बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
विराटनगर भन्सार कार्यालय

करोडौंको साल धूप, गोकुल धूप र लाहा आयात

मङ्गलबार, ०७ चैत २०७९, १० : २७
मङ्गलबार, ०७ चैत २०७९

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट चालु आर्थिक वर्षको फागुनमा सबैभन्दा बढी आयात हुने २० वस्तुमध्येको अन्तिममा साल धूप, गोकुल धूप र लाहा चपडा रहेको छ । भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा मात्रै उक्त वस्तु १ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको तीन सय १८ मेट्रिक टन नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षमा उक्त वस्तु ९४ लाख रुपैयाँ बराबरको ३० मेट्रिक टन भित्रिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १ करोड १३ लाख ३४ हजार बराबरको १५ मेट्रिक टन साल धूप, गोकुल धूप, लाहा चपडा आयात भएको थियो ।

फागुन महिनामा मात्रै उक्त वस्तु ४२ लाख ८ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार किलो नेपाल भित्रिएको छ । जसबाट १० लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए । गोकुल धूप पूजा पाठमा धूप बाल्न प्रयोग गरिन्छ भने सालधूप जडीबुटीको रुपमा प्रयोग गरिन्छ । लाहा भने विभिन्न धातु तथा काठजन्य वस्तुलाई टाँस्न प्रयोग गरिन्छ ।

फागुन महिनामा विराटनगर भन्सार कार्यालयबाट सबैभन्दा बढी स्टिल वायर रड इन क्वायल  (८ एमएम सम्म)को ३४ करोड ६३ लाख ४५ हजार बराबरको ३८ लाख ९८ हजार ४१० किलो नेपाल आयात भएको छ । उक्त वस्तुबाट ८ करोड ३४ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै एलपी ग्याँस ३ करोड ५७ लाख ३६ हजार, कपर वायर ३ करोड ६ लाख २३ हजार, पोलिथिन दाना २ करोड ५५ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको छ । डिटरजेन्ट पाउडर १ करोड २८ हजार ७४ हजार, जिंक इन्गट ३ करोड ३९ लाख ८४ हजार, तयारी कपडा ८३ लाख ३८ हजार रुपैयाँको आयात भएको छ ।

भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो महिनामा सो कार्यालयलाई ५ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको ५७.०७ प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको हो ।

आठ महिनाको लक्ष्यमा ५७.३८ प्रतिशतमात्रै राजस्व असुली

चालु आर्थिक वर्षमा भने वार्षिक राजस्व असुलीको लक्ष्य ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको छ । तर, फागुन महिनासम्मको राजस्व संकलनमा विराटनगर भन्सार कार्यालयले जम्मा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै अर्थात् २२ अर्ब ३४ करोड ८ लाखमात्रै असुल गरेको छ । यस आर्थिक वर्षको फागुन महिनासम्मको लक्ष्यमा असुली प्रतिशत ५७ दशमवल ३८ रहेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी दाहालले जानकारी दिए ।  

उनका अनुसार कुल लक्ष्य भेट्टाउन विराटनगर भन्सार कार्यालयले अब दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व उठाउनु पर्दछ भने बाँकी १ सय २४ दिनमा ३७ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ राजस्व असुली गर्नुपर्दछ । जुन असम्भव जस्तै छ ।

भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व असुली लक्ष्य अनुसार भएको छैन । अहिलेकै जस्तो राजस्व असुलीको अवस्था रहने हो लक्ष्यमा पुग्नु त कता हो कता विगतका दुई आर्थिक वर्षको भन्दा झण्डै साढे ५ अर्ब कम राजस्व संकलन हुने अवस्था देखिन्छ । लक्ष्यमा ५७ दशमवल ३८ प्रतिशत राजस्व संकलन हुनु भनेको झण्डै ३४ अर्ब ४४ करोड हो । अघिल्ला दुई आर्थिक वर्षमा राजस्व संकलन ४० अर्बभन्दा माथि भएको छ ।

विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । विगत ११ वर्षमा विराटनगर भन्सार कार्यालयले ६ आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष ०६८/०६९ देखि आर्थिक वर्ष ०७०/०७१ सम्म निरन्तर लक्ष्य अनुसारको प्रगति गरेको भन्सार कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा भने लक्ष्यको ९६ दशमलव ३३ प्रतिशत राजस्व उठाउन सकेको थियो ।

यस्तै त्यसपछिको तीन आर्थिक वर्षमा पुनः लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल देखिएको विराटनगर भन्सार कार्यालय आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म भने लक्ष्य भेट्टाउन सकेको छैन ।

भन्सार कार्यालयले लक्ष्य अनुसार प्रगति गर्न नसके पनि राजस्व संकलनमा भने विगत ११ वर्षमा उल्लेख्य सुधार गरेको छ । ११ वर्ष अगाडि ११ अर्ब ७ करोड ५० लाख ९१ हजार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा ३ दशमलव ६५ गुणाले राजस्वमा वृद्धि भई ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।

१७ अर्ब ९५ करोड राजस्व संकलन भएको आर्थिक वर्ष ०७१/०७२ को तुलनामा आर्थिक वर्ष ०७२/०७३ मा उल्लेख्य वृद्धि भई २४ अर्ब ७९ करोड ६९ लाख ६५ हजार पुगेको थियो । कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६/०७७ मा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशतमात्रै राजस्व संकलन भएको बाहेक अन्य वर्षमा राजस्व संकलन भने अघिल्ला वर्षका तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्ष भने अघिल्लो वर्षको तुलनामा पनि राजस्व संकलन घट्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप