरिएको छ :–
१) बौद्धिक विकासको निमित्त शैक्षिणिक व्यवस्था यस योजनानुसार हामी आफ्ना सदस्यहरूलाई भाषा, साहित्य, इतिहास, भूगोल, अर्थशास्त्र, समाज, विज्ञान आदि विषयको शिक्षा दिन चाहन्छौँ । हाम्रो यो योजना भारतमा पनि मान्य भएको कुनै महिलाविद्या पीठको बृहद् योजनाको एक अंग हुनेछ ।
२) संसारका अरु देशहरूका राजकीय विभागहरूमा जुन काममा विशेषतः नारीहरूलाई जस्तो स्थान दिइन्छ त्यसको निमित्त तालिम दिनू । यस्ता काम हुन्– स्टेनोग्राफी, रेकर्डर फाइल किपिङ्, अफिस सेक्रेटरी शिप, बुकिङक्लर्क, एकाउन्टेन्सी, टेलिफोन र वायरलेस अपरिशन इत्यादि ।
३) जीवनको आवश्यकतामा सामूहिक रूपले काम गरी स्वावलम्बी हुने कार्यक्रम– जस्तै फलफूलका बघैँचा अथवा नर्सरी कपडाको सिलाई, कार्चोवी काम, सुनचाँदीमा नकासी र मीनाकारी गर्ने, रँगाई, प्रेसमा कम्पोजिङ र जिल्दसाजी, टेराकोटा र अन्य माटोका जडाउ काम, बाँस बेत र अन्य वनस्पतिद्वारा जीवनोपयोगी वस्तुहरूको निर्माण इत्यादि ।
४) धात्रीकार्य यसमा हामी दुई विभाग गर्ने विचार गर्दैछौँ, यसको पहिलो तालिम हाललाई एक वर्षको हुने छ । यसमा होमियोप्याथिक र घरेलु जडीबूटीको सामान्य ज्ञान र दुर्घटनाहरूको प्राथमिक उपचार, अर्थात् स्फस्र्ट एड र यसको साथै शिशुपालन, धात्रीविद्या र पाकशास्त्रको पनि तालिम दिइनेछ । यस विभागमा दोस्रो वर्षको कोर्स विश्वको रेडक्रस सोसाइटीको आधारमा तैयार गरिनेछ । यसबाट उत्तीर्ण भएका छात्राहरू हाम्रा देशका अस्पताली र सैनिक उपयोगमा पनि आउनेछन् । वर्तमानलाई हाम्रो यही योजना छ । योजनाको प्रारम्भदेखि नै सम्पत्तिशाली महानुभावहरूको जस्तो सहयोग हामीलाई प्राप्त भएको छ, त्यसलाई दृष्टिमा राखी विचार गर्दा हामी यो योजना निकै सफलतापूर्वक चलाउन सक्नेछौँ भन्ने आशा गर्न सक्तछौँ । वर्तमान सरकारमा भएका मन्त्रीहरूसित पनि हामी सहयोगको प्रार्थना गर्दछौँ, स्मरणीय कुरा छ कि हाम्रो योजना सफलतापूर्वक चलेको खण्डमा राष्ट्रको ठूलो कल्याण हुन सक्नेछ । अतः उहाहरूको दिलचस्पीमा हामी दाबा गर्न सक्तछौँ । यदि प्रत्येक सम्बन्धित विभागले हाम्रो योजनाका विभिन्न भागको हार्दिक सहायता गरेन भने हाम्रो मार्गमा ठूलो बाधा आउनेछ ।
किन्तु, योजनाको चर्चा गर्दा पनि श्री ५ महाराजाधिराज र श्री ५ बहामहारानीहरूले जस्तो सहानुभूति देखाउनुभो र तत्काल नै जस्तो सहायता दिनुभो त्यसले हामीलाई सरकारी सहायताको निमिक्त अझै आशान्वित पारेको छ । सौभाग्यको कुरो हो कि श्री ५ जेठा बडामहारानीले हाम्रो यस संस्थाको अभिभावकत्व पनि स्वीकार गरी हामीलाई गौरवान्तित गर्नुभएको छ ।
समस्त नेपालका नागरिकहरूसित हााम्रो सानुरोध आग्रह छ कि हाम्रो यस योजनामा उहाँहरू हार्दिकरूपले अग्रसर भई हाम्रो यस योजनालाई कार्यान्वित गर्न योगदान दिनुहोस् । छोरीलाई पराई घर जाने भनी हेला गर्ने समय गयो, न यो कुविचार राष्ट्रिय हितमै असल छ । आजकी कन्या भोलिकी गृहिणी र अर्धांगिनी हुने हो । नारीजातिको हीनतालाई हामी समाजको पक्षाघात भन्न सक्तछौँ । गृह स्वामिनीलाई उन्नत बनाउनु नै वास्तविक रूपले सरस्वती, लक्ष्मी र भवानीको आराधना गर्नु हो ।
‘यत्र नार्यस्तुपूज्यन्ते
रमन्ते तत्र देवता ।’
०००
नेपाल महिला स्कुल
आजसम्म नगर र जिन्सीले सहायता गर्ने महानुभावहरूको नामावली
१) श्री ५ महाराजाधिराज मो. रु. ५०००÷–
२) श्री प्रधानमन्त्री र उहाँका परिवार मो.रु. २०००÷–
३) श्री माननीय वनमन्त्री सिंहशमशेरले जुद्धसडकको आफ्नो रातो घर र रु ६०००÷–
४) श्री सूरशमशेर ५०००÷–
आदि...
जम्मा मोरु २१,४३५।८५ नोट रु. ३२०१
मंगलादेवी
अध्यक्षा
नेपाल महिलासंघ
०००
(मंगलादेवीले २७ साउन २००८ नेपाल महिला संघको उद्घाटन अवसरमा दिएको भाषण ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण