बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कसरी भत्कियो तीन दलीय गठबन्धन ?

नेताहरु भन्छन्– गठबन्धन अझै कायम
आइतबार, ०५ चैत २०७९, १५ : ३९
आइतबार, ०५ चैत २०७९

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टीसहितको गठबन्धन छिन्नभिन्न भएको छ । फागुन २७ गते बसेको १० दलीय गठबन्धनमा उपराष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउन नसकेपछि यी तीन दलले कार्यगत एकताका लागि गठबन्धन बनाएका थिए । तर गठबन्धन दलहरुकै बिचमा कार्यगत एकता हुन सकेन ।

उपराष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन सो निर्वाचनमै एक रहन सकेन । तीन दलीय गठबन्धनले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई उम्मेदवार बनाइएको थियो । ममता झाको प्रस्तावक र समर्थक समेत लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेता बसेका थिए । तर चुनावको दिन लोसपा र नागरिक उन्मुक्ति पार्टीले जनमतको साथ छाडेर जसपाका उम्मेदवार रामसहाय यादवलाई मतदान गरेका थिए ।

अर्थात् एक हप्ता पनि त्यो गठबन्धन टिकेन । गठबन्धन बनेकै दिन फागुन २७ गते उपराष्ट्रपतिमा जसपाबाट रामसहाय यादव र प्रमिला यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झाको उम्मेदवारी परेको थियो । जनमतका उम्मेदवार ममता झालाई जिताउन के कस्तो पहल गर्नेलगायतको विषयमा तीन दलीय गठबन्धनमा एक दिन पनि छलफल भएन ।

लोसपा र उन्मुक्तिले जनमतका उम्मेदवारलाई नसघाएपछि तीन दलीय गठबन्धनको औचित्य समाप्त भएको बताइन्छ । जबकि साझा मुद्दामा ती दलको बिच लामो सहकार्य गर्ने गरी गठबन्धन बनेको थियो ।

त्यसअघि जनमत र उन्मुक्ति पार्टीबिच पनि गठबन्धन बनेको थियो । तर, गठबन्धन बनेपछि यी दुई दलको बिचमा एक पटक पनि छलफल हुन पाएन ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साह भन्छन्, ‘गठबन्धन भङ्ग भएको छैन, कम से कम जनमतको तर्फबाट भङ्ग गरिएको छैन, उनीहरु (लोसपा–उन्मुक्ति) ले उपराष्ट्रपतिमा अर्कै उम्मेदवारलाई मत दिएपछि पनि हामी त्यो गठबन्धन कायम रहोस् भन्ने चाहन्छौं र अगामी दिनमा साझा मुद्दामा काम गरौं ।’

तीन दलको बिचमा हालसम्म औपचारिक छलफल नभए पनि नेता–नेताको बिचमा अनौपचारिक कुरा भइरहेको उनले दाबी गरे ।

उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले जनमत पार्टीले राम्रो उम्मेदवार नउठाएका कारण आफ्नो दलबाट उपराष्ट्रपतिमा उसका उम्मेदवारलाई मतदान नगरेको बताए । ‘तीन दलबिचको गठबन्धन हालसम्म कायम छ, भोलि गएर के हुन्छ, थाहा छैन,’ उनले भने, ‘हाम्रो तर्फबाट गठबन्धन कायमै छ तर साथीहरु (लोसपा–जनमत)ले के गर्नुहुन्छ, थाहा छैन ।’

आफ्नो पार्टी महाधिवेशनको तयारीमा लागेका कारण गठबन्धनको बैठकहरुमा ध्यान नपुगेको बताउँदै उनले महाधिवेशनपछि नयाँ ढंगबाट अगाडि बढ्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप