मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

हार के हो ? नेदरल्यान्ड्सलाई सोध

मङ्गलबार, १६ असार २०८३, १४ : ३९
मङ्गलबार, १६ असार २०८३

सारांश

  • नेदरल्यान्ड्स विश्व फुटबलको शक्तिशाली टोली भए तापनि अहिलेसम्म फिफा विश्वकप जित्न सकेको छैन ।
  • नेदरल्यान्ड्स तीन पटक विश्वकप फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको छ र प्रायः पेनाल्टी सुटआउटमा पराजित हुने गरेको छ ।
  • नेदरल्यान्ड्सले विश्वकपमा निर्धारित ९० मिनेटभित्र दुई दशकभन्दा बढी समयदेखि कुनै खेल हारेको छैन, तर अतिरिक्त समय वा पेनाल्टीमा पराजित हुने गरेको छ ।

नेदरल्यान्ड्सलाई विश्व फुटबलका सबैभन्दा शक्तिशाली टोलीहरूमध्ये एक मान्छि । यसले जोहान क्रुइफ, जोहान नेस्केन्स, जोनी रेप, रोब रेन्सेनब्रिंक, मार्को भ्यान बास्टेन, रुड गुलिट, रुड भ्यान निस्टेलरोय, आर्यन रोबेन, वेस्ली स्नाइडर, भर्जिल भ्यान डाइकजस्ता महान् हस्तीहरू विश्व फुटबललाई दिएको छ । 

तर दुःखको कुरा ‘द ओरेन्ज’ले अहिलेसम्म फिफा विश्वकप जित्न सकेको छैन भने प्रायः उसको बहिर्गमन पनि अनपेक्षितसँग पेनाल्टीमार्फत छिनोफानो हुने गरेको छ । यसपटक पनि उसको यही नियति दोहोरियो ।

निर्धारित ९० मिनेटसम्ममा १–०ले अघि बढेको ‘डच’ टोलीविरुद्ध अफ्रिकन जायन्ट किलर मोरक्कोले ९१औं मिनेटमा बराबरी गोल मात्र फर्काएन, बाँकी आधा घण्टा अतिरिक्त समय नेदरल्याण्डलाई निष्क्रिय पार्‍यो र अन्ततः पेनाल्टीमार्फत ‘द बार्बरी लायन्स’ले युरोपियन महारथीलाई घर फर्काइदियो । 

नकआउट चरणमा डच टोलीको इतिहास अविश्वसनीय रूपमा उपाधिनजिक पुगेर चुक्ने, पेनाल्टी सुटआउटमा हृदयविदारक हार बेहोर्नेजस्ता प्रवृति दोहोरिने गरेका छन् भने करिब दुई दशकसम्म विश्वकपमा निर्धारित ९० मिनेटभित्र कुनै खेल नहार्ने प्रभावशाली छवि पनि यसैको देखिन्छ । 

फाइनलमा पटक–पटकको पीडा

नेदरल्यान्ड्स तीन पटक (१९७४, १९७८ र २०१०) विश्वकपको फाइनलमा पुगे पनि तीनै पटक उपाधिबाट वञ्चित भएको टोली हो । १९७४ (पश्चिम जर्मनी)ः ‘टोटल फुटबल’ युगको यस टोली फाइनलमा पुग्यो र सुरुमै अग्रता पनि बनायो । तर अन्ततः पश्चिम जर्मनीसँग २–१ ले पराजित भयो । 

१९७८ (अर्जेन्टिना) : लगातार दोस्रो पटक फाइनल पुगेको नेदरल्यान्ड्स आयोजक अर्जेन्टिनासँग अतिरिक्त समयमा ३–१ ले पराजित भयो । 

२०१० (दक्षिण अफ्रिका)ः जोहानेसबर्गमा भएको फाइनलमा स्पेनका आन्द्रेस इनिएस्टाले अतिरिक्त समयमा गरेको निर्णायक गोलका कारण नेदरल्यान्ड्स १–० ले पराजित भयो ।

पेनाल्टी सुटआउटको पीडा

नेदरल्यान्ड्सका पछिल्ला दुई विश्वकप यात्रा निर्धारित समयमा कुनै खेल नहारी समाप्त भएका थिए । तर दुवैपटक पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिनुपरेको थियो । 

२०१४ (ब्राजिल) : सेमिफाइनलसम्म पुगेको नेदरल्यान्ड्स अर्जेन्टिनासँग निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो ।

२०२२ (कतार) : क्वार्टरफाइनलमा २–० ले पछि परेको अवस्थामा अन्तिम समयमा दुई गोल फर्काएर खेल २–२ को बराबरीमा ल्याएको नेदरल्यान्ड्स अन्ततः पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित भयो ।
२०२६ (उत्तर अमेरिका)ः निर्धारित ९० मिनेटभित्र एक गोलको अग्रता लिएको टिमलाई ९१औं मिनेटमा गोल फर्काउँदै कोरक्कोको बराबरी । अन्ततः पेनालटी सुटआउटमा २–३ ले पराजित । 

अन्य उल्लेखनीय नकआउट बहिर्गमन

२००६ (अन्तिम १६) : ‘ब्याटल अफ न्युरेम्बर्ग’ नामले चर्चित अत्यन्त विवादास्पद खेलमा पोर्चुगलसँग १–० ले पराजित भयो । उक्त खेलमा देखाइएका कार्डहरूको संख्या विश्वकपकै कीर्तिमान बनेको थियो ।
१९९८ (सेमिफाइनल र तेस्रो स्थान) : सेमिफाइनलमा ब्राजिलसँग पेनाल्टी सुटआउटमा पराजित भयो । त्यसपछि तेस्रो स्थानको खेलमा क्रोएसियासँग पनि हार बेहोर्नुपर्‍यो ।
१९९४ (क्वार्टरफाइनल) : अन्ततः विश्वविजेता बनेको ब्राजिलसँग रोमाञ्चक खेलमा ३–२ ले पराजित भयो ।
१९९० (अन्तिम १६) : कट्टर प्रतिद्वन्द्वी तथा अन्ततः विश्वविजेता बनेको पश्चिम जर्मनीसँग २–१ ले पराजित भयो । 

nedarlands

उल्लेखनीय तथ्य

नेदरल्यान्ड्सबारे सबैभन्दा रोचक तथ्य भनेको उसले विश्वकपमा निर्धारित ९० मिनेटभित्र कुनै पनि खेल नहारेको दुई दशकभन्दा बढी समय भइसकेको छ । निर्धारित समयमा उसको पछिल्लो हार सन् २००६ मा पोर्चुगलविरुद्धको खेल थियो । त्यसयता उसले विश्वकपमा बेहोरेका सबै बहिर्गमन अतिरिक्त समय वा पेनाल्टी सुटआउटमार्फत भएका छन् । 

‘हरुवा’ नेदरल्याण्ड्का सदाबहार सुपरस्टार 

नेदरल्याण्ड्सका महान् फुटबलरहरूको सूची लामो छ त्यसमा पनि जोहान क्रुइफ सबैभन्दा अगाडि आउँछन् । उनलाई ‘टोटल फुटबल’ का प्रणेता र खेल इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ । त्यसयता नेदरल्याण्ड्सले लगातार विश्वलाई उत्कृष्ट प्राविधिक र रणनीतिक क्षमता भएका खेलाडीहरू दिएको छ । 

टोटल फुटबलका प्रणेताहरू (१९७० को दशक)ः यस युगमा तीन पटकको बालोन डी’ओर विजेता जोहान क्रुफलाई आधुनिक फुटबलको जन्मदाता मानिन्छ भने १९७४ को विश्वकप फाइनलमा गोल गर्ने जोहान नेस्केन्स एक अथक् मिडफिल्डर थिए ।

विश्वकप इतिहासमा डच टोलीका लागि अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने जोनी रेप तथा रोब रेन्सेनब्रिंकजस्ता खतरनाक विङ्गरहरू १९७८ को विश्वकप जितको निकै नजिक पुगेका थिए ।

nedarlands2

द गोल्डेन ट्रायो (१९८० को दशकको अन्त्य – १९९० को दशक)

तीन पटकका बालोन डी’ओर विजेता मार्को भ्यान बास्टेन, १९८८ को युरो कप विजेता टिमका एक बहुमुखी र प्रभावशाली कप्तान रुड गुलिट तथा विश्वस्तरीय डिफेन्सिभ मिडफिल्डर तथा डिफेन्डर फ्रैंक रिकाड्र्ड लाई द गोल्डेन ट्रायो भनेर चिनिन्द्ध । यो द गोल्डेन ट्रायो पनि विश्वकप उपाधिबाट वञ्चित भयो । 

प्राविधिक उस्तादहरू (१९९० को अन्त्य – २००० को दशक)

यस युगमा पनि नेदरल्याण्डसँग ‘गोल–उस्ताद’ डेनिस बर्गक्याम्प, तीन फरक क्लबहरूबाट यूईएफए च्याम्पियन्स लिग जित्ने एक मात्र खेलाडी क्लेरेन्स सिडोफ, ‘द पिटबुल’ उपनामले प्रसिद्ध एडगर डेभिड्स तथा कीर्तिमानी गोलकिपर एड्विन भ्यान डर सारजस्ता फुटबल उस्तादहरू थिए भने एकै दिन जन्मेका दुई दिग्गज स्ट्राइकरहरू प्याट्रिक क्लुइभर्ट र रुड भ्यान निस्टेलरोयले एक दशकसम्म युरोपेली फुटबलमा तहल्का मच्चाएका थिए । 

आधुनिक दिग्गजहरू (२०१० को दशक – वर्तमान)

२०१० को दशकदेखि यता पनि नेदरल्याण्डले आर्यन रोबेन, रोबिन भ्यान पर्सी, कोडी गाप्कोजस्ता गोलकर्ता तथा २०१० मा टोलीलाई विश्वकपको फाइनलमा पुर्‍याउने तथा इन्टर मिलानसँग ‘ट्रेबल’ जिते वेस्ली स्नाइडरजस्ता उत्कृष्ट प्लेमेकर र भर्जिल भान डाइकजस्ता सबल र सशक्त आधुनिक समयका उत्कृष्ट सेन्ट्रल डिफेन्डरहरू दिएको छ । 

राम्रो खेल, टिम, खेलाडी उत्पादन, फिफा वरीयता, बलियो राष्ट्रिय लिग, उल्लेख्य फुटबल संस्कृति हुदाँहँुदै ठुला प्रतियोगितामा भोगेका अनपेक्षित पराजयका कारण यस्तो लाग्छ– हार के भन्ने नेदरल्याण्डलाई सोध्नपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप